प्रारम्भिक संस्था पञ्चकुमारीमा सहकारी ऐन, छाता संघका सञ्चालक चुपचाप



काभ्रे । 

बनेपा नगरपालिका वडा नम्वर ६ मा रहेको पञ्चकुमारी बहुउद्देश्यीय सहकारीले सहकारी ऐन र विभागले जारी गरेको ३५ बुँदे निर्देशनलाई हुबहु कार्यान्वयन गरेको छ । ६ जना सहकारीका सञ्चालकहरूले सरकारी सेवामा रहेको भन्दै यस अघि नै राजीनामा दिए पछि शनिवार सम्पन्न साधारण सभाबाट नयाँ सञ्चालक निर्वाचित गरिएको अध्यक्ष मधुसूदन पन्तले बताउनु भयो ।
प्रारम्भिक संस्थाले सहकारी ऐन कार्यान्वयन गरेको अवस्थामा त्यही संस्था सदस्य रहेको छाता संघ जिल्ला सहकारी संघ र काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा निर्वाचित जनप्रतिनिधि र सकारी सेवामा कार्यरत कर्मचारीहरूले बुझ पचाएर राजीनामा दिएका छैनन् । निर्देशन विपरीत भवन निर्माण र घर जग्गा कर्जामा लगानी गरिरहेको छ ।

पञ्चकुमारी बहुउद्देश्यीय सहकारीमा कार्यरत उपाध्यक्ष, सह कोषाध्यक्ष, सञ्चालक र लेखा सदस्यहरूले राजीनामा दिए पछि नयाँ निर्वाचित गरिएको अध्यक्ष पन्तले बताउनु भयो । साधारण सभाको बनेपा नगरपालिका प्रमुख शान्ति रत्न शाक्यले उद्घाटन गर्नु भएको थियो । सहकारी ऐन कार्यान्वयन गर्न र सहकारीलाई नियमन गर्न स्थानीय सरकारले कदम चालेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष सचितानन्द केसी, नेपाल पत्रकार महासंघ महासंघका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पत्रकार नवराज बजगाईँ, सल्लाहकारहरू कृष्ण बुद्ध बजगाईँ, चतुर्भुज तिमल्सिना, कृष्णप्रसाद दाहाल लगायतले मन्तव्य राख्नु भएको थियो ।

अध्यक्ष मधुसूदन पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाले आर्थिक वर्ष २०७८÷२०७९ को अन्त्यमा १ करोड ३३ लाख २ हजार ८ सय शेयर पुँजी रहेको छ भने ५ करोड ७५ लाख ३८ हजार ६ सय १५ रुपैयाँ कुल निक्षेप र ८ करोड ७३ लाख ४० हजार ८ सय ४३ लाख वासलात रहेको छ । सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, जेष्ठ सदस्य, पूर्व सहचालक, शेयर सदस्यका छोराछोरीहरू मध्ये एसइईमा उत्कृष्टलाई नगद सहित सम्मान गरिएको थियो ।

सभामा सचिव गोविन्द दाहालले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष लोकमणि दाहालले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समिति संयोजक शिवप्रसाद अधिकारीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सञ्चालक प्रेमप्रसाद सत्याल, राजनकुमारी बैदार लगायतले सहकारीले ऐन नियम कार्यान्वयन गर्दै सदस्यहरूलाई आर्थिक समृद्धि तर्फ उन्मुख गराएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्