विद्यार्थीलाई पठनपाठनमा अभिरुची प्रदान गर्न विद्यालयमा ‘बुक बस’



काभ्रे

काभ्रेपलाञ्चोक जिल्लाका पाँचवटा विद्यालयमा ‘बुक बस’ कार्यक्रम शुरु भएको छ । हिमालय मावि, समता शिक्षा निकेतन, विद्या सागर, आजाद माध्यमिक र चैतन्य माध्यमिक विद्यालयमा अमेरिकी दुतावासको सहयोगमा सतोरी सेन्टर फर द आर्टसद्वारा संचालित बुक बस कार्यक्रम शुरु भएको हो ।

बुक बस कार्यक्रममा शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुनेछ । कार्यक्रम अवधि भरि बुक बसले विद्यालयहरुमा स्थानीय विद्यालयमा भाषा, कला, विज्ञान र प्रविधिबारे विविध कार्यशालाहरू तथा किताब पठनपाठनका कार्यक्रम आयोजना गर्नेछ ।

बुक बसले विद्यालयहरुमा स्टीम, सिभिल राइट्स् एण्ड लीबरटीज, पुस्तक पाठन र कथा वाचन जस्ता कार्यक्रम संचालन गरिरहेको छ । भाद्र १९ देखि देखि असोज ६ गतेसम्म आयोजना हुने उक्त कार्यक्रम आजादमा ४ दिन र चैतन्यमा दुई दिन सहित अन्य विद्यालयमा तीन दिन संचालन हुनेछ । हिमालय माध्यमिक विद्यालयमा भाद्र १९ गते शुरु भई २१ गते समापन भएको छ भने समता शिक्षा निकेतन माध्यमिक विद्यालयमा भाद्र २२ गते शुरु भई २४ गते समापन भएको छ ।

विद्या सागर विद्यालयमा भाद्र २६ गते शुरु भई ३० गते समापन हुनेछ भने आजाद उच्च माध्यमिक विद्यालयमा भाद्र ३१ देखि आश्विन ४ गतेसम्म हुनेछ । चैतन्य माध्यमिक विद्यालयमा भने आश्विन ५ र ६ गते दुई दिन हुनेछ । बुक बसले विद्यार्थी तथा समुदायमा पठनपाठनको अभिरुचि वृद्धि गर्ने, सिर्जनात्मक सोचाई तथा क्रिटिकल थिङ्किगंको विकास गर्ने र विधार्थीहरुलाई अर्थपूर्ण तथा स्मरणिय शिक्षा प्रदान गर्ने अवसरको सृजना गर्ने कार्यक्रम संयोजक साम्भवी श्रेष्ठले बताउनु भयो ।

पुस्तक पाठन र कथा वाचन अन्तर्गत विद्यार्थी सामु पुस्तक पाठन गर्ने र पुस्तकबारे विद्यार्थीहरुसँग छलफल गरी कथामा आधारित सृजनात्मक कृयाकलाप गर्न प्रोत्साहन गरिने कार्यक्रम संयोजक रुबीना प्रधानले बताउनु भयो । उक्त कार्यक्रम साम्भवी श्रेष्ठ र रुवीना प्रधानले संयोजन गरिरहनु भएको छ । त्यस्तै सिभिल राइट्स् एण्ड लीबरटीज्मा विधार्थीहरुसँग नागरिक अधिकार, स्वतन्त्रता, असमानता, निष्पक्षता, र न्यायका अवधारणाकाबारे छलफल गरिनेछ । स्टिम कार्यशालामा विद्यार्थीहरुलाई परिचयात्मक रुपमा वैज्ञानिक प्रक्रियाको प्रयोग गरि सोच्न र ज्ञान प्राप्त गर्न प्रोत्साहन गरिनेछ ।

मिडिया साक्षरता र जलवायु परिवर्तन कार्यशलामा विद्यार्थीहरुको समाचार तथा सामाजिकं सञ्जालमा पाइने जानकारीहरु बुझ्ने र विश्लेषण गर्ने क्षमता निर्माण गरिनेछ । लोक नाटक मञ्चनमा विद्या सागर स्कुल र आजाद उच्च माध्यमिक विद्यालयमा मझुवा बगर जनकला मन्च नाटक समूहद्वारा जलवायु परिवर्तन र वातावरणका बारे लोक नाटक मञ्चन गरिनेछ ।सिर्जनात्मक शैलीमा पठनपाठन गर्ने अवसर अनुपस्थित वा कम भएका तथा पुस्तकालयसम्म पहुँच नरहेका क्षेत्रमा बुक बस कार्यक्रम जाने गरेको छ । बुक बसले सिर्जनात्मक शैलीमा सिक्ने अवसर तथा सामुदायिक पुस्तकालयको अवधारणालाई प्रर्वद्धन गर्दै समुदायका सदस्यहरूलाई आफ्नो समुदायमै यस्ता स्थान निर्माण गर्न प्रोत्साहन दिने संयोजक साम्भवी श्रेष्ठले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्