चीनद्वारा सीमा क्षेत्रको समुद्रमा मिसाइल प्रक्षेपण

चीन–ताइवान तनाव



एजेन्सी ।

अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबाट आक्रोशित चीनले बिहीबार ताइवानको उत्तर पूर्वी र दक्षिण–पश्चिम सीमानजिकैको समुद्रमा ६ स्थानबाट थुप्रै मिसाइल प्रक्षेपण गरी सैन्य अभ्यास गरेको छ ।

विश्वका व्यस्त जलमार्गमध्ये एक मानिने यस क्षेत्रमा चीनले यद्धपोतहरू तैनाथ गरी सैन्य अभ्यास गर्दै आएको भए तापनि बिहीबारको सैन्य अभ्यास ठूलो स्तरको भएको चीनकै सरकारी सञ्चारमाध्यमले जनाएको छ । यो सैन्य अभ्यास आइतबारसम्म जारी रहने बताइएको छ ।

चिनियाँ सरकारी मिडिया ग्लोबल टाइम्सले मिसाइल प्रक्षेपणको भिडियो सार्वजनिक गर्दै ताइवाननजिकैको समुद्रमा गरिएको पिपुल्स लिबरेसन आर्मी (पीएलए) को पूर्वी थियटर कमान्डको संयुक्त सैन्य अभ्यासको उद्देश्य अमेरिका र ताइवानको मिलिभगत रोक्नु रहेको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले चीनका विदेश मन्त्रालयका प्रवक्ता हुआ सुनियाङको भनाइ उद्धृत गर्दै अमेरिका र ताइवानको ‘पृथकतावादी कारबाही’ जारी रहेसम्म पीएलएको सैन्य अभ्यास नरोकिने बताएको छ । हुआले भन्नुभएको छ– ‘हामी राष्ट्रिय सम्प्रभुता र क्षेत्रीय अखण्डताको रक्षाका लागि हाम्रो दृढ संकल्प प्रदर्शन गर्न रोक्ने छैनौं ।’

चीनको उक्त कदमको निन्दा गर्दै ताइवानले चीनको ‘गैर जिम्मेवार’ कदमले उक्त क्षेत्रको शान्ति भंग गरेको आरोप लगाएको छ । ताइवानको रक्षा मन्त्रालयले चीनले मिसाइल प्रक्षेपण गरेपछि ताइवानले आफ्नो सुरक्षा प्रणाली सक्रिय बनाएको बताएको छ । ताइवानको सामुद्रिक तथा बन्दरगाह विभागले चिनियाँ सैन्य अभ्यासबाट बच्न आफ्ना नागरिकहरूलाई सचेत गराएको छ । ताइवानको मेनल्यान्ड अफेयर्स काउन्सिलले भने सैन्य बल समस्याको समाधान नभएको टिप्पणी गर्दै सैन्य अभ्यासले दुई पक्ष एकअर्कोसँग सँगै रहन नसक्ने तथ्य नबद्लिने बताएको छ ।

चीनको सैन्य अभ्यासका कारण ताइवानको ५१ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएको छ । यसैबीच जापानको रक्षा मन्त्रालयले चीनले प्रक्षेपण गरेको ५ वटा ब्यालेस्टिक मिसाइल जापानको विशेष आर्थिक क्षेत्रमा खसेको विश्वास गरिएको जनाएको छ । जापानी रक्षामन्त्री नोबुओ किसीले उक्त घटनाबारे जापानले कूटनीतिक माध्यमबाट चीनसमक्ष विरोध जनाएको जानकारी दिनुभएको छ ।

यसैबीच जी सेभेनअन्तर्गत चीन र जापानबीच हुन लागेको एउटा बैठक रद्द गरिएको छ । यसअघि चीनले सन् १९९६ मा पुनः निर्वाचित राष्ट्रपति लि तेङ हुईको अमेरिका भ्रमणको प्रतिक्रियास्वरूप ताइवानको सोही क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्