हरिहपुरगढी गाउँपालिकाका ८ सय घरधुरीलाई निस्सा कार्ड



सिन्धुली । सिन्धुलीको हरिहपुरगढी गाउँपालिकाले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई निस्सा कार्ड वितरण सुरु गरेको छ । गाउँपालिकाले आज (आइतबार) वडा नं. ३ का उनीहरुलाई निस्सा कार्ड वितरण गरेको हो ।
वडा नं. ३ का ८ सय ४२ घरधुरीलाई निस्सा कार्ड वितरण गरिएको हरिहपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बताउनु भयो । राष्ट्रिय भूमि आयोग सिन्धुलीका अध्यक्ष रामकुमार पौडेलको उपस्थितीमा भूमिहीन दलित १०, सुकुम्बासी ३२ र अव्यवस्थित बसोबासी ८ सय गरी ८४२ घरधुरीलाई निस्सा कार्ड वितरण गरिएको अध्यक्ष वाइबाले बताउनु भयो ।
आज निस्सा कार्ड वितरण गरिएको घरधुरीका नागरिकलाई भदौं १५ गतेसम्म लाल पुर्जा वितरण गर्ने तयारी भईरहेको गाउँपालिका अध्यक्ष वाइबाले बताउनुभयो । ‘अहिले सम्म एकटुक्रा जमिनको लालपुर्जा नपाएका नागरिकलाई लाल पुर्जा वितरण गरेर जमिनको स्वामित्व दिलाउनेछौं । निस्सा कार्ड पाएका नागरिकलाई भदौं १५ सम्म लालपुर्जा हातमा थमाउनछौं’ अध्यक्ष वाईबाले भन्नुभयो ।
हरिहरपुरगढी गाउँपालिका भित्रमा अहिले सम्म करिव ४ हजारको संख्यामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन प्राप्त भएको र त्यस मध्ये ३ हजार १ सय १० जनाको अनलाईन ईन्ट्री भई सकेको अध्यक्ष वाईबाले जानकारी दिनुभयो ।
उनीहरुलाई लालपुर्जा वितरणका लागि गाउँपालिका र राष्ट्रिय भूमि आयोग सिन्धुली तीव्र गतिमा लागेकाले ढिलोमा अबको २ बर्षभित्रै लालपुर्जा वितरण गरि सक्ने लक्ष्य रहेको अध्यक्ष वाइबाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्