अन्ततः अलमुताइरीको राजीनामा आयो



काठमाडौं । 

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका छन् । कतार फुटबलले नेपाली फुटबलको विकासका लागि यी कुवेती प्रशिक्षक अलमुताइरी मिलाइदिएको थियो । अलमुताइरी २०७७ साल चैतमा नेपाल आएका थिए ।

तर, बीचमा धेरै विवाद सिर्जना भइरहे र अन्ततः अलमुताइरीले एन्फालाई आफूबीचको सम्झौता रद्द भएको भनेर आइतबार एन्फा महासचिवलाई पत्र पठाए ।यस विषयमा एन्फाका प्रवक्ता सुरेस शाहले अलमुताइरीको उक्त पत्र राजीनामा नै भएको बताए । शाहले नेपाल समाचारपत्रलाई बताए—उहाँले एन्फा महासचिवको नाममा एक पत्र पठाउनुभयो । त्यसमा सम्झौता रद्द गरिएको भनेर लेखिएको छ । उहाँको पत्रको आशय राजीनामा नै भन्ने बुझिएको छ । यस विषयमा हामीले आगामी साधारण सभामा छलफल गर्नेछौ ।

कुवेतमा छुट्टीमा रहेका अलमुताइरीले उनको सामजिक सञ्जालमा पनि स्टाटस लेखेका थिए—५ सय २५ दिन नेपाल फुटबलको सेवापछि आज आएर मैले नेपाली राष्ट्रिय फुटबल टोलीको यात्रा अन्त्य गरेको घोषणा गर्दछु । यो यात्रामा साथ दिने सबैलाई धन्यवाद पनि छ ।अलमुताइरीले २०७७ चैतमा नेपाली टोली सम्हालेका थिए । जबकि, उनको नेपाली टोलीसँगको सम्झौता आगामी २०२४ डिसेम्त्ररसम्म रहेको छ ।

तर, अहिले उनको राजीनामाले नयाँ नेतृत्वमा रहेको एन्फा टोलीको लागि राहतको विषय पनि बनेको छ । उनले टोली सम्हाले यता केही विवाद पनि आएको थियो । जसमा वर्तमान एन्फा अध्यक्ष पंकज नेम्वाङसँगको विवाद पनि सामेल थियो । यही विवादले गर्दा अलमुताइरीले त्यतिबेला राजनीति नगर्न चेतावनी दिएका थिए । हाल नेम्वाङ एन्फा अध्यक्षमा जितेपछि अलमुताइरीले टोलीको नेतृत्व निरन्तर दिने हो कि होइन भन्ने प्रश्न समेत तेर्सिएको थियो ।

प्रायजसोले नेम्वाङ अध्यक्ष बनेपछि अलमुताइरीले नेपाली टोली छाड्ने नै भनिरहेको थियो । जुन अहिले सत्य पनि सावित भएको छ । जे हुनु थियो, त्यही नै भयो पनि । अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले एक मात्र उपलब्धि पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । जसमा, नेपाल भारतीय टोलीसँग पराजित भएको थियो । यसअघि नेपाल साफ च्याम्पियनसिपको फाइनलमा कहिल्यै खेल्न पाएको थिएन ।

नेपालको ५ खेलमा जित

अलमुताइरीको नेतृत्वमा नेपाली टोलीले १७ अन्तर्राष्ट्रिय खेल खेलेको थियो । यसमा केवल ५ खेलमा मात्रै नेपालको जित भएको थियो । टोलीले १० खेलमा हार बेहोरेको थियो भने दुई खेल बराबरीमा समाप्त भएको थियो । उनको नेतृत्वमा नेपालले १४ गोल विपक्षीविरुद्ध गर्दा आफूले ३६ गोल बेहोरेको थियो ।

अलमुताइरीको विवाद

विवाद नं. १—गत वर्ष असारमा दुई खेल पत्रकारसँग अलमुताइरीले विवाद गरेका थिए । उनले एन्फाको प्रागणमा चुरोट पिएको विषयमा पत्रकारले केही प्रश्न तेर्साउँदा उनले राम्ररी जवाफ दिएका थिएनन् । उनले यस विषयमा विवाद ल्याएका थिए ।
विवाद नंं २—गत वर्ष साउनमा तत्कालीन एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङलाई आरोप लगाएर उनले विवाद सिर्जना गरे । उनले नेम्वाङका कारण काम गर्न असहज भएको भन्दै सामाजिक सञ्जालमा आआफूले राजीनामा दिएको घोषणा गरेका थिए ।
विवाद नं. ३—माल्दिभ्समा भएको साफ च्याम्पियनसिपका दौैरान आफू नेपाल नफर्कने बताएर राजीनामा घोषणा गरेका थिए । पछि उनले सन् २०२४ सम्म प्रशिक्षकमा रहने बताएका थिए ।

विवाद नं. ४—गत वैसाखमा प्रशिक्षणमा रहेका खेलाडीसँग उनले ठूलो विवाद गरेर १० खेलाडीलाई क्याम्पबाट निकालेका थिए । होस्टलमा बस्ने कि होटलमा बस्ने भन्ने विषयमा उनले खेलाडीलाई क्याम्प छाड्न भनेका थिए । रोहित चन्द, अन्जन विष्ट, सुजल श्रेष्ठलगायत वरिष्ठ खेलाडीलाई निष्कासन गरेर उनले नयाँ टिम बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्