तातोपानी, रसुवागढीसहितका नेपाल-चीन नाका तत्काल खोल्नुपर्‍यो



काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुसँग राष्ट्रियसभाका अध्यक्षका साथै राजनीतिक दलका शीर्ष नेताहरुले तातोपानी, रसुवागढीसहितका नेपाल–चीन नाका तत्काल खोल्न आग्रह गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान संसदीय प्रतिनिधिमण्डलस्तरिय द्विपक्षिय भेटवार्तामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालीहरूको ठूलो चाड दशैं, तिहारलगायतका चाडपर्वको मुखमा बन्द रहेको तातोपानी, रसुवागढीसहितका नाका तत्काल खोल्न पहल गरिदिन आग्रह गर्नुभएको थियो । संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार भेटमा अध्यक्ष तिमिल्सिनाले विगतमा भएको बेल्ट एण्ड रोड इनिसियटिभ सम्झौता कार्यान्वयन, हिमाल वारपार (केरुङ–काठमाडौं) रेल सेवाको विस्तृत अध्ययन, कोभिडका कारण प्रभावित भएका चिनियाँ कम्पनीले कार्यान्वयन गर्दै गरेका नेपालका परियोजना पुनः सञ्चालनका लागि पनि आग्रह गर्नुभएको थियो ।

त्यसैगरी सत्तारुढ दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि लीसँगको भेटमा सीमा क्षेत्रको नाका तत्काल खोल्न आग्रह गर्नुभएको थियो । भेटमा सहभागी माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाल समाचारपत्रलाई यस्तो जानकारी दिनुभएको हो । उहाँले अध्यक्ष प्रचण्डलाई उद्धृत गर्दै भन्नुभयो– ‘सीमा नाका खोल्ने निर्णय गर्नुभएको रहेछ, छिटो खोलिदिनस् भनेका छौं ।’ उहाँले भेटमा प्रचण्डले चीनले नेपालको विकास र समृद्धिका लागि सधै साथ दिएको जिकिर गर्दै नेपाल र चीनबीच बढ्दै गएको व्यापार घाटा कम गर्न पनि चीनलाई उदारतापूर्वक काम गर्न आग्रह गर्नुभएको पनि बताउनुभयोे । प्रचण्डले लीसँग नेपालको प्राथमिकता प्राप्त क्षेत्रका ठूला परियोजनामा लगानी भित्र्याउन आग्रह गर्दै बेल्ट एण्ड रोड इनिसियटिभलगायतका परियोजनामा परेका आयोजनाहरूको शीघ्र कार्यान्वयनका लागि वातावरण बनाउनुपर्नेमा पनि जोड दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

प्रचण्डलगायत माओवादी केन्द्रका शीर्ष नेताहरूसँगको भेटमा लीले भने नेपालमा अमेरिकी सक्रियता बढेको भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले भेटमा एमसीसी र एसपीपीबारे पनि चासो राख्नुभएको थियो ।

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पनि लीसँगको भेटमा सीमा नाका तत्काल खोल्न पहल गरिदिन आग्रह गर्नुभएको थियो । एमालेका परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराईका अनुसार ओलीले नेपाल र चीनबीचका सीमा नाका खोल्ने निर्णयप्रति खुशी व्यक्त गर्दै यसलाई छिटो कार्यान्वयनमा लैजान आग्रह गर्नुभएको थियो । संघीय संसद भवनमा भएको भेटमा उहाँले बेल्ट एण्ड रोड इनिसियटिभ, यातायात तथा पारवहन सम्झौतालगायतको कार्यान्वयनमा जोड दिनुभएको थियो ।

मंगलबार नै चिनियाँ राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष लीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ । भेटमा प्रधानमन्त्री देउवाले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा चीनले विगत लामो समयदेखि नेपालको आर्थिक र सामाजिक क्षेत्रमा गर्दै आएको सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँले सोमबार सभामुख अग्निप्रसाद सापकोटासँगको भएको ६ बुँदे समझदारीप्रति खुशी व्यक्त गर्दै यसले दुई देशबीचको संसदीय सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

भेटमा लीले आगामी असोज ३ मा मनाउन लागिएको नेपालको संविधान दिवसको शुभकामना दिंदै नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका सन्दर्भमा चीन गम्भीर र सचेत रहेको बताउनुभएको थियो । मंगलबार नै लीले परराष्ट्रमन्त्री डा. नाराययण खड्कासँग पनि शिष्टाचार भेट गर्नुभएको थियो ।

छ जना उच्च अधिकारी, सुरक्षाकर्मी, संचारकर्मी र अन्य गरी ६७ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार काठमाडौं आएका लीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम छ । भूकम्पपछि पुनर्निमार्ण गरिएका संरचनाहरूको अवलोकन गर्न बुधबार नै उहाँ भक्तपुरस्थित दरबार क्षेत्रमा जाने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्