बागलुङको निसीमा टाउको बिनाको शव फेला



बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ झिवाखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ ।

झिवाखोला बजार नजिकै निसीखोलामा निसीखोला गाउँपालिका–५ कामिडेरा निवासी २४ वर्षीय तुलबहादुर बिकको टाउको नभएको शव फेला परेको हो ।

बुधबार नै शव फेला परे पनि शवको टाउको नभएपछि पहिचानमा समस्या भएको थियो । तर, शवको हातमा खोपेको ट्याटुको माध्यमबाट प्रहरीले शवको पहिचान गरेको हो ।

शवको पहिचान भए पनि हालसम्म टाउको फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दयानिधी ज्ञवालीले बताउनुभयो ।

हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरी उपरीक्षक ज्ञवालीसहितको टोली घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।

‘बुधबार शव फेला परे पनि बिहीबार मात्रै पहिचान खुलेको हो, ज्ञवालीले भन्नुभयो, गहिरो ढंगले अध्ययन तथा अनुसन्धान गरिरहेका छौं,’ ‘केही दिनमै यथार्थ बाहिर ल्याउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्