माओवादीभित्रको अन्तरविरोध सार्वजनिक मञ्चमै छताछुल्ल



काठमाडौं  । 

नेकपा माओवादी केन्द्रको पदाधिकारी चयनको असन्तुष्टि सार्वजनिक मञ्चमै छताछुल्ल भएको छ । बुधबार अखिल क्रान्तिकारीको चुनाव लक्षित क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा सम्बोधन गर्न पुगेका माओवादी केन्द्रका शीर्ष नेताहरूको अभिव्यक्तिले पार्टीभित्र पदाधिकारी चयनमा चरम असन्तुष्टि रहेको पुष्टि भएको छ ।

महाधिवेशन भएको लामो समयपछि ४ भदौमा पार्टीको पदाधिकारी चयन गरिएको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देव गुरुङलाई महासचिव बनाउनुभएको थियो भने उपमहासचिवमा जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, पम्फा भुसाल, शक्ति बस्नेत र मात्रिका यादवलाई चयन गरिएको थियो । तर, यसप्रति असन्तुष्ट रहँदै जनार्दन शर्माले फरक मत राख्नुभएको थियो । शर्मा महासचिव पदका आकांक्षी हुनुहुन्थ्यो ।

पदाधिकारी चयन असन्तुष्टि १८ दिनपछि बुधबार शर्माले सार्वजनिक मञ्चमै पोख्नुभएको छ । अखिल क्रान्तिकारीको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफू उपमहासचिवको हैसियतमा नभएर संगठन विभाग प्रमुखका रूपमा उपस्थित भएको बताउनुभएपछि हलमा ताली लामो समयसम्म बजेको थियो । उहाँले उपमहासचिव पद अस्वीकार गरेको अभिव्यक्ति दिनुभएको थियो ।

आफूले अध्यक्ष प्रचण्डको आलोचना र रक्षा दुवै गर्दै आएको बताउँदै उहाँले नेतृत्वले गलत गर्दा आलोचना गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । उहाँले अध्यक्षको सबैभन्दा कडा आलोचक आफू भएको बताउँदै ‘अध्यक्ष कमरेडको संरक्षण गर्ने पनि मै हुँ, नेतृत्वको कमजोरीको आलोचना गर्नुपर्छ । अध्यक्ष कमरेडको आलोचक हुँ, आलोचना गर्छु’ भन्नुभयो ।

त्यसपछि कार्यक्रमलाई सम्बोधन गरेका अध्यक्ष प्रचण्डले उपमहासचिव शर्मालाई राजनीतिक रूपमा हुर्काउन आफूले मुख्य भूमिका खेलेको जवाफ दिनुभएको थियो ।पार्टीभित्र आफूले आफ्नो उत्तराधिकारी खोजेको र तयार होऊन् भन्ने चाहेको शर्मालाई लक्षित गर्दै जवाफ दिनुभएको थियो । प्रचण्डले अब आउने उत्तराधिकारीले पनि पार्टीलाई एकताबद्ध गरेर लैजाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्