डेंगु नियन्त्रण गर्न हेटौंडामा स्प्रे



हेटौंडा । 

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । उपमहानगरका ४ र ५ नम्बर वडामा डेंगु संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी औषधि छर्कन थालिएको हो । संक्रमण फैलन नदिन जनस्तरमा मट्टीतेल प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासँगै बढी जोखिम रहेका क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उहाँले जानकारी दिनुभयो । हाल हेटौंडा–४ को कमलडाँडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगर प्रहरीको मद्दतबाट भइरहेको छ ।

संक्रमण फैलिएका वडाको जोखिमपूर्ण क्षेत्र पहिचान गरी आवश्यकतानुसार संक्रमण नियन्त्रण अभियान सञ्चालन गरिने जनस्वास्थ्य अधिकृत चौलागाईंले बताउनुभयो । नगरमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या पनि बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । असार अन्तिमबाट शुरू भएको संक्रमणदर बिस्तारै बढ्दै गएको र हालसम्म ४३ जनामा संक्रमण देखिएको कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

जिल्लाका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरका बजार क्षेत्रमा पर्ने ४ र ५ वडामा बढी बिरामी देखिएको कार्यालयले जनाएको छ । अन्य स्थानीय तहमा केही संख्यामा डेंगु संक्रमित देखिए पनि नगरभित्र देखिनुले समस्या भएको कार्यालयले जनाएको छ । बिरामीको संख्या बढ्दै जानुले सतर्कता, सुरक्षा तथा सचेतना आवश्यक रहेको बताइएको छ । संक्रमितको हेटांैडा अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्