इन्द्र जात्रा शुरु, विदेशी पाहुना आउँदै



काठमाडौं । इन्द्रजात्रा आज बुधबारदेखि शुरु भएको छ । ८ दिनसम्म मनाइने साँस्कृतिक जात्रा प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै सुरु हुने गर्छ । बुधबार बिहान ७ : १५ बजेको साइतमा लिंगो ठड्याइएको हो ।काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले इन्द्रध्वजोत्थान गरी जात्रा शुभारम्भ गरिन् ।

इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो ।

काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ ।

यसैबीच काठमाडौं महानगरपालिकाले यस वर्षको इन्द्रजात्रामा विदेशी पाहुना सहभागी हुने जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर महानगरले यस वर्षको इन्द्रजात्रा पर्व अवलोकलन गर्न विदेशी पाहुनालाई आमन्त्रण गरिएको जनाएको हो ।
दरबार क्षेत्रमा  इन्द्रध्वजोत्थान गरिएसँगै यही भदौ २४ गते शुक्रबार मुख्यरुपमा यात्रा सुरु गरिन्छ । जात्राको मुख्य दिन तल्लो टोलमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथयात्रा चलाइन्छ । भदौ २५ गते शनिबार माथिल्लो टोलमा रथयात्रा गरिन्छ । भदौ २९ गते बुधबार नानिचा यात्रा गरिन्छ । त्यसै दिन बेलुकी ७ः३३ बजे इन्द्रध्वनपातनको साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । यसै दिन इन्द्रध्वजपातन गरेपछि राष्ट्राध्यक्षले हनुमानढोका दरबार पुगी श्रीकुमारीबाट इन्द्रजात्राको प्रसाद ग्रहण सांस्कृतिक परम्परा रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस्