‘उसु महासंघको पछिल्लो चार वर्ष स्वर्ण युग’: अध्यक्ष तामाङ



२०४६ सालदेखि खेलकुदमा सक्रिय भएका वीरबहादुर तामाङ खेलाडी, प्रशिक्षक, निर्णायक हुँदै नेपाल उसु महासंघको नेतृत्व तहमा पुगेका व्यक्ति हुन् । नेपाली खेलकुदको विकास र विस्तारमा लामो समय खर्चिएका तामाङसँग नेपाल उसु महासंघले पछिल्लो चार वर्षको अवधिमा गरेका कामकारवाही र भावी योजनाका बारेमा केन्द्रित रहेर नेपाल समाचारपत्रका पत्रकार कविरस शर्माले गरेको कुराकानीको सम्पादित अंश :

उसु महासंघमा तपाईको चार वर्षे कार्यकाल सकिन लागेको छ । सो अवधिलाई तपाईंले चाहिँ कसरी हेर्नुभएको छ ?

मेरो नेतृत्वको नेपाल उसु महासंघको पछिल्लो चार वर्षको अवधि साँच्चिकै भन्नुपर्दा स्वर्ण युग नै भएको मैले महसुस गरेको छु । कोरोनाका कारण दुई वर्ष मात्रै हामीले सोचेअनुरूप काम गर्न सकेनौं । तर, हामीले अरु समयमा जे जति काम ग¥यौं, वास्तवमा ती स्वर्ण युग नै छन् ।

 स्वर्ण युग नै भन्न मिल्नेगरी के–के काम गर्नुभयो र ?

मैले उसु महासंघको नेतृत्व लिएपछि हामीले उसुको विकास र विस्तारका लागि थुप्रै काम ग¥यौं । पहिलेदेखि हुन नसकेका कार्यक्रमहरूलाई पनि निरन्तरता दियौं । यसैगरी, दक्षिण एसियाली खेलकुद (साग), दक्षिण एसियाली रेफ्री सेमिनार, प्रशिक्षक प्रशिक्षण कार्यक्रम, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका सहभागिता लगायतका काम हामीले सम्पन्न गर्न सक्यौं । यसैगरी, १३औं सागमा पनि हामीले सोचेभन्दा उत्कृष्ट नतिजा दिलाउन सफल भयौं । दक्षिण एसियाली खेलकुदकै इतिहासमा उसुले सर्वाधिक पाँच स्वर्ण जित्न सफल भयो । यसैगरी, वल्र्ड च्याम्पियनसिपमा पनि उत्कृष्ट नतिजा ल्याउन सफल भयौं । हाम्रा खेलाडीले विश्व वरीयतामा नवौं स्थानमा आउन सफल भयो । यसैगरी, दक्षिण एसियालीस्तरीय रेफ्री तथा निर्णायक सेमिनार पनि आयोजना गर्न सफल भयौं । यी सबै कारणले मेरो नेतृत्वको चार वर्षको कार्यकाल स्वर्ण युग नै सावित भयो ।

तर, पछिल्लो समयमा उसु सुस्ताएको जस्तो देखिएको छ । कुनै गतिविधि हुन सकेको छैन नि ?

बाहिर हेर्दा सुस्ताएको देखिएको मात्रै हो । हामीले उसुको विकासका लागि थुप्रै कार्यक्रम सञ्चालन गरिरहेका छौं । थुप्रै कार्यक्रमको योजना पनि बनाएका छौं । कोरोना कालमा केही गतिविधि कम भएको होला तर, हामीले आफ्नोतर्फबाट गर्नुपर्ने कामहरू भने निरन्तर रूपमा गर्दै आएका छौं । कोरोनाको समयमा समस्यामा परेका खेलाडीलाई राहत वितरण, यही समयमा ज्यान गुमाएका खेलाडीलाई राहत वितरण, संघको साधारणसभा, अन्तर्राष्ट्रिय स्तरमा गर्नुपर्ने सम्बन्ध विस्तारलगायतका काम ग¥यौं । कोरोना कम भएपछि हामीले थुप्रै योजनाहरू बनाएका छौं । जनजीवन सामान्य भएपछि ती कार्यक्रमहरू पनि विस्तारै पूरा गर्छाैं ।

चार वर्षको अवधिमा उसु महासंघले गरेका महत्वपूर्ण कार्यक्रमहरू के–के हुन् ?

