जात्रामा युवावर्गको आकर्षण बढ्दै



सुनील महर्जन

सांस्कृतिक नगरी काठमाडौंको विभिन्न जात्रापर्व मध्ये सबैभन्दा बढी महत्वपूर्ण जात्रा हो, येँयाः अर्थात् काठमाडौंको जात्रा। केही वर्षयता इन्द्रजात्रामा युवावर्गको सक्रियता बढ्दै गएको पाइएको छ। युवावर्गहरू इन्द्रजात्रामा रमाउने मात्र नभई व्यवस्थापनमा पनि सक्रिय रहेका छन् ।

यस पर्वलाई येँद्याः, ञन्याः आदि नामबाट पनि चिनिन्छ । इन्द्रजात्रा भनेर जसलाई चिनिन्छ, त्यो खासमा येँया पुन्ही’ हो।येँया पुन्हिको एउटा अशं मात्र हो, इन्द्रजात्रा। इन्द्रजात्रा त एउटा अंश मात्र हो, यो शब्दले पर्वलाई पूर्ण रूपमा न्याय नगर्ने संस्कृतिविद्हरूको भनाइ रहेको छ ।

नेपाल भाषामा ‘येँ भनेको काठमाडौं हो।‘या’ भनेको उत्सव र पुन्ही’ भनेको पूर्णिमा। पूर्णिमामा काठमाडौंमा हुने उत्सव हो। कसै–कसैले यसलाई आकाश भैरवको जन्मदिनका रूपमा पनि मनाउँछन् । इन्द्रजात्रा भनेर जति हामी देख्छौं वा बुझ्छौं, त्यो यो उत्सवको केही अशं मात्र हो । यस पर्वको दौरान विभिन्न ठाउँमा विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छ । एक सातासम्म मनाइने यस पर्व नेपाल संवत् अनुसार ञंलाथ्व द्वादशीदेखि यंलागाः तृतिया÷चौथी सम्म मनाइने गरिन्छ ।

यही संस्कृति जर्गेना आजभोलि युवाहरू उपस्थिति खचाखच रहने गर्दछ ।इन्द्रजात्राको रथयात्राको अवधिभर करिब ३ सयको हाराहारीमा युवाहरू परिचालन हुने इन्द्रजात्राको स्वयंसेवक परिचालन समितिले जनाएको छ । हनुमानढोका दरबार परिसरमा बुधबार बिहान ७ बजेट १७ मिनेट जाँदाको शुभ साइतमा करिब ३३ फिट अग्लो यःसिद्यः(इन्द्रध्वजोत्थान) ठड्याइपछि इन्द्रजात्रा शुरु भएको छ। बुधबारदेखि नै चोकचोकमा इन्द्रलाई बन्धनमा राखेर प्रदर्शन गरिएको थियो ।

यःसि द्य ठड्याएपछि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाचलगायत धार्मिक गतिविधि हुने गर्दछन्। त्यसैले, यो एउटा उत्सव मात्र होइन, थुप्रै उत्सवको संगठन रहेको छ ।

इन्द्रलाई चोर सावित गरेको दिनको सम्झनामा इन्द्रजात्रा मनाइन्छ। इन्द्रजात्राको सम्बन्धमा एउटा प्रसिद्ध किवदन्ती जोडिएको छ । देवराज इन्द्र आमाको इच्छाअनुसार पारिजात लिन मान्छेका रूपमा लुकेर काठमाडौं आइपुग्छन्। धेरै दिनसम्म इन्द्र नफर्केपछि आमालाई चिन्ता हुन्छ। उनी स्वर्गबाट ऐरावत हात्तीलाई इन्द्र खोज्न पठाउँछिन्। आमाले चाल पाउँछिन्, स्थानीयले पारिजात चोरेको कसुरमा इन्द्रलाई बाँधेर जात्रा गरिराखेको छ।

