नागरिकका पीडा



सरकारी कार्यालयमध्येमा नागरिकहरुको धेरै भीडभाड हुने ठाउँ यातायात कार्यालय र मालपोत कार्यालय हो । यी दुई सरकारी कार्यालयमा सबैभन्दा बढी नागरिकहरुको चाप रहेको हुन्छ । एक वर्षअघिसम्म मालपोत कार्यालयमा जग्गा खरिदबिक्री गर्नेहरुको लाइन धेरै हुने भएकाले त्यहाँ खुट्टा राख्ने ठाउँ पनि हुदैनथ्यो । यातायात कार्यालयमा पनि सवारीसाधन खरिदबिक्री गर्नेहरुको त्यस्तै भीड हुन्थ्यो ।

अहिले एक वर्षको बीचमा त्यसको ठ्याकै उल्टो भएको छ । अहिले मालपोत कार्यालय र यातायात कार्यालय सुनसान देखिन्छ । मानिसहरु अहिले घरजग्गा बिक्री गर्नका लागि विभिन्न ठाउँ धाइरहेका हुन्छन् तर किन्ने मानिसहरु भने कतै पाउँदैनन् । त्यस्तै यता निजी प्लेट, भाडाका गाडीहरुको पनि खरिदबिक्री ठ्याप्पै बन्द भएको छ । मालपोतमा अहिले हे-यो भने सुनसान देखिन्छ, घरजग्गा खरिदबिक्री र नामसारी काम ठप्प भइसकेको छ ।

मालपोत कार्यालयका सरकारी कर्मचारी बताउँछन्, ६ महिनाअघिसम्म घरजग्गा किनबेच हुने गर्दथ्यो तर अहिले त घरजग्गाको किनबेच नै हुँदैन । कहिलेकाहीँ दिनमा १ देखि २ वटासम्म नामसारी हुन्छ भने कहिले त त्यो पनि हुँदैन । यता यातायात कार्यालयका कर्मचारीहरु पनि तीन महिनाअघिसम्म सवारीसाधन नामसारी गर्ने मानिसहरुको निकै भीड हुन्थ्यो तर अहिले दिनमा १ देखि २ वटा हुन पनि गाह्रो भइसक्यो भनेर बताउँछन् ।

त्यस्तै मालपोत तथा यातायात कार्यालयमा लेखनदास गर्नेहरु एक वर्षअघि लेखनदास गरेर दिनमा दश हजारदेखि लाखसम्म कमाउँथे । तर अहिले काम नपाएर यिनीहरुसँग चिया खानेसमेत पैसा हुँदैन । यसरी घरजग्गा र सवारीसाधनको मूल्य घट्नु वा मन्दी आउनुको कारण व्यक्तिसँग पैसा नहुनु र बैंक, फाइनान्स र सहकारीहरुले कर्जा दिन नसक्नु हो ।

पछिल्लो समय बैंक, फाइनान्स र सहकारीहरुले कर्जाको त कुरै टाढा, पैसा राख्नेहरुको रकमसमेत दिन नसकेर भगाभाग गरिरहेका छन् । दुई वर्षअघि मानिसहरुले घरजग्गा, गाडी र शेयर सबै धितो राखेर बैंक, फाइनान्स र सहकारीबाट कर्जा लिए । दुई वर्षअघि यी वस्तुहरुको मूल्य धेरै नै बढेको थियो । मानिसहरुले त्यस बेला नाफा हुन्छ भनेर ऋण लिएर घरजग्गा, गाडी र शेयर किने । तर अहिले ती वस्तुहरुको मूल्य घटेर रुनु कि हाँस्नु अवस्थामा पुगेका छन् ।

