कामपाले सिंहसत्तलको भाडा २ करोड तिर्न बाँकी



काठमाडौं । 

काठमाडौं महानगरपालिकाले हनुमानढोका दरबार सिंहसत्तलको भाडाबापत २ करोड रुपियाँ तिर्न बाँकी रहेको छ । रकम तिर्न ताकेता गर्दै गुठी संस्थानले कामपालाई पत्र पठाएको छ । गुठी संस्थान काठमाडौंका प्रमुख आनन्द कर्माचार्यले लामो समयदेखिको बक्यौता तिर्न ताकेता गर्दै कामपालाई पत्र पठाएको हो । संस्थानले पछिल्लो पत्र साउन २० गते पठाएको हो ।

काठमाडौं प्रमुख कर्माचार्यले रकम ताकेता गरेको विषयमा केन्द्रीय कार्यालयलाई जानकारी गराएको बताउनुभयो । प्रमुख कर्माचार्यले उक्त रकम प्राप्त भए इन्द्रजात्रा व्यवस्थापन अक्षय कोषमा जम्मा गर्न सकिने बताउनुभयो । अक्षय कोषमा जम्मा गर्नुपर्ने दायित्वको विषयमा गुठी संस्थान काठमाडौं कार्यालय र कामपाबीच छलफल हुँदा प्रमुख कर्माचार्यले कामपालाई रकम तिर्न आग्रह गर्नुभएको थियो ।

कामपाले सिंहसत्तलको स्वामित्व लिएबापत मासिक ४ लाख ८० हजार रुपियाँ भाडा तिर्न २०७५ मंसिर २८ मा सम्झौता गरेको थियो । सम्झौतापछि कामपाले भाडाबापत हालसम्म ३८ लाख ८८ हजार रुपियाँ भुक्तानी गरेको छ । हालसम्म २ करोड ३५ लाख बक्यौतामध्ये १ करोड ९६ लाख रुपियाँ तिर्न बाँकी रहेको संस्थानका काठमाडौं कार्यालय प्रमुख कर्माचार्यले बताउनुभयो ।

‘मेयर बालेन्द्र साहसँग सो विषयमा कुराकानी भएको थियो । बक्यौता भुक्तानी गर्ने विषयमा मेयर साह सकारात्मक हुनुहुन्छ, सायद चाँडै रकम पाउने आशामा छाैं’ –कर्माचार्यको भनाइ थियो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा कामपाले इन्द्रजात्रा व्यवस्थापन गर्न ५ करोड रुपियाँको अक्षयकोष स्थापना गरेको थियो । करिब ३ वर्षअघि भएको निर्णय कार्यान्वयन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिले कामपालाई पटकपटक आग्रह गरेको छ ।

अक्षयकोषमा केन्द्र सरकारले २ करोड, वागमती प्रदेश सरकारले १ करोड, काठमाडौं महानगरले १ करोड ५० लाख र गुठी संस्थानले ५० लाख रुपियाँ दायित्व तोकेको थियो । इन्द्रजात्रा सम्पन्न गर्न आर्थिक अभाव हुँदै गएको र कोष स्थापना गरे सहजै रूपमा पर्व सम्पन्न गर्न सकिने भन्दै तत्काल कोषको कार्यविधि तयार गर्न आग्रह गरेको थियो । सोही विषयमा भएको छलफलमा गुठी संस्थाले विमति जनाएको थियो । कार्यविधिअनुसार रकम खर्च गर्न पुनः छलफल आवश्यक रहेको कर्माचार्यको भनाइ छ ।

सबैले रकम दिने निश्चित गर्ने विषयमा छलफल गर्ने क्रममा गुठी संस्थाले तत्काल कार्यविधि बनाउन आग्रह गरेको थियो । सरकारले ढिलो गरी रकम निकासा दिने गरेको कारण इन्द्रजात्रा मनाउन समस्या हुने गरेको जात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘अक्षयकोष स्थापना भए सोही रकमको ब्याजबाट जात्रा व्यवस्थापन गर्न सहज हुने थियो, यसरी हरेक वर्ष जात्रा मनाउन रकमको अभाव भएको विषयमा बोल्ने अवस्था आउने थिएन ।’

‘एउटै विषयमा सधैं माग गरिरहनुभन्दा समयमै सबै रकम व्यवस्थापन गरे कुनै समस्या पर्दैन’, हरेक वर्ष जात्राका लागि रकम पुगेन भन्दै कराउँदै हिँड्नु गलत परम्परा भएको शाक्यको भनाइ छ । तर, गुठी संस्थान काठमाडौंले जात्रा सञ्चालन र व्यवस्थापन गर्न आवश्यक बजेट उपलब्ध गराउने गरेको जनाएको छ । ‘हामीले लिङ्गोका लागि करिब ३ लाख दिएका छौं, अन्य सबै खर्च गर्न करिब २४ लाख रुपियाँ खर्च हुने अपेक्षा राखेका छौं’ –गुठी संस्थान काठमाडौं प्रमुख कर्माचार्यको भनाइ थियो ।

राष्ट्रिय पर्व सम्पन्न गर्न समयमै रकम उपलब्ध गराउने र यो वर्ष पनि कुनै समस्या हुन नदिने कर्माचार्यको भनाइ थियो । सरकारले इन्द्रजात्रा मनाउन काठमाडौं महानगरपालिकामार्फत १३ लाख ९२ हजार दिने गरेको छ । कामपाले यो वर्ष इन्द्रजात्रा अवलोकन गर्न २५ विदेशी पाहुनालाई निम्तो दिएको छ । कामपाले यस वर्षको इन्द्रजात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्