दुर्गम ३ वडाको लागि हरिहपुरगढी गाउँपालिकाको प्रशासनिक ईकाई कार्यालय स्थापना



सिन्धुली । सिन्धुलीको हरिहपुरगढी गाउँपालिकाले दुर्गम ठाउँमा रहेका ३ ओटा वडाका नागरिकको सहजताको लागि प्रशासनिक ईकाई कार्यालयको स्थापना गरेको छ । गाउँपालिका कार्यालयबाट मरिण खोला पारी रहेका ३ ओटा वडाहरु ६,७ र ८ का नागरिकलाई गाउँपालिकाको सेवा सहजरुपले प्रवाह गर्न वडा नं. ८ मा प्रशासनिक ईकाई कार्यालय स्थापना गरिएको हो ।

आज (बिहीवार) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले क्यानेश्वर पान्तलेमा रहेको ८ नम्बर वडा कार्यालय भवनमा राखिएको प्रशासनिक ईकाई कार्यालयको उद्घाटन गरी सेवा सुचारु गर्नुभएको छ ।

वडा नम्बर ६,७ र ८ का नागरिकहरुले सामान्य काम पर्दा पनि घण्टौँ धाएर गाउँपालिका जानुपर्ने बाध्यताको अन्त्य गर्न प्रशासनिक ईकाई स्थापना गरिएको गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभयो ।

हिउँदमा जसोतसो खोला तरेर गाउँपालिका पुग्न सकिने भए पनि बर्षायाममा खोलाबाढीका कारण गाउँपालिका सम्म जान कठिने हुने भएकाले यी तीन वडाका नागरिकलाई प्रशासनिक सबै काम ईकाई कार्यालयबाट नै प्रदान गरिने अध्यक्ष वाइबाले बताउनुभयो ।

प्रशासनिक ईकाई कार्यालयबाट सिफारिस, व्यवसाय दर्ता, नविकरण, योजनाहरुको सम्झौता, अनुगमन लगाएत गाउँपालिका कार्यालयबाट प्रवाह हुने प्रशासनिक सबै सेवा दिईने गाउँपालिका अध्यक्ष वाइबाको भनाई छ ।

‘क्यानेश्वर क्षेत्रमा रहेका वडा नं. ६,७ र ८ विशेष गरी पालिकाकै विकट र दुर्गम वडाहरु हुन् । सडकको असुविधा र मरिण, क्यानेश्वर लगाएतका दर्जनौ साना ठूला खोला खोल्छीका कारण वर्षामा गाउँपालिकासम्म आउन नागरिकलाई निक्कै कठिनाइ हुने भएकाले यी कठिनाई हटाउन ईकाई कार्यालय राखेका हौं’ अध्यक्ष वाइबाले भन्नुभयो ।

ईकाई कार्यालयमा छैटौँ तहका कर्मचारी लक्ष्मीश्वरी टुईटुईलाई प्रशासनि ईकाइ कार्यालयको प्रमुखको जिम्मेवारी दिएर सेवा सुचारु गरिएको अध्यक्ष वाइबाले बताउनुभयो । ईकाईमा प्राविधिक लगाएतका अन्य कर्मचारी पनि व्यवस्थापन गरिने अध्यक्ष वाइबाले जनाउनुभयो ।

हरिहरपुरगढी गाउँपालिकाको ८ वडा मध्ये १,२,३ र ४ मरिणखोला वारी, ५ मरिण खोला वारी पारी रहेको छ भने वडा नं. ६,७ र ८ मरिण खोला पारी र क्यानेश्वर खोलाको वारीपारी रहेको छ । ६,७ र ८ मा सडक सुविधा राम्रो नहुँदा पैदल हिँडेर गाउँपालिकाको कार्यालय र सदरमुकाम सिन्धुलीमाढी जानुपर्ने स्थानीयको बाध्यता रहेको छ ।

हिउँदमा सामान्य रुपमा बोलेरो, ट्याक्टर गुडे पनि मरिण खोला र क्यानेश्वर खोलामा पुल नहुँदा वर्षायाममा कुनै पनि सवारी साधन संचालन हुन सक्दैनन् । वर्षामा ६,७ र ८ नम्बर वडाका नागरिकलाई गाउँपालिकाको कार्यालय पुग्न क्यानेश्वर खोला तरेर सर्लाही, बर्दिवास हुँदै सिन्धुलीमाढी बजार पुगेर जानुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्