‘शैक्षिक तथा मसलन्द सामग्रीमा ५० प्रतिशत मूल्यवृद्धि’

मूल्य नियन्त्रणमा सरकार उदासिन : उद्योगी



काभ्रे । मसलन्द तथा शैक्षिक सामाग्रीमा ५० प्रतिशत मुल्य बृद्धी भएको छ । मुल्य वृद्धीलाई समायोजन गर्न नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले उद्योगीहरुलाई औपचारिक निर्णय मार्फत अनुुरोध गरेको छ । धुलिखेलमा सम्पन्न संघको पाँचौ पूर्ण बैठकले धुलिखेल घोषणापत्र जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।

‘शैक्षिक सामाग्री ताथ मसलन्द सामाग्रीहरु उत्पादनमा हामी आत्मनिर्भर छौं’–अध्यक्ष हरिप्रसाद भण्डारीले भन्नुभयो–‘सरकारले तयारी तथा कच्चा पदार्थलाई समान भन्सार कायम गरेकाले हाम्रा उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् । तयारी बस्तु र कच्चा पदार्थ बीचको भन्सार दरमा १० प्रतिशत फरक गर्नु पर्छ ।’ सरकारको दोहोरो नीतिका कारण आत्मनिर्भर भएका उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन् ।

शैक्षिक तथा मसलन्दमा मुल्य वृद्धी हुँदा देशभरका ८६ लाख विद्यार्थीहरु प्रभावित बनेका छन् । विद्यार्थीहरुले प्रयोग गर्ने कापी देखि इन्डेक्स फाईल, डायरी लगायतका सामाग्रीहरुमा चर्काे मुल्य बृद्धी भएको छ । २० रुपैयामा ५२ पेज आउने कापी अब ३२ पेजमा झरेको छ भने गुणस्तरमा पनि प्रश्न उठ्न थालेको छ ।

ब्यवसायीहरु संकटमा परेर पनि उपभोक्ताहरुलाई चर्काे मुल्य नलिन गरेको प्रयासमा सरकार उदासिन बनेको अध्यक्ष भण्डारीले बताउनु भयो । सरकार आफैले बजेट बक्तब्यमा तयारी सामाग्री र कच्चा पदार्थ आयातमा भन्सार दर फरक हुने घोषणा गरेको भए पनि कार्यान्वयन नगरेको बरिष्ठ उपाध्यक्ष निमनाथ फुँयालले बताउनु भयो ।

उद्योगीहरुले बैकिङ्ग क्षेत्रमा तरलताको अभाव, चर्काे ब्याजदरले बजारमा आर्थिक मन्दीको अवस्था सृजना भएकाले नेपाल राष्ट्र बैकद्वारा जारी चालुपुँजी तथा कर्जा सम्वन्धि निर्देशिकाले ब्यवसायीहरुलाई चिन्तित बनाएको अध्यक्ष भण्डारीले बताउनु भयो ।

चालु पुँजी सम्वन्धि नयाँ नीतिले तरलता र ब्याजदरमा प्रभाव पर्न गई उद्योग ब्यवसायमा नकारात्मक असर परेकाले उद्योग मैत्री नीतिका लागि सरकारसँग संघले माग गरेको छ । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योगमा २० अर्बको लगानी छ । करिव ४ सय उद्योगहरुमा २५ हजार भन्दा धेरै रोजगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्