आनाको ५० लाखमा किनेको घडेरी अहिले सस्तोमा वा आधा भाउमा बेच्छु भन्दा पनि बिक्री हुँदैन । त्यस्तै यता एक वर्षअघि २० लाखमा किनेको दुई वा चार पाङ्ग्रा सवारीसाधन अहिले ५ लाखमा बेच्छु भन्दा पनि बिक्री हुने गर्दैन ।यसरी घरजग्गा किन्ने मानिसहरु हराउनुमा पनि कारण रहेको छ । मानिसहरुले पहिला नाफाको लोभमा ऋण लिएर घरजग्गा, गाडी र शेयरमा लगानी गरे तर अहिले भने ती वस्तुको बिक्री पनि हुँदैन र बैंक, फाइनान्स र सहकारीहरुले कर्जा पनि दिँदैनन् ।

जो व्यक्तिले पहिला घरजग्गा, शेयर, गाडी आदि धितो राखेर कर्जा लिए अहिले उनीहरु हाम्रो ती वस्तुहरु नै लिलाम गर्नुस् भनेर हात उठाउँछन् ।२०७८÷४÷२१ गते एकै दिन २२ अर्बको शेयर किनबेच भएको थियो । अहिले शेयरको किनबेच घटेर दिनमा २ अर्ब पनि हुँदैन । २५ सयमा किनेको एक वर्षअघि एक कित्ता शेयर अहिले ५ सयमा बेच्छु भन्दा पनि बिक्री हुँदैन । यी वस्तुहरुमा मन्दी आउँदा अहिले वित्तीय संस्था भाग्दै, जनता डुब्दै छन् ।

बैंक, फाइनान्स तथा सहकारीहरुले भने नाफाको लोभमा यी सबै वस्तुहरुमा नै लगानी रहेको पाइन्छ । यसरी धितोहरुको मूल्य घटेपछि बैंकबाट ऋण लिने ऋणीहरुको भागाभाग भइरहेको छ । बजारमा घरजग्गा, गाडी र शेयरको मूल्य अहिले कबाडीको भन्दा पनि कम रहेको छ । मूल्य बढाउने दलालीहरु पनि डुबेर भागाभाग गरिरहेका छन् । अहिले शेयर, घरजग्गा र गाडीको मूल्य बढाउने दलालीहरु ऋण तिर्न नसकेर भाग्ने प्रक्रियामा रहेका छन् ।

कतिले त आफ्नो ज्यान बचाउनका लागि नेपाल नै छोडिसकेका छन् भने कति छोड्ने तयारीमा छन् । बैंक, फाइनान्स तथा सहकारीहरुमा घरजग्गा, गाडी र शेयर धितो राख्ने मानिसहरु भागेपछि अब ती वस्तुहरु यी वित्तीय संस्थाहरुले बेच्छु भन्दा पनि कसैले खरिद गर्दैन । अर्थविद्हरुका अनुसार घरजग्गा, गाडी र शेयरको मूल्य अझै पनि घट्छ र देशमा ठूलो आर्थिक संकट आउँछ ।

विज्ञहरुका अनुसार पनि यी वस्तुहरुको मूल्य अझै १५ वर्षसम्म बढ्ने छैन । यता जनता पनि नेपालको अर्थतन्त्र श्रीलंकाभन्दा नाजुक हुन्छ भन्छन् । नागरिकहरु बैंक, फाइनान्स र सहकारी डुब्ने भयो भन्दै बिहानदेखि बेलुकासम्म लाइन बसेर पैसा निकाल्न थालिरहेका छन् ।

नागरिकहरु प्रत्येक दिन आफ्नो पुँजी निकाल्न बैंक, फाइनान्स र सहकारी धाउने गर्छन् ।बैंक, फाइनान्स र सहकारीबाट दिनहुँ अर्बौं निक्षेप नागरिकहरुले निकालिरहेका छन् । अहिले बैंक, फाइनान्स र सहकारीमा पैसा राख्ने कोही छैन भने निकाल्ने मानिस गणना गरेर साध्य छैन । सहकारीहरु पनि डुबेर दिनहुँ भागिरहेका छन् । पछिल्लो समय डुब्ने डरले गर्दा नागरिकहरुले बैक, फाइनान्स र सहकारीमा पैसा राख्न छोडिसकेका छन् ।

