सुदूरपश्चिम र पुलिसको जित



काठमाडाैं । 

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत काठमाडौंमा जारी ३४औं राष्ट्रिय पुरुष टी–० क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम र नेपाल पुलिस क्लबले जित हासिल गरेका छन् ।

आइतबार किर्तिपुरस्थित क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले प्रदेश एकलाई १३ रनले हराएको हो । सुदुर पश्चिमले ७ विकेटको क्षतिमा १ सय ४४ रन जोडेको थियो । जवाफमा प्रदेश एक ७ विकेटको नोक्सानीमा १ सय ३१ रनमै सीमित भएको थियो । टोलीका दिपेश कँडेलले ३४ रन, फिरदोस अन्सारीले ३३ रन र सोनु मण्डलले २६ रन जोडेपनि जित भने दिलाउन सकेनन् ।

सुदूरको तर्फबाट प्लेयर अफ द म्याच मिलन बोहराले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । यस्तै, हेमन्त धामी, लोकेन्द्र चन्द, शेर मल्ल, नरेन साउद र नारायण जोशीले एक एक विकेट हासिल गरेका थिए ।यसअघि, सुदूरपश्चिमको लागि वसन्त खत्रीले अर्धशतक प्रहार गरेका थिए । उनले ५३ रन जोडे । यस्तै मिलन बोहराले ४४ रन र लोकेन्द्र चन्दले २४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । प्रदेशको बलिङतर्फफिरदोशले ४ ओभरमा १७ रन दिएर ३ विकेट हात पारे । यस्तै, दीपेश कँडेलले ४ ओभरमा २७ रन दिएर २ विकेट र कमल खत्रीले ४ औभरमा २३ रन खर्चेर १ विकेट हात पारे ।

दोश्रो खेलमा पुलिसले कणार्ली प्रदेशमाथि ९ विकेटको जित हात पा-यो । कर्णाली प्रदेशले १९.३ ओभरमा ८५ रन मात्रै बनाउन सकेको थियो । कर्णालीका रविन्द्र शाहीले २७ रन र विपिन रावलले १७ रन जोड्नु बाहेके अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन् । पुलिसका दीपेन्द्र सिंह ऐरीले ३.३ ओभरमा १७ रन दिंदै ३ विकेट लिए । प्लेयर अफ द म्याच ललित राजवंशीले ४ ओभरमा २० रन दिंदै ३ विकेट लिए । यस्तै सागर ढकाल र मञ्जित श्रेष्ठले दुई दुई विकेट लिए ।

पुलिसले ८६ रनको सामान्य लक्ष्य १०.४ ओभरमा १ विकेट गुमाएर भेटायो । पुलिसका सुनिल धमलाले २४ बलमा ४ चौका र ३ छक्काको मद्दतले ४४ रन बनाए । कुशल भुर्तेलले ४० बलमा ५ चौका र १ छक्काको मद्दतले ३९ रन जोडे । पुलिसको एक मात्र विकेट प्रकाश जैशीले लिए । उनले ३ ओभरमा २० रन दिए ।

वर्षाका कारण मुलपानीस्थित क्रिकेट मैदानमा हुने भनिएका खेल स्थगित भयो । मुलपानीमा हुने भनेको बागमती प्रदेश र एनआरएनए स्पोर्टस् क्लब तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशले खेल हुन नसके पछि एक–एक अंक बाँड्न बाध्य भए ।

प्रतिक्रिया दिनुहोस्