धुलिखेल अस्पताल र बर्दिबास अस्पतालबीच सहकार्य



महोत्तरी ।

महोत्तरीको बर्दिबास अस्पताल र काभ्रेको धुलिखेल अस्पतालबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलको पहलमा १० बुँदे सहकार्य सम्झौता भएको हो ।

बुधबार धुलिखेल अस्पतालले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रल्हाद क्षेत्री र नेता पोखरेललाइ बोलाएर सम्झौता गरेको छ । यसअघि पनि नेता पोखरेलले धुलिखेल अस्पतालका सामुदायिक कार्यक्रम निर्देशक डा। बिराज कर्माचार्यलाई बर्दिबास अस्पतालमा ल्याएर सर्वपक्षीय अन्तर्क्रिया गराएका थिए ।

बर्दिबास आउँदा नै प्रारम्भिक डकुमेन्टमा हस्ताक्षर गरिसकेको बताउँदै बुधबार औपचारिकता मात्र पूरा गरेको अस्पताल प्रशासनले जनाएको छ । धुलिखेल अस्पतालले सहकार्य सम्झौता गरेको बर्दिबास अस्पतालसहित देशैभरि १२ पुगेको छ । अस्पतालको सहकार्यमा दोलखाको एक अस्पताल अहिले उक्त जिल्लाको नमुना अस्पताल वनेको छ ।

औपचारिक रूपमा सहकार्य सम्झौता भएसगै बर्दिबास अस्पतालको प्राविधिक व्यवस्थापनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास लिएको नेता पोखरेलले वताए । पाँच वर्षसम्म क्रियाशील रहने सम्झौतामा यथाशीघ्र आइसियु सञ्चालन गरिने पनि उल्लेख छ । आवश्यक पर्ने जनशक्ति र स्वास्थ्यकर्मीहरू अस्पताललाई प्रदान गरेर बर्दिबास अस्पताललाई सुविधासम्पन्न र गुणस्तरीय बनाउने विषयमा पनि सहकार्य गर्नेगरी दुवै पक्षबीच सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्