पनौती मल्पी पिस होमका सञ्चालकलाई जन्मकैद



?????????????????????????????????????????????????????????

काभ्रे । लागु औषध सुधार गृहलाई यातना केन्द्र बनाइ व्यक्तिलाई चरम यातना दिई हत्या गर्ने पनौती ८ मल्पीका पिस होम पुनःस्थापना केन्द्र सञ्चालन केन्द्रका सञ्चालकलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले जन्म कैदको फैसला सुनाएको छ । सहयोगी दुई जनाको असोज ४ गते सजाय निर्धारण हुनेछ ।

काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका वडा नम्वर १० घर भई ललितपुर महानगरपालिका वडा नम्वर ९ च्यासलमा डेरा गरी बस्ने मोहनलाल श्रेष्ठ र उनको श्रीमती उषा श्रेष्ठका १६ वर्षीय छोरा सोहन श्रेष्ठले लागूऔषध प्रयोग गरिरहेको भन्दै पनौती ८ मल्पीमा रहेको पिस होम पुनःस्थापना केन्द्रमा २०७७ भदौ ३० गते भर्ना गरेका थिए ।

सुधार गृहमा सुधार गर्न नभई चरम यातना दिँदै आएका श्रेष्ठको यातनाको क्रममा २०७८ माघ १६ गते यातनाकै क्रममा निधन भएको थियो । १७ महिनामा समेत बानी सुधार गर्न नसकेको पिस होमले सोहनलाई २०७८ माघ १६ गते दिनभर पाईप र लौरोले कुटपिट गरेका थिए ।

सञ्चालक समीर चौलागाईले हत्केला, खुट्टा, पैताला र टाउकोमा हिर्काएका थिए । पुरन भन्ने पूर्णचन्द्र स्वाँरले सिस्नो पानी शरीरभरी लगाएका थिए भने अर्का सहयोगी संजय घलेले ंंखुट्टा समातेका थिए । दिउँसोदेखि कुटपिट गरी यातना दिएका सोहनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा सोही दिन साँझ निधन भएको थियो । निधन भए पश्चात् सोहनकी आमा उषाले ज्यान सम्वन्धी कसुरमा जाहेरी दिएकी थिईन् ।

जिल्ला न्यायाधीश मोहनराज भट्टराईको इजलासले भदौ २७ गते गरेको फैसलामा अभियुक्त काठमाडौ महानगरपालिका १० बानेश्वर घर भई पनौती नगरपालिका ८ मल्पीमा पिस होम पुनःस्थापना केन्द्र संचालन गरी बस्ने ३३ वर्षीय समीर चौलागाईलाई जन्म कैदको फैसला सुनाएको श्रेस्तेदार उपसचिव गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

कैलाली जिल्ला धनगढी नगरपालिका वडा नम्वर ८ स्थायी घर भई काठमाडौं बानेश्वर बस्ने पुनःस्थापना केन्द्रका भोलिन्टियर २८ वर्षीय पुरन भन्ने पूर्णचन्द्र स्वाँर र उदयपुर त्रियुगा नगरपालिका वडा नम्वर १० गाईघाट घर भई पिस होम पुनस्थापना केन्द्रमा सहयोगी भई बसेका २८ वर्षीय संजय घलेको सजाए निर्धारण हुन बाँकी छ । उनीहरु घटनामा संलग्न भई दोषी प्रमाणीत भएका छन् ।

अदालतले उनीहरुको हकमा असोज ४ गते कति सजाय हुने हो ? निर्धारणको फैसला गर्नेछ । पछिल्लो समय लागूऔषध सुधार केन्द्रहरु यातना केन्द्रका रुपमा परिणत हुन थालेका छन् । बालबालिका र युवाहरु लागूऔषध प्रयोग गर्न थालेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । २०७८ फागुन ९ गते जिल्लास्थित सुरक्षा टोलीले पनि उक्त पिस होम पुनःस्थापना केन्द्रको अनुगमन गरेको थियो । पिस होममा विवेक विक्रम राणाको पनि लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्