कोरोनाअघि हामीले थुप्रै कार्यक्रम गरेका छौं । दक्षिण एसियाली उसु महासंघको कंग्रेस नेपालमै आयोजना गरेका थियौं । त्यस्तै, १३औं साग पनि सफलतापूर्वक सम्पन्न गर्न सक्यौं । वल्र्ड उसु च्याम्पियनसिपमा हाम्रा खेलाडी उत्कृष्ट नौमा पर्न सफल भए । हामीले फ्रान्स, फिलिपिन्स, जर्मनी, हङकङलगायतका देशलाई उछिन्न सफल भयौं ।

अन्तर्राष्ट्रिय स्तरमा हाम्रो सम्बन्ध बिग्रियो भन्ने हल्ला फिंजाइएको छ । त्यो बिल्कुलै गलत हो । अन्तर्राष्ट्रिय निकायसँग हामीले सुमधुर सम्बन्ध स्थापित गर्न सफल भएका छौं । हामीले वार्षिकरूपमा नवीकरण गरिरहेका छौं । गत वर्ष अन्तर्राष्ट्रिय उसु दिवस नेपालमा पनि मनाएका थियौं । यससँगै थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रा खेलाडीले उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।

 तर, पछिल्लो समय तपाइंर्घहरूले केही काम नै गर्नुभएन भन्ने आरोप पनि लाग्ने गरेको छ, यसमा के भन्नुहुन्छ ?

हामीले जति काम गरे पनि केही व्यक्तिलाई मन पर्दैन । उनीहरूले केही न केही खोट लगाइरहेकै हुन्छन् । उसु महासंघले काम गरेन भनेर तिनै व्यक्तिले आरोप लगाइरहेका छन् ।

० उसु महासंघभित्रको विवादका कारण पनि काम हुन सकेन भन्ने छ । यस विषयमा के भन्नुहुन्छ ?

उसु महासंघभित्र कुनै पनि विवाद छैन । हामीले जेजति काम गरेका छौं, त्यो सबै विवादरहित रूपमा सबैको सहमति अनुरूप नै गरेका छौं । यो हल्ला मात्रै हो ।

० संघबाट महासंघ बनाउँदा पनि गैरकानुनी रूपमा बनाइयो भनेर महासंघ खारेज गर्नुपर्छ भन्ने कुरा पनि सुनिएको छ नि ?

उसुको विरोध गर्नेहरूले यो अफवाह फैलाएका हुन् । संघबाट महासंघ बनाउँदा विधान संशोधन गरेका थियौं । त्यसलाई नेपाली खेलकुदको नियमायक निकाय राष्ट्रिय खेलकुद परिषद्ले मान्यता दिइसकेको छ । विश्व उसु महासंघ र एसियाली उसु महासंघले पनि हामीलाई समर्थन गरिसकेको छ । त्यसैले यो विरोधका लागि विरोध गरिएको मात्रै हो । कानुनी रूपमा हामी सही छौं ।

 महासंघ अवैधानिक छ भन्ने कुरा हल्ला मात्रै हो त ?

यो फगत हल्ला मात्रै हो । हामीले गरेको कामलाई जस नदिएको मात्रै हो ।

महासंघले आगामी दिनका लागि के–कस्तो योजनाहरू अघि सारेको छ ?

महासंघको चार वर्षे कार्यकाल सकिन लागेको छ । त्यसैले, सबैभन्दा पहिले हामी साधारणसभा आयोजना गर्दैछौं । यससँगै हरेक दुई÷दुई वर्षमा हुँदै आएको निर्णायक सेमिनार कोरोनाका कारण रोकिएको थियो, त्यसलाई यही भदौमा आयोजना गर्दैछौं । यसैगरी हरेक दुई÷दुई वर्षमा हुने उत्तरोन्ति (डिप्लोमा) कोर्स पनि सञ्चालन गर्दैछौं । यसैगरी, खेलाडीलाई उत्साहित बनाउन अवार्ड कार्यक्रम पनि तत्काल गर्दैछौं ।

एसियाली खेलकुदका लागि तपाईहरूको तयारी चाहिँ कस्तो छ ?

