सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी



काठमाडौं । सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बसिरहेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो ।

बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताइएको छ ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी)बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् ।

कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेस नेता सिटौलालाई चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्