एकीकृत समाजवादी भक्तपुरका अध्यक्षको घर तोडफोड र परिवारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग



भक्तपुर । नेकपा (एकीकृत समाजवादी) भक्तपुर जिल्ला कमिटी अध्यक्ष श्याम बस्नेतको घरमा तोडफोड गर्ने र परिवारमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन पार्टीले माग गरेको छ ।

केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी संलग्नलाई तत्काल पक्राउ गर्न गृह प्रशासनसमक्ष जोडदार माग गर्नुभएको छ ।

भदौ २५ गते विहान ३ बजे हतियारधारी समूहले बस्नेतको घरको मूल ढोका र गेटसमेत तोडफोड गरेका थिए । घरमा बस्नेतलाई नभेटेपछि उनकी श्रीमती र छोरामाथि आक्रमण गरिनु खेदजनक रहेको विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष बस्नेत उक्त समयमा कामको सिलसिलामा पोखरामा थिए । बस्नेतकी श्रीमती उषा कार्कीका अनुसार घरमा भाडामा बस्ने पहिलो र दोस्रो तलाका सबै ढोका बन्द गरेर उक्त समूह तेस्रो तलामा पुगेको थियो ।

त्यसपछि ढोका फोडेरभित्र प्रवेश गरेको समूहले जेठा छोरालाई पेस्तोल देखाएर अपहरण प्रयास गरेको उषाले बताउनुभयो ।

घटनापछि पार्टीको जिल्ला कमिटीले सोही दिन विज्ञप्ति जारी गरी पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल अनुसन्धान गरी अपराधीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्