त्यसपछि आमा स्वयं काठमाडौं अर्थात्, येँ देय् आइपुग्छिन्। इन्द्रलाई बन्धनबाट मुक्त गर्न उनले यस उपत्यकामा उवर्रा थपिदिने बाचा गर्छिन्। त्यसैअनुरुप काठमाडौंमा कुहिरो र शित लाग्न थाल्छ। धानबाली राम्रो हुन्छ। इन्द्रलाई मुक्त गर्ने अर्को सर्त पनि थियो। त्यो के भने, त्यस वर्ष मृत्यु हुने सबै मनुष्यलाई स्वर्ग लैजाने। यसै क्रममा काठमाडौंको इन्द्रदहमा स्नान गरेर इन्द्र र उनकी आमा साथमा पारिजात लिएर स्वर्ग प्रस्थान गर्छन्। यही कथा अनुरुप इन्द्रजात्रामा ऐरावत हात्तीका रूपमा ‘पुलुकिसी’ लाई देश घुमाउने, इन्द्रलाई बाँधेर चोक–चोकमा प्रदर्शन गर्ने र मृत व्यक्तिलाई स्वर्ग पठाउन येँ दय् (काठमाडौंको सहरी क्षेत्र) परिक्रमा गर्ने उपाकु यात्राको चलन छ।

इन्द्रजात्राको महत्व, आकर्षकको रुपमा रहेको जीवित देवी श्री कुमारी, जीवित देवहरूश्री गणेश र श्री भैरवको रथयात्राको पहिलो दिन क्वःनेयाः (काठमाडौंको भित्री शहरको तल्लो भाग) मा आज शुक्रबार सञ्चालन हुने गर्दछ।रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘ दागी’ र त्यसपछि ‘ बौंमतः’ ल्याउने परम्परा रहेको छ। तिनको व्यवस्थापन र सफलतापूवर्क सम्पन्न गर्न युवाहरूको भरथेग रहेको छ ।

इन्द्रजात्राको मुख्य आकर्षण भाद्र शुक्ल चतुर्दशी अर्थात शुक्रबार प्रारम्भ हुने कुमारी रथयात्रा हो। जीवित देवीका रूपमा रहेकी कुमारीलाई रथमा राखेर अन्य दुई रथमा गणेश र भैरवलाई अगाडि लगाई काठमाडौं परिक्रमा गराइन्छ। पहिलो दिन मरुटोलको दक्षिणी भागमा पर्ने क्वने (तल्लो टोल) र भदौं २५ गते दिन उत्तरी क्षेत्रको थःने (माथिल्लो टोल) परिक्रमा हुन्छ। अन्तिम दिन अर्थात् भदौं २९ गते बुधबार‘ नानिचाया’ भनेर मध्यभागको इन्द्रचोक, किलागलतिर घुमाइन्छ।

रथयात्रा हुने सबै रुटमा ट्राफिक व्यवस्थापन,रथको अगाडि बस्ने, शान्तिपूर्ण रथ तान्न लगाउनेदेखि लिएर खटिने स्वयंसेवकमा युवावर्गकै बढी उपस्थिति रहने छ ।श्री कुमारी, श्री गणेश र श्री भैरवको रथको घमा बस्ने, रेडक्रस, विपद् सबै जिम्मेवारीमा युवाहरूको उपस्थिति उत्साहजनक रहेको जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरू बताउँछन् । ‘युवाहरू जात्रामा रमाउने, नाच्ने मात्र सीमित छैनन् ।जात्रा व्यवस्थानमा उल्लेख्य हिस्सा युवावर्गकै रहेको छ ।’ इन्द्रजात्राको स्वयंसेवक तथा प्रचारप्रसार उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठले भन्नुभयो ‘ यसलाई संस्कृति जर्गेनामा युवाहरू चेतका रूपमा लिन सकिन्छ ।’

जात्रा व्यवस्थापनमा युवाहरू सक्रियतासँगै जात्रा हुने झै–झगडा,अपराधिक घटनाहरूको संख्या हुने क्रम निकै न्यून रहेको पाइएको छ स्थानीयको सक्रियताले शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापनमा काममा सहज भएको प्रहरीहरूको अनुभव रहेको छ ।रथयात्रालाई व्यवस्थित गर्न यसपटक येंयाँ (इन्द्रजात्रा) ट्राफिक व्यवस्थापन परियोजना तयार गरिएको छ । परियोजनामा रथत्रायाको डिजिटल नक्सा समेत तयार गरिएको छ । रथायात्राको दिन दिउँसो १ बजेदेखि बेलुका १० बजेसम्म सवारी आवागमन बन्द हुने र बिहान ९ बजेसम्म र बेलुका १० गतेपछि सामान लोड र अनलोड गर्न सकिने सूचनापनि एक साताअघिदेखि सूचित गरिएको थियो ।

