भागबण्डाको किचलोले फुकेन गाँठो

गठबन्धन फुटाउने रणनीतिमा एमाले



काठमाडौं । 

चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरूको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले सम्भावित उम्मेदवारहरूले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् ।

आइतबार बसेको बैठकले सिट बाँडफाँटको विषय नटुंगिएपछि सोमबार पुनः बैठक बस्ने गरी सकिएको एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले जानकारी दिनुभयो । छलफल गरेर निष्कर्षमा पुग्ने भनिए पनि आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनको रिपोर्टिङ मात्रै पेस गरिएको खनालले जानकारी दिनुभयो ।

बैठकमा तालमेलका विषयमा कुराकानी भए पनि सिट बाँडफाँट भने टुंगो नलागेको उहाँको भनाइ छ । ‘कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा रिपोर्टिङ भयो’, खनालले भन्नुभयो– ‘सिट बाँडफाँटमा कार्यदलले मिलाउन बाँकी रहेको विषयमा सोमबार बस्ने शीर्ष नेताको बैठकमा छलफल हुने र सिट बाँडफाँटको टुंगो लगाइनेछ ।’

तर, लामो समयदेखि सिट बाँडफाँटको मापदण्डमै शीर्ष दलका नेताहरू अल्झिएका कारण अहिले नै मिल्ने कुरा शंकाको घेरामा छ । छलफलको शुरूवातीमै नेपाली कांग्रेसले सय, नेकपा (माओवादी केन्द्र) ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले २ सिटको दाबी गरेका थिए । उक्त बटमलाइनबाट कोही पनि पछि हटेका छैनन् । गठबन्धन दलहरूबीच २०७४ मा जुन दलले जितेको त्यसैलाई छाड्ने र एमालेले जितेका क्षेत्रमा भागबण्डा गर्ने गरी कांग्रेसबाहेकका दलहरूको धारणा छ ।

तर, अघिल्लो निर्वाचनमा एमाले–माओवादी केन्द्रको चुनावी तालमेल भएको र माधव नेपाल समूहसमेत एमालेमै भएकाले धेरै ठाउँहरू जिते पनि यसपटक माओवादी–नेकपा एकीकृत समाजवादीको सांगठनिक अवस्था राम्रो नभएकाले जित निकाल्न मुस्किल पर्ने नेताहरूले बताएका छन् । यसरी भागबण्डा गर्दा गठबन्धनको परिणाम कमजोर हुने कुरालाई ख्याल गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले बताउनुभयो । गठबन्धनलाई परिणाममुखी बनाउने हो भने दलहरूले आफ्नो संगठनको अवस्था हेरेर सिट बाँडफाँटमा सहमति गर्नुपर्ने उहाँको भनाइ छ । २०७४ को समानुपातिक भोट र २०७९ मा आएको वडा अध्यक्षको भोटलाई आधार मानेर गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भइरहेको खतिवडाले जानकारी दिनुभयो । ‘सम्भवतः यही मापदण्डका आधारमा सिट बाँडफाँट हुन्छ, एक दुई दिनमै टुंग्याउने कसरत भइरहेको छ’ –उहाँले भन्नुभयो ।

‘सय सिटको बटमलाइन छाड्नुहुन्न’

गठबन्धन दलबीच सिट बाँडफाँटको किचलोमा रुमल्लिइरहेको अवस्थामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सिट बाँडफाँट गर्दा कांग्रेसले सय सिट लिनुपर्ने बटमलाइन दोहो¥याउनुभएको छ । गठबन्धनभित्रका अरू दलहरूले कांग्रेसलाई ७०-८० सिटमा मनाउने कुरा गरिरहेको भन्दै उहाँले यसमा कांग्रेसले सम्झौता गर्न नहुने धारणा राख्नुभएको हो ।

७०-८० सिट लिएर कांग्रेसको बहुमत नआउने भन्दै आगामी सरकार बनाउन कांग्रेसलाई बहुमत आवश्यक हुने हुँदा सय सिट लिएर बाँकी सिटमा गठबन्धनका साथीहरू मिलाउनुपर्ने बताउनुभयो । ‘७०-८० सिट लिएर नेपाली कांग्रेसको बहुमत त हुँदैन । त्यसैले मैले भनिरहेको छु, सय सिट नेपाली कांग्रेसले लिनुपर्छ । अनि मात्रै गठबन्धनसहित बहुमतको सरकार बनाउन सक्छौं’ –उहाँले भन्नुभयो ।

उहाँले नेपाली कांग्रेस गठबन्धनमा जाने र कांग्रेसको बहुमतको सरकार बनाउने भनेर केन्द्रीय समितिले गरेको निर्णयको स्मरण गराउनुभयो । कोइरालाले भन्नुभयो– ‘केन्द्रीय समितिले गरेको निर्णय त सबैले पालना गर्नुप¥यो नि, ‘हामी गठबन्धनमा जाने र कांग्रेसको बहुमतको सरकार बनाउने भन्ने निर्णय छ ।’

