एक्लै चुनाव लड्न नसक्ने गठबन्धन गर्छन् : अध्यक्ष ओली



भद्रपुर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्ला–एक्लै चुनाव लड्ने हिम्मत गर्न नसक्नेहरूले साँठगाँठ गरिरहेको बताउँनु भएको छ ।

दक्षिणी झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा एक्ला एक्लै लड्न नसक्ने भएर गठबन्धन गरेर एमालेसँग लड्न खोज्दै गरेको उल्लेख गर्नुभयो ।

गठबन्धनमा ८÷१० वटा दल पुगेको हुनसक्ने बताउँदै उहाँले अरू मान्छे जुटाउँदा पनि एमालेलाई केही फरक नपर्ने बताउँनुभयो । जस्तो सुकै गठबन्धन बनोस् त्यसलाई एमालेले पराजित गर्नेछ उहाँले भन्नुभयो ।’ त्यसकारण उच्च मनोबल लिएर, जित्छु भन्ने विश्वास लिएर अगाडि बढ्न यसै मञ्चबाट सबैलाई आग्रह गर्न चाहन्छु उहाँको भनाइ थियो ।’ सरकार बनाउनका लागि एमालेले जित्ने नभएको बताउँदै उहाँले देशलाई बर्बादीबाट बचाउन जित्न पर्ने बताउँनुभयो ।

सहिदहरूको रगतहरूले भन्छन् हामीलाई, सही बाटो हिडँदैछौ कि भुल्यौँ दाजुभाइ भन्ने गीतको शब्द वाचन गर्दै अध्यक्ष ओलीले प्रचण्ड, माधवहरूलाई यो गीतले छुँदैन, यो गीत सुन्न बित्तिकै मुर्छा पर्ने उहाँको भनाइ छ ।

उनीहरू गलत, प्रतिक्रियावादी र प्रतिगमनको बाटोमा गइसकेका बताउँनुभयो । नागरिकताको प्रसङ्गमा बोल्दै संविधानले दिएको अधिकारबमोजिम सबै नेपालीले नागरिकता प्राप्त गर्छन्, त्यो प्राप्त गराउने काम एमालेको हो।’ एमालेकै सरकार भएको भए आधाभन्दा बढी सुकुम्वासीको हातमा जग्गाधनी पुर्जा भइसक्ने उहाँले बताउँनुभयो ।

नेकपा (एमाले) कचनकवल गाउँ कमिटीका अध्यक्ष नवराज भट्टराईको अध्यक्षता भएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी दुई हजार बढी एमालेमा प्रवेश गरेका थिए । एमालेका केन्द्रीय सदस्यद्धय दुर्गा प्रसाईँ र हरि राजवंशीले मन्तव्य राखेको कार्यक्रममा स्वागत मन्तव्य एमालेका युवा नेता तथा प्रदेश सांसद वसन्त बानियाँले र सञ्चालन रोशन लामाले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्