चोरीको सुन किनेको आरोपमा विमानबाटै पक्राउ



काठमाडौं । 

चोरीको सुन किनेको आरोप लागेका एक युवकलाई प्रहरीले विमानभित्रबाटै पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश सुन चाँदी व्यवसायी संघका अध्यक्ष सन्तोष लामिछानेलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार दिउँसो नेपाल वायु सेवा निगमको उडानबाट मुम्बई जान लागेका लामिछानेलाई प्रहरीले विमानमा बसिसकेको अवस्थामा विमानलाई रोकेर पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।
उक्त विमानमा चोरीको सुन किन्ने व्यक्ति मुम्बई जान लागेको सूचना प्रहरीलाई आएपछि विमान चढेका लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले विमानभित्र भएका सबै यात्रुलाई ओरालेर चेकजाँच गर्दा लामिछाने र उनकी श्रीमती विमानमा फेला परेपछि प्रहरीले पक्राउ गरेको थियो । लामिछाने दम्पती केही दिनका लागि मुम्बई घुम्न जान लागेका थिए । लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीमा ठगीको सुन किनेको उजुरी परेको थियो ।

सोही आधारमा लामिछाने दम्पती पक्राउ परेका हुन् । उनीहरूलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइने प्रहरीले जानकारी दिएको छ । बिहान ११ः३० बजे नियमित उडान हुनुपर्ने विमान २ घण्टा ढिलो उडेको थियो ।

प्रतिक्रिया दिनुहोस्