बाढी पहिरोमा परी दार्चुलामा ३ जनाको मृत्यु, ६ जना बेपत्ता



दार्चुला । बाढी र पहिरोका कारण जिल्लाका ३ जनाको मृत्यु भएको छ, भने ६ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, १४ वर्षीया धनमती ठगुन्ना र महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बाढी र पहिरोमा परी ६ जना बेपत्ता भएका छन् । शुक्रबार राति लास्कु खोलामा आएको बाढी र पहिरोमा परी महाकाली नगरपालिका–३ डुङरीमा होटेल व्यवसाय गर्दैै आइरहेको एकै परिवारका चारजना बेपत्ता भएका छन् ।

प्रहरीका अनुसार महाकाली नगरपालिका–१ घर भई डुङरीस्थित होटल व्यवसायी गर्दै आइरहेका ५२ वर्षीय धनसिंह कार्की, उनकी श्रीमती ४५ वर्षीया मानमती कार्की छोराहरु १८ वर्षीय दिपक कार्की र १० वर्षीय दिनेश कार्की बेपत्ता भएका छन् ।

यसैगरी नगरपालिकाकै वडा नम्बर ४ लास्कुका ४५ वर्षीय मोहन लुहार र वर्ष ४० वर्षीया सरस्वतीदेवी लुहार रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिनुभयो ।

बाढीकै कारण लास्कु क्षेत्रका ४, बाँगाबगर क्षेत्रका ११ घर तथा दशरथनगर आवि पुर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । यस्तै दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ, भने लास्कु खोलामा आएको बाढी र पहिरोले महाकाली नदी थुनिएर ताल बनेको छ ।

महाकाली नदी थुनिँदा दुहुँ र ब्याँस जोड्ने सडक डुवानमा परेको छ । बाढीले पार्किङमा राखेका ५ बोलेरो जीप बगाएको छ भने १ ट्याक्टर र १ अल्टो बगाएको प्रहरी जनाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।

यसैबीच बाढी र पहिरोमा परी गम्भिर घाइते भएकाहरुलाई उद्धार गर्न कर्णाली प्रदेश सुर्खेतबाट नेपाली सेनाका हेलिकप्टर मगाइएको छ । सोही हेलिकप्टरले बाढी र पहिरो प्रभावित क्षेत्रका नागरिकको लागि अवश्यक राहत सामाग्रीसमेत ल्याउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्