ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं
ग्रिनल्यान्ड, काष्ठमण्डप र एन्जल्स हार्टले नवौं ग्रिन्फिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ग्रिनल्यान्ड सिनियर ब्वाइज, काष्ठमण्ड सिनियर गल्र्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने ।

बाफलस्थित आयोजक ग्रिनफिल्डको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ग्रिनल्यान्डले ब्राइट होराइजनलाई ५४–४३ ले पराजित ग-यो । सिनियर गल्र्सको उपाधि भिडन्तमा काष्ठमण्डपले संस्कृतिलाई १९–१७ ले हरायो । जुनियर ब्वाइज फाइनलमा एन्जल्स हार्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २३–१५ ले पाखा लगायो ।

सिनियर ब्वाइजमा ग्रिनल्यान्डका दिवस भुजेल, सिनियर गल्र्समा काष्ठमण्डपकी राजभी श्रेष्ठ र जुनियर ब्वाइजमा एन्जल्स हार्टका स्पर्श अधिकारी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा न्यु जेनिथ, सिनियर गल्र्समा महामञ्जुश्री तथा जुनियर ब्वाइजमा ओरेकल रे एकेडेमी अनुशासित टिम चुनिए ।

विजेतालाई नागर्जुन नगरपालिका वडा ४ का अध्यक्ष लक्ष्मी शर्मा, ग्रिनफिल्ड एडुकेसन फाउन्डेसनका अध्यक्ष खडकबहादुर बस्नेतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्