डेंगु नियन्त्रण गर्न छलफल



काठमाडौं ।

नेपालमा डेंगुको महामारी बढेर मानिसको ज्यानै गएपछि बल्ल मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा छलफल शुरू भएको छ । सो छलफल रोग नियन्त्रण तथा रोकथामसम्बन्धी विषयमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा शुरू भएको हो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्या, खानेपानी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवं उच्च पदस्थ पदाधिकारीको उपस्थितिमा महामारीका रूपमा फैलिएको डेंगु रोगको विषयमा छलफल भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जारी गरेको छ ।

बैठकमा प्रदेश सरकार र स्थानीय तहबाट समेत रोकथाम नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वय र सहजीकरण गर्ने, डेंगु रोग सार्ने लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’को अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य दृश्य सामग्री तयार पार्ने, विभिन्न तह तथा माध्यमबाट प्रचारप्रसारको व्यवस्था मिलाउने, रोगको पहिचान तथा उपचारमा कमी हुन नदिन आवश्यक व्यवस्था मिलाउने निर्णय भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालगन्जमा दुईको मृत्यु

नेपालगन्जमा डेंगुबाट दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. बद्री चापागाईंले भदौ १४ गते र १९ गते भर्ना भएका दुई जनाको एकैसाथ मृत्यु भएको जनाउनुभएको छ । ७५ जिल्लामा फैलिएको डेंगु संक्रमणका क्रममा भेरी अस्पतालमा भर्ना भएकामध्ये दुई जनाको मृत्यु भएपछि संक्रमण अझै फैलिन सक्ने भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् ।

संक्रमण फैलिन नदिन सरकारी पक्षबाट कुनै प्रभावकारी प्रयास भएको छैन । पालिकामा रहेका स्वास्थ्यकर्मीले झारा टार्ने ढंगले लार्भा नष्ट गरे पनि व्यापक रूपमा फैलिँदो संक्रमण नियन्त्रणप्रति सक्रियता देखाइएको छैन । भेरीमा अहिले डोटीका ५५ वर्षीया महिलाको उपचार भइरहेको छ । बाँकेमा ११ जना डेंगु संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्