‘रञ्जन कोइरालाको मुद्दामा केही गल्ती गरेको महसुस भयो’



काठमाडौं  ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले रञ्जन कोइरालाको मुद्दामा विवेक प्रयोग गर्ने क्रममा आफूले केही गल्ती गरेको महसुुस भएको बताउनुभएको छ ।

संसद्को महाअभियोग सिफारिस समितिमा बयान दिने क्रममा तेस्रो दिन आइतबार उहाँले त्यस मुद्दामा विवेक प्रयोग गर्दा भने गल्ती भएको महसुस भएकोले प्रायश्चित गरेको बताउनुभएको हो । राणाको जवाफ उद्धृत गर्दै सांसद मीनबहादुर विश्वकर्माले भन्नुभयो– ‘मैले रञ्जनको परिवारको बयान सुनेपछि त्यसबाट प्रभावित भएर कैद घटाउने निर्णय गरेको हुँ । मैले विवेक प्रयोग गरें । यदि त्यही मुद्दाका कारणले महाअभियोग लाग्ने हो भने मेरो भन्नु केही छैन ।’

श्रीमतीको निर्ममतापूर्वक हत्या गरेको अभियोग लागेका कोइरालालाई तोकिएको २० वर्ष सजायलाई घटाएर जबराले ८ वर्षको कैद सजाय तोक्नुभएको थियो ।रञ्जन कोइरालालाई कम सजाय गरियो भन्नु शतप्रतिशत गलत भएको बताउँदै जबराले भन्नुभयो– ‘जन्मकैद मुलुकी व्यवस्थाअनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो ।

पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’ आइतबार समिति सदस्यहरूले जबरासँग एक घण्टामा पाँच वटा प्रश्न सोधेका थिए । समितिले राणालाई सोध्ने भनेर ४३ वटा प्रश्न तयार पारेको छ । बाँकी प्रश्नहरूबारे बयान लिन राणालाई भदौ २६ गते फेरि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्