आफूले भोगेको समस्याबारे ६ बुँदे धारणा सार्वजनिक

मेयर बालेन्द्र साहको सय दिन



काठमाडौं । 

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले आफ्नो सय दिने कार्यकालको समीक्षा गर्दै आइतबार ६ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ । छ बुँदे धारणा सय दिनको उपलब्धि भन्दा पनि कार्यभार सम्हालेपछि मेयर साहले भोगेको समस्याको बारेमा सम्बन्धित छ ।

सय दिनमा आफूहरूले आफ्नो कार्यक्षेत्र, कर्तव्य र अधिकारले दिएसम्म सचेत रहेर काम गरेको उल्लेख गर्दै मेयर साहले भन्नुभयो– ‘हाम्रो कामले आम मानिसहरूमा कस्तो सन्देश दियो भन्ने कुराले हामीलाई फरक पार्छ । मानिसमा सकारात्मक ऊर्जा प्राप्त भयो, परिवर्तनको महसुस भयो भने मात्रै हाम्रो कामले नतिजा दिएको मानिन्छ । अन्यथा हामीले यतिका कामहरू ग¥यौं भनेर सूची बनाउँदैमा हामी सफल हुन सक्दैनौँ ।’ उहाँले ६ बुँदेलाई उपलब्धि नभनी केवल सय दिन पुगेको सन्दर्भमा मनमा छोएका सन्दर्भहरू मात्र भएको बताउनुभयो ।

उहाँले फुटपाथबाट मकैको ठेला हटाएको, ई–स्पोर्टको लागि छुट्याइएको १ करोड रुपियाँ, यमबुद्धको शालिक, कार्यक्रममा मध्यपान र मुकुट, फोहोर व्यवस्थापनमा ढिलाइ र नर्भिकलगायतको अनधिकृत संरचना हटाएको सन्दर्भ उल्लेख गर्नुभएको छ । ६ बुँदेमा उल्लेख गरिएको छ– ‘फुटपाथको आधारभूत निर्माण नै पैदलयात्रीहरूका लागि हो । शहरको वास्तविक व्यवस्थापनका लागि फुटपाथ खुल्ला हुन पनि जरुरी हुन्छ । महानगरले पहिले फुटपाथका व्यापारीहरूलाई अन्यत्र राखेर खुल्ला गर्ने कोसिस गरेको थियो । जुन पूर्णरूपमा असफल भएको थियो । दिएको ठाउँ पनि भरिने र पुनः फुटपाथमा नयाँ व्यापारीहरू आइपुग्ने क्रम देश नै समृद्ध नहुन्जेल भइरहने कुरा हो । यो चक्र तोड्न महानगरको कार्यक्षेत्र र क्षमताले भ्याउने जे थियो, त्यही गरियो र गरिँदैछ । यदि हामी महानगरमा नभएर संघीय सरकारमा भइदिएको भए हामीले गर्ने प्रयास फरक हुन सक्थ्यो । योभन्दा अलग किसिमले राष्ट्रिय स्तरमा नै यसको समाधान गर्न खोजिन्थ्यो होला ।’

वास्तविकताको धरातलमा उभिएर समाधान खोज्दा जे गर्नुपथ्र्यो, त्यही गरिएको उल्लेख गर्दै मेयर साहले भन्नुभएको छ– ‘जसको नतिजा बानेश्वर तथा असनलगायतका क्षेत्रहरूमा सकारात्मक रूपमा देखिन थालेको छ ।’ई–स्पोर्टसको विषयमा उहाँले लेख्नुभएको छ– ‘गीत गाउने, नाच्ने जस्ता कलाकारहरूप्रति केही पहिलेसम्म समाज अनुदार नै थियो । त्यसमा पनि महिला कलाकारहरूका लागि त सम्मानभन्दा पनि अप्ठ्यारा बढी थिए । तर, अहिले अवस्था फेरिएको छ ।

यतिसम्म कि, यस्ता विषयसँग सम्बन्धित रियालिटी सोहरूमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । ई–स्पोर्टस पनि खेलका रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दैछ । त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसात गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो । हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौं ।’

उहाँले बजेट छुट्याउनेबित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गएपछि आएका प्रतिक्रियाहरूमा फरक पर्न थालेको मेयर साहको दाबी थियो । ई–स्पोर्टसलाई रकम छुट्याएको विषयमा मेयर साहको विरोध भएको थियो ।त्यस्तै, यमबुद्धको सालिकको विषयमा उहाँको सम्झना यस्तो छ– ‘एउटा कलात्मक पार्कभित्रको सानो अंगका रूपमा यमबुद्धको सालिक बनाउने सन्दर्भ थियो । बुँदा २ मा ई–स्पोर्टसको सन्दर्भजस्तै हिपहप र त्यसको नेपालीकरण नेपहप संगीतमा नयाँ विधा हो ।

