वृक्षारोपण गरेर आफ्नो गाउँ हरित बनाउन मन्त्री यादवको आग्रह



काठमाडौं । 

वन तथा वातावरण मन्त्री प्रदीप यादवले वृक्षारोपण गरेर वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउन आग्रह गर्नु भएको छ । आज आइतबार पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१० स्थित वाल मन्दिरको प्राङ्गणमा राउन्ड टेबल नेपालद्वारा आयोजित वृक्षारोपण कार्यक्रममा मन्त्री यादवले वृक्षारोपण गरेर वातावरण र आफ्नो गाउँ, ठाउँ हरित बनाउनु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृक्षारोपणको अभियान सबैको साझा हो, वृक्षारोपण गरेर आफ्ना गाउँ, ठाउँ हरियाली बनाऊ, यो अभियानमा सबै लाग्न म आग्रह गर्दछु ।” यसै गरी मन्त्री यादवले सामाजिक क्षेत्रमा लामो समयदेखि उदाहरणीय काम गरिरहेका राउन्ड टेबल नेपाल संस्थाका युवाहरूले पछिल्लो समय वातावरणको क्षेत्रमा पनि उल्लेख्य काम गर्न थालेको देख्दा आफू निकै खुसी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “वन जङ्गल जोगाउन तथा हरियाली बनाउनमा युवाहरूको भूमिका उल्लेख्य छ, युवाहरू अग्रसर भए हाम्रो देश हरियाली हुने तथा वन जङ्गल जोगिने छ ।”

राउन्ड टेबल नेपाल नामक संस्थाले वृक्षारोपण लगायत अन्य वन क्षेत्र जोगाउनमा उल्लेख्य भूमिका खेलिरहेको प्रति धन्यवाद व्यक्त गर्नु हुँदै मन्त्री यादवले अन्य संघ संस्थाहरुले उक्त संस्थाबाट प्रेरणा लिई काम गर्नु पर्ने धारणा राख्नु भयो । उक्त कार्यक्रममा मन्त्री यादव सहित वीरगन्ज महानगर पालिकाका नगरप्रमुख राजेशमान सिंह लगायतले वृक्षारोपण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्