एसियाली खेलकुदका लागि हामीले भिन्न किसिमले तयारी गरिरहेका छौं । एसियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवमा पदक जित्नुपर्छ र उसुले नै नेपाललाई चिनाउनुपर्छ भनेर विशेष प्रशिक्षण सञ्चालन गरिरहेका छौं । यसका लागि महासंघ, प्राविधिक, खेलाडी तीनै तहसँग समन्वय गरेर कार्यक्रम सञ्चालन गरिरहेका छौं । राष्ट्रिय खेलकुद परिषद्ले सञ्चालन गरेको विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न भए पनि हामीले निरन्तररूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौं ।

नजिकिसकेको नवौं राष्ट्रिय खेलकुदका लागि महासंघले के गरिरहेको छ ?

नवौं राष्ट्रिय खेलकुद राष्ट्रको महत्वपूर्ण प्रतियोगिता हो र उसु महासंघले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । दक्षिण एसियाली खेलकुदमा हासिल गरेको उपलब्धिलाई जोगाइराख्न पनि राष्ट्रिय पर्वका रूपमा रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन सिंगो महासंघ लागिपर्छ ।

महासंघको चार वर्षे कार्यकाल सम्पन्न हुन लागेको छ । अब तपाईं उसु महासंघको नेतृत्वमै रहनुहुन्छ कि के गर्नुहुन्छ ?

यस बारेमा अहिले नै केही योजना बनाइसकेको छैन । महासंघको अधिवेशनले प्रजातान्त्रिक किसिमले नेतृत्व चयन गर्नेछ । महासंघमा मेरो भूमिका के हुन्छ भन्ने त्यही बेला मात्र थाहा हुन्छ ।

 तपाईं खेलाडी हुँदै महासंघको नेतृत्व गरिरहनुभएको छ । तपाईंले खेलाडी हुँदा देखेको सपनाअनुसार अहिले काम गर्न सक्नुभएको छ त ?

मैले मात्र होइन, सिंगो उसु महासंघले खेलाडीको मनोभावनाअनुरूप नै काम गर्दै आएको छ । जुन बेला म खेलाडी थिएँ । त्यतिबेला विभिन्न कारणले ती काम हुन सकेन होला । तर, म महासंघको नेतृत्वमा आएपछि आफूले खेलाडीका रूपमा त्यतिबेला सोचेका कामहरूलाई अगाडि बढाएको छु । महासंघका अरु साथीहरूले पनि मलाई सहयोग गरिराख्नु भएको छ ।

चार वर्षे कार्यकालमा चाहेर पनि गर्न नसकेका कामहरू केही छन् ?

कोरोना महामारीका कारण हामीले चाहेर कतिपय काम गर्न सकेनौं । खेलाडीलाई सुरक्षित बनाउन बीमा योजना, भलाइ कोष र उसु एकेडेमी निर्माणका काम चाहँदा चाहँदै पनि अगाडि बढाउन सकिएन । अबको मुख्य योजना यिनै हुन् । एकेडेमीका लागि जग्गा खोज्ने काम भइसकेको छ । उसु महासंघको नाममा त्यो जग्गा आएपछि एकेडेमी निर्माणको काम सुरु हुनेछ ।

 पछिल्लो समय उसुबाट खेलाडीहरू पलायन भइरहेका छन् । यसलाई रोक्न महासंघले काम गर्न नसकेको हो ?

अहिलेका खेलाडीलाई तुरुन्तै रिजल्ट चाहिन्छ । टेक्निकल रूपमा अरु खेलभन्दा उसु खेल निकै गाह्रो छ । त्यही कारण उसुभन्दा अरु खेल खेलेमा राम्रा गर्न सकिन्छ भनेर गएका हुन् । लामो समयदेखि उसुमा लागेका कोही पनि खेलाडीले उसु छाडेका छैनन् ।

० खेलाडीको वृत्तिविकासका लागि महासंघले के–के काम गरेको छ ?

हामीले खेलाडीका लागि बिमा योजना ल्याउन लागेका छौं । त्यस्तै, कुनै खेलाडीलाई सारोगाह्रो परेमा तत्काल सहयोग गर्न सकियोस् भनेर खेलाडी भलाइ योजना पनि ल्याउन लागेका छौं । यससँगै खेलाडीको रोजगारीका लागि पनि हामीले काम गरिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्