मंसिर ४ गते निर्वाचन मिति घोषणा गर्ने समझदारी

सत्ता गठबन्धनको बैठक



काठमाडौं । 

निर्वाचनको मिति घोषणा गर्नका लागि ढिलाइ भइरहेको बेला सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशको निर्वाचन गर्ने समझदारी बनेको छ ।

सत्तारुढ गठबन्धनको बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अबको मन्त्रिपरिषद् बैठकमा मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन तोक्ने विषयमा समझदारी भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

निर्वाचन आयोगले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई असार ४ गते नै निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरिसकेको छ । सत्ता गठबन्धनको दलहरूबीच समझदारी जुटन नसक्दा निर्वाचनको मिति घोषणा हुन सकिरहेको थिएन । सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्वाचन मिति घोषणा गर्ने बताइएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू उपस्थित थिए । सरकारले एकै चरणमा निर्वाचनको मिति घोषणा गर्न लागेको हो ।बैठकमा निर्वाचनको मिति घोषणासँगै सिट बाँडफाँटको विषयमा पनि छलफल भएको भएको बताइएको छ ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेससँग सत्ता सहयात्री दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी केन्द्रले निर्वाचनको मिति घोषणा अघि नै सिट बाँडफाँटको मोडालिटीमा टुंगो लगाउने पर्ने प्रस्ताव अघि सारेका थिए । तर कांग्रेसले निर्वाचनको मिति घोषणा भएपछि मात्र सिट बाँडफाँटको विषयमा छलफल गर्ने बताउँदै आएको छ ।

कांग्रेसको यसअघि बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरिसकेको छ । १ सय ६५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले ९० भन्दा बढी क्षेत्रमा आफूले पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्