यमबुद्ध सो विधाका लागि अत्यन्तै सम्मानित नाम हो । आफू त्यो विधानजिक भएकाले त्यसलाई थप सम्मानित र व्यवस्थित बनाउन भूमिका हुनुपर्छ भनेर त्यो सोच ल्याइएको थियो । बजेटमा पार्क मात्रै भनेर पछि खुसुक्क सालिक बनाइँदा कसैलाई वास्ता नहुन पनि सक्थ्यो । तर, बजेटमा धेरैभन्दा धेरै पारदर्शिता चाहिन्छ भनेर त्यो बेग्लै बुँदामा राखियो । आम मानिसबाट आएका प्रतिक्रियाले हामीले निर्णयमा केही फेरबदल ग¥यौं । यति हुँदाहुँदै पनि समाजको एउटा पुस्ताको ठुलो संख्याले आफ्नो भविष्य र कलामा सम्भावना खोजिरहेको कुरालाई स्थापित गराउन बहस र छलफल गराउन सकेकोमा गौरव बोध नै भएको छ ।’

मेयर साहले फरक सन्दर्भमा सय दिनको सम्झना जारी गरेकोमा कर्मचारी अचम्मित भएका छन् । एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने– ‘हामीले उपलब्धिका विषय भनेका थियौं, उहाँले त सन्दर्भ र सम्झनाको विषय सार्वजनिक गर्नुभयो ।’उहाँले जारी गर्नुभएको ४ नम्बर बुँदामा मद्यपान र मुकुट परिवर्तनको विषय यसरी उल्लेख गर्नुभएको छ– ‘मान्छे एउटै जीवनभित्र फरकफरक भूमिकामा हुन्छ ।

म कार्यालयमा मेयर भएर व्यवस्थित भइरहँदा घरमा छोरोको रूपमा अव्यवस्थित, पतिका रूपमा प्रेमील र साथीहरूसँग जिस्किँदै फुटसलमा रमाइरहेको हुनसक्छु । यी हरेक ठाउँमा एकसँग अर्को भूमिका विपरीत हुनुपर्ने पनि हुन सक्छ । माहोलले पनि फरक पार्न सक्छ । कार्यक्रमको चर्चाका लागि वा माहोललाई रोचक बनाउन म छुट्टै अभिनय गरिरहेको हुन पनि सक्छु । सार्वजनिक व्यक्तित्व भएका कारणले समाजमा आफ्ना कार्यहरूले पार्न सक्ने प्रभावका बारेमा भने सजग रहेको जानकारी गराउँदछु ।’

भिक्षुले लगाउने मुकुट-यापर विजेतालाई लगाइदिएकोमा कडा विरोध भएपछि मेयर साहले मुकुट धर्मगुरुलाई हस्तान्तरण गर्नुभएको थियो ।
फोहोर व्यवस्थापनको विषय चाहिँ सोचेको जस्तो हुबहु हुन नसकेको भन्दै उहाँले उल्लेख गर्नुभएको छ– ‘हामीले सोचेजस्तो नभए पनि झन्डै २ दशकदेखि कुहिएर रहेको समस्यालाई हामीले सतहमा ल्याउन सक्यौं । यसबाट वास्तविक समस्याहरूको पहिचान भएर दिगो समाधानका योजनाहरू बनाउन सक्ने भएका छौं ।’

मेयर साहले अन्तिम बुँदामा नर्भिकलगायतको अनधिकृत संरचना हटाउने सन्दर्भमा भन्नुभएको छ– ‘जुन प्रयोजनका लागि उपयोग गर्ने भनिएको छ, त्यो त्यही रूपमा प्रयोग हुनुपर्छ । हामीले चाहेको यति मात्रै हो । कुनै पनि सर्तमा यो नियम लागु गर्न हामी पछि हट्ने छैनौं ।’उहाँले कतिपय सन्दर्भमा आफूले सम्मानित अदालतका सन्दर्भमा बोलेको, सम्बन्धित व्यक्तिसामु चर्को स्वरमा आक्रोश पोखेको स्वीकार्दै भन्नुभएको छ– ‘आम मानिसको आवाज सम्बन्धित ठाउँसम्म पु¥याउने सेतुका रूपमा मात्रै हामीले ती कार्यहरू गरेका हौं । सायद जनप्रतिनिधि हुनुको औचित्य पनि त्यही हो ।’ सर्वोच्च अदालतको अपहेलनामा उहाँलाई आफैं उपस्थित हुन आदेश दिएको छ ।

मेयर साहले आफूहरू सय दिनको दौडमा नभई ५ वर्षका लागि योजना बनाउन तल्लीन रहेको बताउँदै भन्नुभयो– ‘हामी अझै केही समय गाली र आलोचना सहन तयार छौं तर हतार गरेर महानगरका समस्याहरूको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौं । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौं ।

’कामपाको प्रशासन विभागले जेठ १६ गते पद बहाली भएको दिनदेखि भदौ १६ गतेसम्मको भौतिक, आर्थिक र सामाजिक सबै किसिमका उपलब्धि विवरण पठाउन कामपाका विभाग, सचिवालय, आयोग, इकाइ र वडा कार्यालयलाई आग्रह गरेको थियो । आग्रहअनुरूप कामपालाई विभाग, सचिवालय, आयोग, इकाइ र वडा कार्यालयबाट सय दिनको उपलब्धि प्राप्त भए पनि मेयर साहले सय दिने कार्यकालमा आफ्नो भोगाइ र थोरै उपलब्धिलाई सम्झना र समीक्षाको रूपमा प्रस्तुत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्