गठबन्धनमा अटाउन बाबुरामको दौडधुप



काठमाडौं । जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लाग्नुभएको छ । नयाँ पार्टी गठन गरेसँगै उहाँले सिट बाँडफाँटमा सम्मानजनक स्थान पाउन दौडधुपमा लाग्नुभएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टीलाई पनि गठबन्धनमा समावेश गरेर अघि बढ्न आग्रह गरेका भट्टराईले बिहीबार माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी योजनाको विषयमा भेटवार्ता गर्नुभएको छ ।

ललितपुरको हात्तीवनमा भएको भेटमा उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग सत्ता गठबन्धनमाआफ्नो पार्टीलाई पनि समावेश गराउन भूमिका खेल्नको लागिआग्रह गर्नुभएको थियो ।

भेटको क्रममा प्रचण्डले भट्टराईलाई पुनः पार्टीमै फर्किन आग्रह गर्नु भएको तर उहाँले पार्टीमा फर्किने अवस्था नरहेकाले गठबन्धनमा समावेश हुन चाहेको जवाफ दिनुभएको बताइएको छ ।

प्रचण्ड सचिवालयका एक सदस्यले अध्यक्ष प्रचण्डको भनाइ उद्धृत गर्दै भन्नुभयो– ‘संसद विघटन भएपछिको प्रतिगमन विरोधी आन्दोलनमा हामी एकसाथ लागेका छाै‌ ।

नयाँ पार्टी रनयाँ परिस्थिति बनेपछि अहिले फरक ठाउँमा छु ।’ भट्टराईले पाँचदलीय गठबन्धनमा समेट्न भूमिका खेलिदिनआग्रहगर्दै आफू पनि गठबन्धनको एक हिस्सेदार रहेको स्मरण गराउनु भएको थियो ।

यता जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने पाँचदलीय गठबन्धनकाबीच मात्र चुनावी तालमेल हुनुपर्ने अडान राख्दै आउनु भएको छ ।

भेटका क्रममा भट्टराईले माओवादीका नेताहरूलाई वाम समाजवादी मोर्चा बनाउन प्रस्ताव गर्नुभएको थियो । मोर्चा बनाउने र एउटै चुनावचिह्नमा लड्ने प्रस्ताव राखेपछि प्रचण्डले यस विषयमा सल्लाह गरौंला भन्ने जवाफ दिनु भएको सचिवालयका ती सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस्