एक महिनामा डेंगुका ९ हजार भन्दाबढी बिरामी सरकारी असपतालमा भर्ना



काठमाडौं ।

नेपालमा पहिलो पटक विक्रम संवत् २०६१ सालमा डेंगुको बिरामी देखिदा १ जनामा पुष्टि भएको थियो । हाल आएर एक महिना २७ दिनमा ७५ जिल्लामा डेंगु फैलिनुका साथै ९ हजार ८ सय ३५ जना सरकारी अस्पतालको रेकर्डमा दर्ता भैसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको छ ।

यति बेला बागमती प्रदेश डेंगुको हब बन्दै गएको छ । यो अझै एक महिना बढ्दो क्रममा रहने स्वास्थ्य विज्ञहरूले औँल्याउँदै आएका छन् । यता नेपाल सरकारले भने समय बितिसक्दा पनि पुरा शरीर ढाक्ने लुगा लगाउन, लामखुट्टेको धूप बाल्न, झुल राखेर सुत्नका लागि निर्देशन दिने बाहेक जनस्वास्थ्यलाई केन्द्रित कार्यक्रम तय गरेको छैन । जनघनत्व र सहरी बस्ती रहेको नेपालको केन्द्रीय राजधानी समेत रहेको बागमती प्रदेशमा मात्र ७ हजार ४ सय ४० जना डेंगुका बिरामी रहेका छन् ।

त्यसै गरी दोस्रो नम्बरमा लुम्बिनी प्रदेशमा १ हजार ३ सय ५६ जना, तेस्रो स्थानमा रहेको प्रदेश नं १ मा ३ सय २० जना , चौथो स्थानमा रहेको सुदूर पश्चिममा २ सय ७१ जना, गण्डकी प्रदेशमा २ सय २ जना छैठाे स्थानमा रहेको मधेश प्रदेशमा १ सय ८० जना र सातौ नम्बरमा रहेको कर्णाली प्रदेशमा समेत डेंगुका बिरामी ६६ जना प्रमाणित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगुका बिरामीहरू दिनप्रतिदिन बढ्दै गएको पछिल्लो तथ्याङ्कले पुष्टि गर्दछ । नेपालमा सन् २००४ मा १ जनामा पुष्टि भएको डेंगु सन् २००५ मा रेकर्ड नै भएको पाइन्न भने त्यसपछिका दिनमा क्रमशः बढ्दै गएको र सन् २०१९ मा जस्तै यो वर्ष पनि डेंगु महामारी फैलिएकाले आम नागरिकको स्वास्थ्य सुरक्षामा सरकारले खासै ध्यान दिन नसकेको गुनासोसँगै बिरामीको चाम अस्पतालले थाम्नै गाह्रो भएको वीर अस्पतालका एक उच्च अधिकारी बताउँछन् । विगतमा भन्दा यो वर्ष तापक्रम उत्तिकै बढेको अवस्थामा कोभिडको पनि चाप छ भने डेगुका बिरामी समेत थपिँदा आइसियु बेड लगायत जनशक्ति पर्याप्त नहुँदा काम गर्नै गाह्रो भएको बताए ।

डेंगु लागेर अस्पताल पुगेका प्राय बिरामीलाई सेतो रगतको अभाव, आइसियु नै चाहिने अवस्था छ । बिरामीको पिडा देख्न नसकेर हामी स्वास्थ्यकर्मीहरु मन भारी पार्दै सके जति सेवा सुविधा दिन कोसिस गरिरहेका छौँ तर आकश ढाकन सकिँदो रहेनछ यता छेके उता खाली उता छेके उता खाली अवस्था भएको छ ।

आवश्यकता अनुसारको जनशक्ति, उपकरण र आइसियु बेड व्यवस्थापनका लागि अस्पताल व्यवस्थापनले सरकारलाई पटक पटक घच्घच्याएपनि सरकारले समयमा दरबन्दी पुरा गर्न नसक्दा यो समस्याको समाधान हुनै नसक्ने वीरका उच्च अधिकारीको ठम्याई छ । यता स्वास्थ्य मन्त्रालयले भने डेंगु रोकथामका लागि धेरै प्रयत्न गरिएको छ भन्दै हरेक दिन रिपोर्ट सार्वजनिक गरेर नागरिकको आँखामा छारो हाल्ने काम गरिरहेकै छ ।

प्रतिक्रिया दिनुहोस्