गोलरक्षक स्लोनिना चेल्सीमा अनुबन्धित



लन्डन, (एजेन्सी)  । 

इंग्लिस प्रिमियर लिग  क्लब चेल्सीले अमेरिकी युवा गोलरक्षक गाब्रिएल स्लोनिनालाई अनुबन्ध गरेको छ । चेल्सीले स्लोनिनालाई ६ वर्षको लागि अमेरिकी क्लब सिकागो फायरबाट १२ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । सम्झौता अनुसार अब उनी सन् २०२८ सम्म चेल्सीमा रहनेछ ।

चेल्सीसँग सम्झौता गरेपनि उनी केही सिजन सिकागो फायरमै लोनमा रहने बुझिएको छ । उनी अर्काे सिजनसँगै चेल्सीमा आधिकारिक रुपमा आउनेछ ।

चेल्सीले गत सिजन नै स्लोनिनालाई अनुबन्ध गर्न चाहेपनि यसपटक मात्रै सफल भएको हो । स्लोनिना यो समरमा रहिम स्टर्लिङ र कालिडो कोउलिबालीपछि चेल्सीमा अनुबन्ध हुने तेस्रो खेलाडी हुन् । १० वर्षको उमेरदेखि सिकागो फायरसँग रहेका स्लोनिना १४ वर्षको उमेरमा अमेरिकी मेजर लिग सकर (एमएलएस) मा अनुबन्ध हुने दोस्रो कान्छो खेलाडी बनेका थिए ।

१७ वर्षको उमेरमा डेब्यु गर्दै उनी एमएलएस खेल्ने सबैभन्दा कान्छा गोलरक्षक बने । उनले हालसम्म ३४ पटक खेलिसकेका छन् । अमेरिकाको उमेर समूह यू–१५, १६, १७ र यू–२० बाट प्रतिनिधित्व गरिसकेका उनले सिनियर टोलीमा भने मौका पाएका छैनन् ।

त्यसैगरी मिडफिल्डर कार्नी चुक्वेमेलाई पनि चेल्सीले अनुबन्ध गर्ने भएको छ । चेल्सीले एस्टन भिल्लाबाट मिडफिल्डर चुक्वेमेकालाई अनुबन्ध गर्ने जनाएको हो । युवा मिडफिल्डर चुक्वेमेका अनुबन्धका लागि चेल्सी र एस्टनबीच सहमति बनेको छ । चेल्सीले चुक्वेमेकालाई २० मिलियन पाउण्डमा अनुबन्ध गर्नेछ ।

गत सिजन उनले भिल्लाका लागि १२ प्रिमियर लिग खेलेका थिए । तर, उनी भिल्लाको प्रि–सिजन टुरमा सहभागी भएका थिएनन् । इंग्ल्यान्डले गत महिना यू–१९ युरोको उपाधि जित्दा उनले गोल गरेका थिए । त्यस्तै, इटालियन सिरी ए क्लब एसी मिलानले मिडफिल्डर चाल्र्स डे केटेलेरलाई अनुबन्ध गरेको छ ।

मिलानले क्लब ब्रुगबाट मिडफिल्डर चाल्र्सलाई अनुबन्ध गरेको हो । युवा मिडफिल्डर चाल्र्सले मिलानसँग ५ वर्षको सम्झौता गरेका छन् । मिलानमा उनले ९० नम्बरको जर्सी लगाउने छन् । अट्याकिङ मिडफिल्डर चाल्र्सले बेल्जियन क्लबका लागि १ सय २० खेलमा २५ गोल गरेका छन् । उनले बेल्जियमका लागि आठ खेलमा एक गोल गरेका छन् । त्यसैगरी प्रिमियर लिग क्लब फुलह्यामले गोलकिपर बन्र्ड लेनोलाई अनुबन्ध गरेको छ । फुलह्यामले जर्मन गोलकिपरलाई आर्सेनलबाट अनुबन्ध गरेको हो ।

३० वर्षीय गोलकिपरले फुलह्यामसँग तीन वर्षको सम्झौता गरेका छन् । लेनो २०१८ मा जर्मन क्लब बयर लिभरकुसेनबाट आर्सेनल आएका थिए । आर्सेनलका लागि उनले १ सय २५ म्याच खेलेका थिए । जर्मनीका लागि उनले ९ म्याच खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्