सोही रुट भई आवतजावत गर्ने सर्वसाधारणलाई एक साता अघिदेखि नै सूचना जारी गरी रथयात्राको दिन वैकल्पिक रुटको प्रयोग गर्न पनि युवाहरू अभियान चलाएको थियो ।रथयात्राको रुटमा ट्राफिक व्यवस्थापनको लागि ट्राफिक प्रहरी ४० जना, नेपाल प्रहरी ४० जना, नगरप्रहरी ४० जना, स्काउटको २० जना, सामुदायिक प्रहरी २५ जना र बाँकी स्थानीय क्लब, संघसंस्थाका लागि २ सय जना खटिने ट्राफिक व्यवस्थापन उपसमितिका संयोजक रवि तण्डुकारले जानकारी दिनुभयो । १० जनाको ४ वटा टोली बनाएर खटाउने पनि समितिले जनाएको छ ।

रुटको व्यवस्थापन, जात्रालाई शान्तिपूर्ण बनाउनको लागि आवश्यक समन्वय गर्न एक महिनादेखि विभिन्न उपसमितिहरूले गृहकार्य गरेको पनि संयोजक तण्डुकारले बताउनुभयो । तण्डुकारका अनुसार जात्रालाई उत्साह, रमाईलो र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न एक साता अघि टोल भेला, पर्चा वितरण अभियान सञ्चालन गरिएको छ । इन्द्रजात्रा व्यवस्थापनको लागि विभिन्न समितिहरू गठन गरिएको छ। जसमा गणपतिलाल श्रेष्ठको संयोजकत्वमा, स्वयंसेवक परिचालन तथा प्रचारप्रसार समिति, पञ्चनारायण महर्जनको संयोजकत्वमा धिमेबाजा समिति, इन्द्रजात्रामा महिलाहरूको सहभागिताको लागि नानीहेरा महर्जनको संयोजकत्वमा समिति गठन गरिएको छ ।जात्राको अवसरमा गर्नुपर्ने सुरक्षा, स्वास्थ्य, विपत व्यवस्थापन, स्काउट, रेडक्रस, ट्राफिक व्यवस्थापन, संघसंस्था समन्वयको जिम्मेवारी पनि स्वयं सेवक समितिलाई दिइएको छ ।

बुधबार बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गरेका छन् ।वर्षभरि दिवंगत भएका आफन्तको सम्झनामा पाल्चामा बत्ती र धुप बाल्दै लिच्छवीकालिन खड्ग आकारको शहर परिक्रमा गर्ने विश्वास रहेको छ। त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक एवं इतिहासविद् त्रिरत्न मानन्धर ‘ उपाकु ’ बौद्ध नेवारहरूले पितृ मोक्षका लागि मनाउने पर्व रहेको धारणा राख्नुभयो । गाईजात्रामा हिन्दू नेवारहरूले पितृमोक्षका लागि नगर परिक्रमा गर्ने र उपाकुमा भने विशेष गरी बौद्ध नेवारहरूले नगर परिक्रमा गर्ने बताउनुभयो ।

उपाकु आएकाहरूले ठँहिटी, ज्याथा ,भोटाहिटी, महाबौद्ध, न्युरोड गेट तेबहाल, सुन्धारा, बागदरबार लगन, हयुमत, जैशीदेगः, कोहिटी, भीमसेन स्थान हुँदै नगर परिक्रमा गर्छन्। परिक्रमा गर्ने रुटहरूस्थित चैत्य र मन्दिरहरूमा समयबजी राख्ने प्रचलन छ। आजैबाट मजिपा लाखे, पुलुकिसी, स्वःभकु लगायतका नाच पनि प्रदर्शन हुन्छन्। इतिहासविद् मानन्धरका अनुसार नेपालमण्डलमा मल्लकालदेखि नै यःसिं ठड्याउने परम्परा रहेको थियो। विश्वभर शुभकार्य अगाडि लामो काठ ठड्याउने परम्परा रहेको भन्दै सिन्धुघाटी सभ्यतामासमेत काठ ठड्याउने गरिएको इतिहासविद् मानन्धर बताउनुभयो ।

काठमाडौंमा येँयाःमा पनि यःसिं ठड्याउन मल्लकालमा नै शुरु भएको थियो। तर, त्यससमय अहिलेको जसरी तामझाम गरेर यःसिं ठड्याउने नगरिएको उहाँले बताउनुभयो । हाल वसन्तपुरमा रहेको काल भैरव अगाडि शाहकालमा मात्रै यःसिं ठड्याउन शुरु भएको मानन्धरले बताउनुभयो । भदौं २९ गते बुधबार गते नानिचाः यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रूपमा सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्