उम्मेदवार सिफारिसकै लागि कतिपय जिल्लामा कांग्रेस कार्यकर्ताबीच नै मारपिट भइरहेको स्मरण गराउँदै उहाँले टिकट नै क्षेत्रले बाँडिरहेको छ जस्तो गरी साथीहरू लागेको बताउनुभयो । गठबन्धन हुँदा त्यो क्षेत्र अर्को पार्टीले लिन्छ कि भन्ने थाहा हुँदाहुँदै पनि साथीहरू मरिहत्ते गरेर लागेको कोइरालाको भनाइ छ । कतिपय क्षेत्रमा आफ्नैबिच मारपिट गर्ने र गठबन्धनले चुनाव जिताउँछ भन्ने भ्रममा नेताहरू लागेको भन्दै कोइरालाले त्यस्तो भ्रममा नपर्न आग्रहसमेत गर्नुभयो । पार्टीभित्रको आन्तरिक समस्या समाधानमा नेतृत्व लाग्नुपर्ने उहाँको भनाइ छ ।

गठबन्धन फुटाउने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले यतिखेर सत्ता गठबन्धनलाई कसरी फुटाउने भन्ने नीतिमा लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीले बाम गठबन्धनका लागि अझै ढोका खुला राखेको संकेत दिनुभएको छ । यसले गठबन्धनमा आवद्ध नेकपा (माओवादी केन्द्र) लगायत बामपन्थी दलहरूको सिट बार्गेनिङ बढाउन सहयोग पुगेको छ ।

मङ्सिर ४ को निर्वाचनको तयारीसँगै रणनीति तय गर्ने क्रममा ओलीले अहिलेको गठबन्धन निर्वाचनको केही साता अघिसम्म भत्किन सक्ने सम्भावनालाई कायम राख्दै वाम गठबन्धनको ढोका खुलै राखेर अघि बढ्ने चुनावी रणनीति बनाउनुभएको हो । तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका केही नेताले त्यसलाई अवरोध गरिरहेका छन् । एमालेमा पनि दोस्रो तहका नेताहरू सिट खोसिने डरले गठबन्धन नभइदिए हुने पक्षमा रहेको स्रोतको दाबी छ ।

तत्काल एमालेको नेतृत्वमा अर्को गठबन्धन बनाउने निर्णय गरिनसकेको तर सम्भावित विकल्पलाई खुला राख्ने भन्दै ओली पाँच दलीय सत्ता गठबन्धनप्रति आक्रामक बन्नुभएको छ । ओलीले पार्टीको आन्तरिक रणनीतिमा भन्नुभएको छ– ‘सत्तारूढ गठबन्धन तोड्नुपर्छ, अर्को गठबन्धन गर्नुपर्छ भनेर गीत गाउने विषय होइन, झ्याली पिटाउने पनि होइन ।’ सिद्धान्तविहीन, पहिचानविहीन र नीतिविहीन गठबन्धनले उद्देश्य हासिल गर्न नसक्ने ओलीको तर्क छ ।

उहाँले कार्यकर्तालाई भन्नुभएको छ– ‘एमालेको नेतृत्वमा अर्को गठबन्धन बन्न पनि सक्छ, एक्लै लड्नुपर्ने पनि हुन सक्छ तर कांग्रेस र माओवादी जहाँ मिल्दैनन् त्यहाँ एक अर्कालाई सहयोग गर्ने वातावरण तय हुन्छ ।’ सिट बाँडफाँटसँगै प्रधानमन्त्री, राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, उपसभामुखसहितको राजकीय शक्ति बाँडफाँट अभिन्न रूपले जोडिएकाले अहिलेको सत्ता गठबन्धन कुनै पनि बेला भत्किन वा तोडिन सक्ने एमालेको आँकलन छ ।

सत्तारूढभित्र पनि विशेषतः कांग्रेस र माओवादी केन्द्रले बढी सिटका लागि दाउपेच गर्दा एकीकृत समाजवादी, जसपासहितका दल उपेक्षामा पर्न सक्ने भएकाले वैकल्पिक गठबन्धन वा तालमेलका लागि एमालेले पनि आन्तरिक रूपमा प्रयत्न गर्नुपर्ने मत बलियो बन्दै गएको एमालेका एक नेताले बताउनुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त कांग्रेसलाई सिट संख्यामा गलाउन एमालेसँग मिल्ने सक्ने भन्दै धम्की दिइसक्नुभएको छ ।

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि सम्मानजनक सिट नभएर गठबन्धन हुन नसक्ने अभिव्यक्तिहरू दिइरहनुभएको छ । एमालेले यिनै अभिव्यक्तिहरूलाई मलजल गर्दै गठबन्धन फुटाउने रणनीतिमा लागे पनि सत्ता गठबन्धनमा समस्या नआउने नेपाली कांग्रेस केन्द्रीय नेताहरूले बताएका बताए ।
माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरू पनि एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, विष्णु पौडेल, सुवास

नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्टलगायत नेतासँग अनौपचारिक अनौपचारिक संवाद भने गरिरहेका छन् । पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटमा सकस परिरहेका बेला महन्थ ठाकुर नेतृत्वको लोसपा, डा बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपाल र वामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानसहित थप तीन पार्टीसमेत अडिन सक्ने अवस्था नरहेको एमालेको बुझाइ छ ।

सत्तामा पुग्न अनेकन दाउ रचेका ओलीले शनिबार मात्रै बालुवाटार पुगेर सबै पार्टी एक्लाएक्लै लड्नका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । देउवासँग गठबन्धन फुटे पनि माओवादीलाई नबोक्ने सर्त राखेर गठबन्धनको फुटपछि चुनावी परिणाम राम्रो ल्याउने चाहना ओलीको छ ।

प्रतिक्रिया दिनुहोस्