गलेश्वरमा भक्तजनबाट १९ लाख भेटी संकलन



म्याग्दी । 

म्याग्दीको प्रसिद्ध गलेश्वरधाम शिवालयमा साउन महिनामा मात्रै करिब १९ लाख रुपियाँ भेटी संकलन भएको छ । साउन महिनामा परेका पाँचवटा सोमबारमा गलेश्वरधाम दर्शन तथा पूजाअर्चना गर्न आएका भक्तजनहरुबाट कुल १८ लाख ७० हजार २ सय ४३ रुपियाँ भेटी संकलन भएको हो ।

यस वर्ष साउनको पहिलो सोमबार ३ लाख ३३ हजार ५ सय ५६, दोस्रो सोमबार ३ लाख १८ हजार ३ सय ३२ र तेस्रो सोमबार ३ लाख ७ हजार १३ रुपियाँ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । यसै गरी, चौथो सोमबार ४ लाख ४१ हजार ४ सय १३ रुपियाँ र पाँचौं तथा अन्तिम सोमबार ४ लाख ६९ हजार ९ सय २९ रुपियाँ भेटी संकलन भएको क्षेत्र विकास कोषकी कोषाध्यक्ष कुमारी रोका मगरले बताउनुभयो ।

यस वर्षको साउन महिनामा परेका पाँचवटा सोमबारमध्ये सबैभन्दा धेरै अन्तिम र सबभन्दा कम तेस्रो सोमबारमा भेटी संकलन भएको छ । मन्दिरमा संकलन भएको भेटी प्रहरीको रोहबरमा मुचुल्का उठाएर प्रहरीकै सुरक्षामा भेटी र कोषमा राखिएको चाबी प्रहरी चौकीबाट मन्दिर परिसरमा ल्याउने गरिन्छ । त्यसपछि क्षेत्र विकास कोषका पदाधिकारी, कर्मचारी, गलेश्वर आमा समूह, प्रहरी र स्थानीयवासीको उपस्थितिमा सामूहिक रूपमा गणना गरी भेटी सार्वजनिक गर्ने गरिएको छ ।

गलेश्वरमा साउने सोमबार, बालाचतुर्दशी, महाशिवरात्रिलगायत ठूला पर्वमा सोको भोलिपल्टै र अन्य समयमा हरेक महिनाको दुईपटक भेटी गनेर सार्वजनिक गरिन्छ । शिवालयमा भक्तजनले चढाएको दान संकलन गर्ने क्रममा छिटफुट रूपमा भेटी भेटिएमा हरेक महिनाको १५ दिनमा सार्वजनिक गर्ने गरिएको छ । भक्तजनबाट चढाएको भेटीको रकमले मन्दिर परिसरमा आवश्यक भौतिक पूर्वाधारको विकास, कर्मचारीको तलब-भत्ता, स्वास्थ्य निकाय र ज्येष्ठ नागरिकको व्यवस्थापन तथा संस्कृत पाठशाला सञ्चालनमा लगानी गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गलेश्वर शिवालयमा यस वर्ष साउन महिनामा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की, तनहुँ, चितवन, काठमाडौं, नबलपरासी, रूपन्देही, बझाङ जिल्लाका साथै छिमेकी मुलुक भारतका विभिन्न स्थानबाट समेत भक्तजन दर्शन गर्न आएको उहाँको भनाइ छ । पाँचवटा सोमबार पर्नुका साथै गएको दुई वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारणले पूजाअर्चना गर्न नपाएका भक्तजन गलेश्वर पुगेका थिए ।

यसवर्ष साउन महिनामा म्याग्दीसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी कुल १ लाख १५ हजार जना श्रद्धालु, भक्तजनले गलेश्वरको प्रत्यक्ष रूपमा दर्शन तथा पूजाअर्चना गरेको विकास कोषले दाबी गरेको छ । साउने सोमबार हिन्दू महिलाहरूका लागि विशेष दिन मानिन्छ । यस दिन व्रतालु व्रत बस्ने र शिव मन्दिरमा पुगेर पूजा गर्ने गर्छन् ।

साउन महिनामा शिवलाई शुद्ध जल चढाएमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ । सोमबार ब्रत बसी शिवको आराधना गर्दा अटल सौभाग्य प्राप्ति हुने जनविश्वास भएकाले व्रतालु बिहानै शिवालय मन्दिर पुग्ने गर्दछन् । साउन महिना र सोमबारलाई भगवान् महादेव (शिव)को प्रिय महिनाका रूपमा पनि मानिन्छ ।

प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारका रूपमा रहेको म्याग्दीको गलेश्वर शिवालयमा पछिल्लोपटक ११ वटा गौमुखी धारा जडान गरिएकाले पनि भक्तजनलाई पूजाअर्चना गर्न सहज भएको छ । गौमुखी धारामार्फत गलेश्वरको दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरेर पवित्र कालीगण्डकी नदीको गंगाजलले स्नान गर्ने व्यवस्था मिलाइएको हुँदा भक्तजनको संख्यामा वृद्धि हुँदै गएको छ ।

पवित्र कृष्णागण्डकीबाट उठेर ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयं उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ ।

सत्ययुगमा सतीदेवीले अग्निकुण्डमा हामफालेर देहत्याग गरेपछि उनको मृत शरीर बोकेर महादेवले पृथ्वीको भ्रमण गर्ने क्रममा गलेश्वरमा आएर गलापतन भएको हुँदा गलेश्वर नाम रहन गएको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । ज्योतिर्लिङ्ग, शालिग्राम, जलकुण्ड, शंखचक्र, नागमणि आदि चक्राकार रूपी चिह्न मानवनिर्मित नभई स्वयं उत्पत्ति भएको धार्मिक पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्