राष्ट्रपतिले राजीनामा दिनुपर्छ : प्रचण्ड



पोखरा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेखी भण्डारीले राजीनामा दिनुपर्ने बताउनु भएको छ । आज (शुक्रबार) सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति भण्डारीको अवस्था ठीक नभएकाले राजीनामा दिनुपर्ने बताउनु भएको हो ।

उहाँले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीको कटाक्ष गर्नुभएको हो । ‘राष्ट्रपतिजीलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई,’ उहाँले भन्नुभयो, ‘हुन त मैले केहीँ दिनअघि राष्ट्रपतिजीसँग भेटेर कुरा गर्दा उहाँ चाहिँ यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ मैले ।’ राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने सम्भावना पनि भएको बताउनु भयो । ‘त्यसकारण पहिलो कुरा भनेको नगर्ने सम्भावना पनि छ । त्यसो भयो भने अदालतमा जान्छ । दोस्रो उहाँले राजीनामा दिनुपर्छ ।’

आफुले राष्ट्रपतिसँगको भेटमा पनि सो कुरा भनेको बताउनु भयो । ‘दोस्रो पटक पनि प्रमाणीकरण भएन भने या त राजीनामा दिनुपर्छ या त अदालतमा जान्छ भनेको थिएँ । यो अनुमानको कुरा हो, मलाई लाग्छ राष्ट्रपतिज्यूले प्रमाणिकरण गर्नुहुन्छ’ प्रचण्डले भन्नुभयो ।

यस्तै प्रचण्डले आफू दिल्ली भ्रमणमा रहेको बेलामा प्रधानमन्त्री पत्नी आरजु देउवासँग भएको भेटबारे झुटो प्रचार गरिएको धारणा राख्नुभयो । ‘सामान्य औपचारिकता र स्वास्थ्य लाभको कामनाबाहेक दिल्लीमा केही भएको थिएन । अनौठो के भयो भने, खासगरी एउटा दलका मानिसहरूले भारतीयलाई राखिएर सहमति भयो भन्ने प्रचार गरियो,’ उहाँले थप्नुभयो, ‘जुन विल्कुल झुटो र निराधार प्रचार थियो । मलाई र हाम्रो पार्टीलाई प्रहार गर्न गरिएको कुप्रचार हो यो ।’ जसबारे चीनले पनि चासो राखेपछि आफू अचम्ममा परेको उहाँको भनाइ थियो ।

आगामी निर्वाचनको चर्चा गर्दै प्रचण्डले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताउनु भयो । प्रचण्डका अनुसार पेचिलो बन्दै गएको सत्ता गठबन्धनको सिट बाँडफाँटका विषयमा आजै टुंगो लाग्नेछ ।

सिट बाँडफाँटको विषय पेचिलो बन्दै गर्दा प्रचण्डले भने कुनै ‘रोइलो’ नभएको प्रष्ट पार्नुभयो । ‘गठबन्धनमा केही रोइलो छैन् । वामपन्थी एकता हुनुपर्छ भनेर मैले नै वाम गठबन्धनको प्रस्ताव राखेको हो,’ उहाँले भन्नुभयो, ‘तर कम्युनिस्ट आन्दोलनको जे सपना मैले देखेको हो, दुर्भाग्य हामीले जसलाई प्रधानमन्त्रीका रुपमा अघि सार्यौँ, उहाँ विचलित हुनुभयो, उल्टो बाटो हिँड्नुभयो र यो परिस्थिति सिर्जना भयो । गठबन्धनभित्र पनि एकता र ध्रुवीकरणका लागि छलफल चलिरहेको छ ।’ उहाँले आफू चितवनबाटै चुनाव लड्ने समेत बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्