सात जिल्लामा आजदेखि हात्तीपाइले राेगविरुद्धको औषधि खुवाइँदै



काठमाडौं ।

देशका सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु हुँदै छ। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आजदेखि झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सुरु हुन लागेको हो।

महाशाखाका निर्देशक डा. रुद्र मरासिनीका अनुसार अभियान अन्तर्गत यस पटक सात जिल्लाका १०१ पालिकामा रहेका ५० लाख ७८ हजार नागरिकलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य लिइएको छ।

उनले देशका १३ वटा जिल्ला हात्तीपाइले रोग मुक्त जिल्ला भएको, अरू ५३ जिल्लामा हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सफल सफल भइसकेको र चार वटामा औषधि सेवन कार्यक्रम सकेर सर्भे हुँदै गरेको बताए। उनले बाँकी सात जिल्लामा भने अभियान सफल नभएको कारणले पुनः औषधि खुवाउन लागिएको बताए।

अभियानका लागि यस वर्ष सरकारले १२ करोड बजेट विनियोजन गरेको छ। त्यसमध्ये ११ करोड स्थानीय निकायमा निकासा भइसकेको डा मरासिनीले बताए। आम हात्तीपाइले रोगमा विभिन्न तीन थरीका औषधि खुवाइन्छ। जसमा आइभरमेक्टीन, डाइइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल रहेका छन्।

हात्तीपाइले कस्तो रोग हो ?

हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्ग बनाउने एक प्रकारको सरुवा रोग हो । मसिनो धागो आकारको जुका जस्तै एक प्रकारको परजीवीले यो रोग गराउँछ। यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ।

मानिसको शरीरमा यो यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका असरहरू शरीरमा देखिने गर्छ । यस रोगको लक्षण देखिसकेपछि निको पार्न सकिँदैन । धेरै जस्तो सङ्क्रमण लक्षण बिनाको हुने भएकोले समुदायका अन्य व्यक्तिलाई समेत रोग सर्ने सम्भावना रहन्छ । त्यसैले हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि आम औषधि सेवन गर्न जरुरी छ।

हात्तीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ ?

महाशाखा निर्देशक डा. मरासिनीका अनुसार हात्तीपाइले रोगबाट बच्न आइभरमेक्टीन, डाइथाइल्कारबामाजिन तथा अल्बेन्डाजोल गरी तीन प्रकारका औषधि प्रयोग गरिन्छ । जुन पूर्ण रूपमा सुरक्षित छन् । यी औषधि विश्वभर नै प्रयोग हुने गरेका छन् ।

यी तीन थरीका औषधिहरूको प्रयोगले हात्तीपाइले रोग लागिसकेकाहरूको प्रभावकारी रुपमा उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । यसले आन्द्रा र रगतका जुकाहरू मार्दछ भने लुतो र जुम्राको उपचारमा पनि निकै सहयोगी हुन्छ ।

अध्ययन अनुसन्धानबाट यी तिन थरीका औषधिहरू पूर्ण रूपमा सुरक्षित भएको देखिएको छ । यति मात्रै होइन विश्व स्वास्थ्य सङ्गठनले पनि यी औषधिहरूलाई हात्तीपाइले रोगविरुद्ध प्रयोग गर्न मिल्ने भनेर सिफारिस गरेको छ ।

हात्तीपाइले रोगविरुद्धको औषधि क-सकसले सेवन गर्ने ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्छ ।
तर, निम्न व्यक्तिहरूले यो औषधि सेवन गर्न हुँदैन ।
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू
गर्भवती र सात दिन सम्मका सुत्केरी
छारे रोगको समस्या भएका व्यक्तिहरू
पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्तिहरू
सिकिस्त बिरामीहरू

सिकिस्त बिरामीहरू भन्नाले रोगका कारण ओछ्यान परेका बिरामीहरू,अस्पताल भर्ना भएका बिरामीहरू र त्यस्ता बिरामीहरू जो जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका हुन्छन् । जस्तै मिर्गौला रोगको डायलासिसका बिरामीहरू आदि ।

त्यसो त हात्तीपाइले रोगविरुद्धको औषधिको सेवनबाट ७२ मध्ये १९ देशले रोग निवारणको प्रमाणपत्र पाइसकेको छ । १४ वटा देशमा सङ्क्रमण रोकिई सकेको छ । संसारमा ७४ करोड र नेपालमा १।५ करोड मानिस जोखिम मुक्त रहेको छ ।

नेपालको सात जिल्लामा आजदेखि सञ्चालन हुने अभियानमा यस पटक करिब ६ हजार स्वास्थ्यकर्मीहरू र ५ हजार ८०० सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्