संसद्को आयु सकिनु अगावै बिदा लिँदै सांसदहरु

0
Shares

काठमाडौं । 

निर्वाचन आयोगको सूचनाअनुसार प्रतिनिधिसभाको आयु असोज १ गतेसम्म छ । संसद्को आयु सकिनु २ दिनअघि नै सांसदहरु धमाधम बिदा भएको घोषणा गरिरहेका छन् । बुधबारको संसद् बैठकबाट केही सांसदहरुले औपचारिक रुपमा बिदा मागेर घर फर्केका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरु रंगमति शाही, भरत शाह, रेनुका गुरुङ र मीना पाण्डेले बिदा लिनुभएको हो । नेपाली कांग्रेसकी सांसद रंगमति शाहीले शून्य समय आफ्नो कार्यकालका लागि अन्तिम दिन रहेको बताउनुभयो । हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसद शाहीले कर्णालीकै खस भाषामा संसद्मा रहँदा राम्रो बोलेको भए सम्झनुस् यदि नराम्रो बोलेको भए बिर्सिदिनुस् भन्दै यो कार्यकालको संसद् अन्तिम दिन भएको बताउनुभयो ।

उहाँले आफ्नै खस भाषामा भन्नुभयो– ‘निको भन्या सम्झी झाया, फुर्चो भन्या बिर्सी झाया (राम्रो बोलेकी भए सम्झिदिनु, नराम्रो बोलेकी थिएँ भने बिर्सिदिनु) ।’ सांसद शाहीले कर्णालीका प्रतिनिधि भएका नाताले कर्णालीका पीडा र समस्या भन्ने क्रममा कहिलेकाहीं प्रधानमन्त्री, मन्त्री, सांसदहरु र पार्टीका मुख्य नेताहरुलाई नमीठो लाग्ने गरी गरी बोलेको बताउनुभयो । तर त्यसलाई व्यक्तिगत रुपमा नलिइदिन आग्रह गर्नुभयो ।

त्यस्तै शून्य समयकै क्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भरत शाहले संसद्को समय अन्तिम अवस्थामा आइपुगेकाले अब हुने संघ र प्रदेशका निर्वाचनमा निर्वाचित भएर आउन सबैलाई शुभकामना दिँदै यो कार्यकालमा आफ्ना लागि संसद्को बैठक अन्तिम भएको बताउनुभयो । संसद्मा सभामुख, उपसभामुख र कर्मचारीलाई निरन्तर संसद् सञ्चालनमा सहकार्य र सहयोग गरेकोमा पनि धन्यवाद दिँदै उहाँले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रहसमेत गर्नुभयो । शाहले भन्नुभयो–‘सम्माननीय राष्ट्रपतिकोमा नागरिकता विधेयक गएको छ । नागरिकताविहीन नागरिकको अधिकार रक्षाका लागि भए पनि प्रमाणीकरण गरेर संसद्मा पठाउनुहोला । नागरिकताविहीन भएर बाँचेका धेरै नागरिकलाई यसले ठूलो राहत दिनेछ ।’

संघीय समाजवादी पार्टीकी सांसद रेनुका गुरुङले पनि बुधबार आफ्ना लागि कार्यकालको अन्तिम शून्य समय भएको बताउनुभयो । संसदीय भूमिकामा ल्याउन सहयोग गर्ने आफ्नो पार्टी संघीय समाजवादीलाई उहाँले साधुवाद दिँदै संसद्मा सहभागी सांसदबाट राजनीतिक जीवनमा धेरै प्रेरणादायी कुरा सिकेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘यो संसद्बाट मेरो राजनीतिक जीवनमा धेरै कुराहरु सिकेकी छु, आगामी राजनीतिलाई यो मेरा लागि प्रेरणाको स्रोत बन्नेछ ।’ उहाँ आगामी आम निर्वाचनमा जाँदै गर्दा फेरि पनि संसद्मा भेट्ने अवसर पाउने अपेक्षासहित आफ्नो पार्टी र सम्पूर्ण नेता–सांसदलाई धन्यवाद दिँदै बिदा हुनुभयो ।

त्यस्तै, नेपाली कांग्रेसकी सांसद मीना पाण्डेले पनि बुधबारबाटै संसद्बाट बिदा भएको घोषण गर्नुभयो । उहाँले आफ्नो स्वास्थ्यका कारणले संसद्मा सक्रिय भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । ‘अनुपस्थितिका लागि सिंगो सदन, पार्टी र सम्पूर्ण जनतामाझ क्षमायाचना गर्छु’ –पाण्डेले भन्नुभयो । नागरिकता विधेयकलाई राजनीतिक मुद्दा नबनाउन पाण्डेले आग्रह गर्नुभयो । अङ्गीकृत नागरिकतामा अल्झिएर नागरिकता पाउनुपर्ने नागरिकलाई बञ्चित नगर्न माग गर्दै पाण्डेले भन्नुभयो– ‘नागरिकता नभएका नागरिकलाई मृत्युको मुखबाट जोगाउन नागरिकता विधेयक राष्ट्रपतिबाट चाँडै प्रमाणीकरण होस् ।’ विधेयक प्रमाणीकरण हुन्छ र नागरिकता पाउँछांै भनेर आशले बसेका नागरिकताविहीन नागरिकको अधिकारलाई राष्ट्र प्रमुखले नै कुल्चनु नहुने स्मरण गराउँदै उहाँ बिदा हुनुभयो ।

यसअघि सरकारले ल्याएको संसद्को म्याद थप्ने विधेयकका विषयमा संसद्मा छलफल शुरु हुँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले संसद्बाट बिदा लिइसक्नुभएको थियो । सत्तापक्षले संसद्को अवधि लम्ब्याउन चालेको कदमको विरोध गर्दै उहाँले आफ्नो नाममा जम्मा हुने तलबभत्तासमेत जम्मा नगर्न आग्रह गर्दै बिदा लिनुभएको थियो । संसद्को आयु थप्ने विधेयकका सन्दर्भमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतको विरोधपछि सरकार पछि हटेको छ । निर्वाचन आयोगले आगामी २ र ३ गते समानुपातिकका लागि बन्द सूची पेस गर्ने कार्यतालिका सार्वजनिक गरिसकेकाले सोहीअनुसार असोज १ मै प्रतिनिधिसभाको कार्यकाल सकिने निर्वाचन आयोगले संकेत गरिसकेको छ ।

Skip This