सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी



काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई निलम्बन गर्ने तयारी गरेको क्यान स्रोतले न्युज अफ नेपाललाई जानकारी दिएको छ । स्रोतका अनुसार प्रहरी अनुसन्धानमा सहयोग गर्न तथा अन्तर्राष्ट्रिय अभ्यास अनुसार आरोपित लामिछानेलाई क्यानले निलम्बनको तयारी गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी परेको जनाएको छ । परिसरले बुधबार विज्ञप्ति निकालेर लामिछानेविरुद्ध १७ वर्षीया बालिकालाई बलात्कार गरेको किटानी उजुरी परेको जनाएको हो ।

जाहेरी परेलगत्तै वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर (ओसीएमसी) मा बालिकाको स्वास्थ्य परीक्षण गराइएको जानकारी दिएको काठमाडौं प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ,‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दिप लामिछानेले मिति २०७९/०५/०५ गते काठमाडौं र भक्तपुरको बिभिन्न स्थानहरुमा लगी काठमाडौं ल्याई रातको अन्दाजी २३ः५५ बजे का.जि.का.म.न.पा. ९ स्थित एक होटलको कोठा नंं. ३०५ मा मिति २०७९/०५/०६ गते रातको अन्दाजी ००ः२५ बजे पटक पटक जबर्जस्ती करणी गरेको लगायत उल्लेख गरी मिति २०७९/०५/२१ गते प्रहरी बृत्त, गौशालामा जाहेरी परेको छ ।’

अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीद्वारा उक्त घटनामा सुक्ष्मरुपमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्