भारतीय फुटबल फिफाको प्रतिबन्धमा



काठमाडौं । 

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । हालै, भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेको छ । तर, फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको ।

पछिल्लो केही महिनादेखि एआईएफएफमा ठीकठाकसँग चलिरहेको छैन । यसै वर्ष भारतको सर्वाेच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो । साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरियो । त्यही, २८ अगस्तसम्म चुनाव गर्न आदेश दिएको थियो । फिफाले एआईएफएफलाई प्रतिबन्ध लगाएपछि भारतबाट फिफा यू १७ महिला विश्वकपको आयोजना अधिकार पनि खोस्ने चेतावनी दएको छ ।

पटेल एआईएफएफको अध्यक्ष पदमा सन् २००९ देखि थिए । उनले स्पोर्ट्स कोडको नियम पालना नगरेको आरोप रहेको छ । भारतको स्पोर्ट्स कोडअनुसार कोही पनि व्यक्ति अध्यक्ष पदमा ३ पटकभन्दा बढी बस्न नपाउने नियम रहेको छ । पटेलले यो कदमविरुद्ध मुद्दा पनि दर्ता गरेका छन् कि जबसम्म नयाँ संविधानलाई स्विकार नगरेसम्म र नयाँ अध्यक्ष छनोट नगरिएसम्म उनको कार्यकाल बढाउनुपर्ने उनको माग रहेको छ । तर, उनको माग अस्वीकार गरिएको छ ।

यु–१७ विश्वकपलाई असर

भारतको भुवनेश्वर, गोवा र मुम्बईमा ११ देखि ३० अक्टोबरसम्म यु १७ महिला विश्वकप हुने भनिएको छ । यसको सफल आयोजना गर्नको लागि केन्द्रीय मन्त्रिमण्डलले पहिले नै आफनो सहमति दिएको थियो । तर, फिफाद्वारा प्रतिबन्ध भएपछि उक्त आयोजक अधिकार अन्य कतै सारिनेछ । फिफाले स्पष्ट भनिसकेको छ कि यो विश्वकप भारतमा आयोजना हुने छैन ।

भारतको भविष्य अन्योलमा

फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रूपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगितामा खेल्ने पाउने छैन । भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन पाउने छैनन् । नेपालमा अर्को महिना आयोजना हुने महिला साफ च्याम्पियनसिपमा यो घटनापछि अर्कै मोड लिएको छ । प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउनेछन् ।

प्रतियोगिता भदौ २१ देखि असोज २३ गतेसम्म दशरथ रंगशालामा हुने साफ च्याम्पिनसिपका लागि साफले खेलतालिका पनि सार्वजनिक गरिसकेको छ । जसअनुसार नेपालको समूहमा श्रीलंका र भुटान रहेनछन् भने भारतको अनुपस्थितमा समूह ए तर्फ बंगलादेश, माल्दिभ्स र पाकिस्तान हुनेछन् ।
भारत च्याम्पियनसिपको गत पाँचौ संस्करणको विजेता टोलीसमेत हो । च्याम्पियनसिपमा ३ खेल कम गरि ९ खेल मात्र खेलाइनेछ । समूह चरणपछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । त्यस आधारमा समूह चरणमा ६ खेल तथा २ सेमिफाइनल र फाइनल खेल हुनेछ ।

सीओए फिफाको शर्त मान्न तयार

फिफाले प्रतिबन्ध लगाएपछि केही घण्टापछि नै प्रशासकको समिति (सीओए) ले फिफाको शर्तअनुसार एआईएफएफको चुनाव गर्न सहमति भएको छ । फिफाले मंगलबार भारतीय फुटबललाई प्रतिबन्ध लगाएको थियो । सूत्रले बताएअनुसार प्रतिबन्ध केही समयको लागि हुन सक्नेछ किनभने भारतको सर्वोच्च अदालतबाट नियुक्त सीओए चुनाव र संविधानलाई लिएर फिफाको लगभग सबै शर्त मान्न तयार भएको छ ।

भारतीय मिडियाले बताएको छ कि अधिकारीहरू प्रतिबन्ध केही समयको लागि हुने सोचिरहेका छन् र चुनाव २८ अगस्तमा नभई १५ सेप्टेम्बरभन्दा अगाडि हुनेछ । यो मिति फिफाले तय गरेको हो । सीओए फिफाको शर्तअनुसार चुनाव गराउन सहमत छ ।यदि, यस्तो भएमा भारतबाट यु १७ महिला विश्वकपको आयोजक अधिकार पनि भारतमै रहनेछ । सीओए, फिफा र भारतीय खेल मन्त्रालय राज्य संघहरूका प्रतिनिधिहरूबाट बनेको निर्वाचक मण्डलसँग एआईएफएफको चुनाव गराउने सहमत भएका छन् । अब निर्वाचक मण्डलमा ३६ प्रख्यात खेलाडीलाई पनि सामेल गराउने छैन । यसअघि, निर्वाचन अधिकारीले त्यति संख्याको सूची जारी गरेको थियो । जसमा भाइचुंग भुटिया पनि थिए ।

नेपाल उपाधि दावेदारीमा 

भारत बाहिरिने भएपछि नेपाली महिला टोलीका लागि साफको इतिहासमा पहिलोपटक उपाधि जित्ने सम्भावना बढेको छ । स्वतः अहिले नेपाली टोली उपाधिको दावेदारी भएको छ । कुमार थापाको मुख्य प्रशिक्षणमा नेपाली टोलीले साफ च्याम्पियनसिपको तयारी गरिरहेको छ ।

हाल बन्द प्रशिक्षणमा ३५ खेलाडीले प्रशिक्षण गरिरहेका छन् । गत पाँचौं संस्करण नेपालकै विराटनगर सहरमा भएको थियो । त्यति बेला नेपाल भारतसँग पराजित भएर उपाधिविमुख भएको थियो । नेपाल ४ पटक फाइनलमा भारतसँग पराजित भएको छ । सन् २०१५ को संस्करणमा नेपाल सेममिफाइनलमै रोकिएको थियो । उक्त खेलमा भारत नै प्रतिद्वन्द्वी थियो । अहिले भारत नहुँदा नेपालको लागि च्याम्पियन बन्ने मौका छ ।

त्यस्तै, श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपमा पनि अब भारतले सहभागिता जनाउने छैन । उक्त प्रतियोगितामा नेपाल र भारत एकै समूहमा थिए । भारत नखेल्ने भएसँगै अब प्रतियोगिता राउन्ड रोबिन पद्दतिमा हुनेछ । प्रतियोगितामा आयोजक श्रीलंका, नेपाल, माल्दिभ्स, बंगलादेश र भुटान खेल्नेछन् । प्रतियोगिता ५ देखि १४ सेप्टेम्बरमा हुने तय थियो ।

प्रतिक्रिया दिनुहोस्