तातोपानी र रसुवाको रसुवागढी नाका तत्काल खोल्न तयार

0
Shares

काठमाडौं । 

नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले चीन नेपालसँगको दुई सीमा नाका सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका तत्काल खोल्न तयार रहेको बताउनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग बुधबार राष्ट्रपति भवनमा भएको शिष्टाचार भेटमा लीले यस्तो जानकारी दिनुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले नेपाल समाचारपत्रलाई दिनुभएको जानकारीअनुसार शिष्टाचार भेटमा राष्ट्रपति भण्डारीले नेपाल–चीन नाका बन्द हुँदा नेपाली व्यापारीहरू समस्यामा परेको भन्दै सीमा नाका तत्काल खुलाउन आग्रह गर्नुभएको थियो । प्रतिउत्तरमा लीले आफूले व्यापारिक क्षेत्र हेर्ने चिनियाँ अधिकारीहरूसँग कुरा गरिसकेको जानकारी दिँदै तातोपानी र रसुवागढी नाका तत्काल खोल्न चीन तयार रहेको बताउनुभएको थियो ।

यसअघि राष्ट्रियसभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरुले लीसँगको भेटमा तातोपानी, रसुवागढीसहितका नेपाल–चीन नाका तत्काल खोल्न आग्रह गरेका थिए ।दशैंतिहार जस्ता ठूला चाडको मुखमा यी दुई नाका बन्द हुँदा आफूहरू निकै समस्यामा परेको भन्दै व्यापारीहरूले नाका सञ्चालनको पहल गरिदिन सरकारसँग पटकपटक आग्रह गरेका थिए ।

चीनले तिब्बत क्षेत्रमा कोरोना संक्रमण बढेको भन्दै साउन २१ गतेदेखि रसुवागढी र २५ गतेदेखि तातोपानी नाका बन्द गरेको थियो । सन् २०१९ को डिसेम्बरमा चीनमा कोरोना संक्रमण बढेलगत्तै चीनले नाकामा पनि कडाइ गरेको थियो । जसले गर्दा पछिल्लो तीन वर्षदेखि रसुवागढी र तातोपानीबाट हुने आयातनिर्यात नराम्ररी प्रभावित बनेको छ ।

Skip This