अब वित्तीय संस्थाहरुले दिएको कर्जा लिन पनि सक्दैँनन् र धितो बेच्दा पनि यिनीहरुलाई घाटैघाटा हुने छ । त्यसकारण वित्तीय संस्थाहरु डुब्छन् भनेर जनताको कानमा पुगेपछि पैसा निकाल्ने मानिसहरुको संख्या ह्वात्तै बढिरहेको छ । बैंकहरुले ब्याज बढाउँछौं भन्दा पनि नागरिकहरु आफ्नो पुँजी राख्न तयार छैनन् । ब्याजको लोभमा सावाँ नै डुब्छ भनेर नागरिकहरु सचेत भएका छन् ।

बैंक खोल्नेबित्तिकै पैसा निकाल्नेहरुको लाइन लाग्छ । यता कति सहकारीहरुले डिपोजिटरहरुको पैसा फिर्ता गर्न नसकेर सहकारीका सञ्चालक तथा अध्यक्षहरु भागिसकेका छन् । सहकारीमा मानिसको खातामा २० लाख छ भने पैसा निकाल्न जाँदा ५ हजार मात्रै लैजानु भन्ने गर्छन् ।

सहकारी, बैंकहरुमा बजारबाट व्यापारी तथा नागरिकहरुले पैसा राख्न छोडिसकेका छन् । यस्तो बेलामा पनि कसरी घरजग्गा, शेयर र गाडीको मूल्य बढ्ला ? के उँभो गएको खोला फेरि पनि फर्कन्छ ? अहिले नै मानिसहरुलाई बैंक, फाइनान्स र सहकारीबाट लिएको ऋण तिर्न नसकेर मर्नु कि बाँच्नु, ओकल्नु कि निल्नु भइरहेको छ । सहकारीमा रहेको ८ अर्बभन्दा बढी रकम जनताको डुबिरहेको छ । यता नागरिकको घरमा रुवाबासी चलिरहेको छ । जनताले पसिना बगाएर कमाएको पेसा लिएर सहकारीहरु भागिरहेका छन् ।

सहकारी संस्थाका सञ्चालकहरु नागरिकको पैसा वा बचत लिएर मोजमस्ती गरिएका छन् । सहकारी संस्था डुब्नुमा सहकारी आफ्नै हात रहेको छ । यिनीहरुले ९० प्रतिशतभन्दा बढी लगानी घरजग्गा, गाडी र शेयरमा गरेर नागरिकको जीवनभरको बचत डुबाएका छन् । सहकारी संस्थाहरुले यस्तो गर्नुमा पनि राजनीतिक पार्टीको सहयोग रहेको देखिन्छ । होइन भने यत्रो सहकारीहरु नागरिकको पैसा लिएर भाग्दा कसैले किन आवाज उठाउँदैन ? किन कारबाहीको दायरामा ल्याउँदैन ?

नागरिकले अहिले ब्याज चाहिन्न बरु डिपोजिट मात्र दिनुभन्दा पनि सहकारी र बैंकहरुले नागरिकको पैसा फिर्ता गर्न सकेका छैनन् । अबको एक वर्षभित्रमा सबै सहकारीहरु भाग्छन् वा बन्द हुन्छ भनेर अर्थविद्हरु बताउँछन् । मानिसहरु अहिले पनि घरजग्गा, गाडी र शेयरको मूल्य घट्छ र किन्छु भनेर पर्खेर बसिरहेका छन् ।

के अब फेरि पनि यी वस्तुमा लगानी गर्दा राम्रो हुन्छ र ? अर्थ मन्त्रालय कानमा तेल हालेर सुतिरहेको छ । सहकारीहरुले यसरी नागरिकको पैसा डुबाएर भाग्दा पनि भूमि सुधार, सहकारी तथा गरिबी निवारण मन्त्रीले के हेरिरहेको हो ? जनता रुँदै र मन्त्री निदाउँदै । यदि नागरिकको पुँजी बचाउन सकिँदैन भने मन्त्री भएको के काम र ?

– अस्मिता शर्मा ।

प्रतिक्रिया दिनुहोस्