ताइवानमाथि चीनको आक्रमणको त्रास, दुई सय नेपाली प्रभावित



काठमाडौं । 

ताइवानकी राष्ट्रपति साई इङ वेनले अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीलाई ताइवान बोलाएपछि चीन र अमेरिकाबीच तनाब बढेको छ । स्थानीय जनतामा यही कारणले कतै चीनले ताइवानमाथि आक्रमण गर्ने त होइन भन्ने त्रास बढेको छ ।

यद्यपि, चीनले आफ्नो रवैयामा केही नरमपन देखाएपछि भने अहिलेलाई आक्रमणको त्रास टरेको छ । यसअघि मंगलबार राती पेलोसीको विमान चीनमा उत्रनेबित्तिकै चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिअन्तर्गतको ताइवान मामिला कार्यालयले विज्ञप्ति जारी गर्दै पेलोसीको ताइवान भ्रमण अमेरिका र ताइवानबीच साँठगाँठको संकेत भएको र त्यसको परिणाम निकै गम्भीर हुने चेतावनी दिएको थियो ।

अहिलेलाई खतरा टरेको देखिए तापनि ताइवानमा रहेका करिब दुई सय नेपालीमा भने अझै आक्रमणको त्रास छ । उनीहरू नेपाल समाचारपत्रलाई भन्छन्, ‘साई इङले अनावश्यक जोखिम मोलिन् भन्ने स्थानीयको धारणा छ, मेरो पनि धारणा त्यही हो ।’
चीनले आक्रमण ग¥यो भने करिब २ करोड ४० लाख ताइवानी मात्र प्रभावित हुने होइन, त्यसको प्रभाव अन्तर्राष्ट्रिय रूपमै पर्ने निश्चित छ ।

‘चीनले जुनसुकैबेला आक्रमण गर्नसक्ने त्रासकै कारण ताइवान सरकारले साउथमा रहेका जनतालाई सचेत रहन आग्रह गरिरहेको छ’ सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।यतिबेला त्यहाँ चिनिया सैनिकले परेड खेलिरहेको छ । ताइवानी सेनाले चीनबाट खतरा भए बच्ने उपायबारे विभिन्न क्षेत्रमा पूर्वाभ्यास गराइरहेको छ । टापुमा चीन र अमेरिकाका युद्धपोत तैनाथ छन् । चीनले आफ्नो क्षेत्रमा प्रवेश गरे जुनसुकैबेला प्रत्याक्रमण गर्ने ताइवानले जनाएको छ ।

ताइवानका सेना हाइअलर्टमा छन् । पछिल्लो समय राष्ट्रपति साईले अमेरिकाप्रति बढी झुकाव राखेका कारण चीनसँगको तनाव चुलिएको छ । कोभिड संक्रमणका बखत जनतालाई भ्याक्सिनलगायत स्वास्थ्य सामग्री ल्याउन नसकेपछि आलोचित बनेकी राष्ट्रपति साईले अमेरिकासँगको प्रगाढ सम्बन्ध रहेको देखाउन अमेरिकी सभामुख पेलोसीलाई ताइवान बोलाउनुभएको हो ।

‘रसिया–युक्रेनबीच युद्ध चलिरहँदा युक्रेनलाई ८० लाख अमेरिकी डलर सहयोग गरेको कारण ताइवानमा राष्ट्रपति साईको आलोचना भइरहेको छ । यस्तो प्रतिकूल समयमा राष्ट्रपति साईले पेलोसीलाई बोलाएपछि ताइवानमा राष्ट्रपति साईको कडा आलोचना भएको छ’– ताइवानमा रहेका नेपाली राजु गुरुङले भन्नुभयो ।

उहाँले चीनसँग सम्बन्ध सुधार गर्न छाडेर आउने निर्वाचनको लागि रणनीति बुन्नु राष्ट्रपति वेनको गलत आचरण देखिएको उहाँको भनाइ छ, ‘हामी ताइवानको टापुको नर्थ भागमा बसेका छाैं, यहाँ त्यतिको तनाव छैन, साउथमा बस्ने जनतालाई तनाव भइरहेको छ ।’ ताइवानी टापुको दक्षिणक्षेत्रमा चीनले ६ स्थानमा युद्धपोतसहित सेना उतारेको छ । जवाफमा अमेरिकाले पनि सेना पठाएको छ ।

युक्रेनलाई आर्थिक र विभिन्न सामग्री सहयोग गरेदेखि नै चीनले राष्ट्रपति साईको आचारणमा प्रश्न उठाएको थियो । बुधबारसम्म केही नहोला, आज बिहीबार वा शुक्रबारबाट दुईदेशको सेनाबीच युद्ध हुने सम्भावना नकार्न सकिँदैन–गुरुङले भन्नुभयो । तर, अहिले नै मिडिया र सामाजिक सञ्जालमा आएका समाचारजति खतरा छैन–उहाँको भनाइ थियो ।

नेपाल ताइवान एसोसियसनका पूर्व अध्यक्ष समेत रहेका गुरुङले पटक–पटक हल्ला चल्ने गरेको थियो, अहिले त युद्ध हुने अवस्था आएकोजस्तो भएको छ । दुई शक्तिराष्ट्रिबीच युद्ध भए तेस्रो विश्वयुद्ध निम्तिन सक्ने ताइवानवासीको शंका छ । चीनले पटक पटक ताइवान भ्रमण नगर्न आग्रह गर्दा पनि छोटो समय मलेसिया हुँदै ताइवान पुगेकी पेलोसीले २५ वर्षपछि भएको यो भ्रमण महत्वपूर्ण रहेको बताउनुभएको थियो ।

ताइवानी जनता चीनसँग सुमधुर सम्बन्ध कायम गर्न चाहन्छन् तर राष्ट्रपति साई भने अमेरिकातिर ढल्केको भान भइरहेको छ–ताइवानको अवस्थाबारे विश्लेषण गर्दै गुरुङले भन्नुभयो । चीनले ताइवानलाई आफ्नो एउटा राज्य भएको बताउने गरेको छ । सानो टापुमा अवस्थित ताइवानमा चीनले फाइटर प्लेन, आधुनिक हतियार सहितको पनडुब्बी तैनाथ गरिसकेको छ । चीनले आगोसँग नखेल्ने चेतावनी दिएकै बखत पेलोसी ताइवान पुग्नुभएको छ ।

ताइवानमा करिब दुई सय नेपाली स्थायी बसोवास गर्दछन् । ताइवानमा भाषा र संस्कृति चीनकै छ । खाद्यान्नलगायतका सामग्री चीनबाटै आउँछ । यस्तो अवस्थामा चीनसँग युद्ध गर्नु ताइवानको गलत नियत देखिन्छ ।‘चीनले आक्रमण गरे पनि नेपाली रहेका क्षेत्रमा त्यति क्षति हुँदैन’ गुरुङ चीनले युद्धक विमान तैनाथ गरेको नर्थ क्षेत्रबाट आक्रमण गर्नसक्ने आँकलन गर्दै भन्नुभयो ।

यसैबीच चीनले बुधबारबाटै टापुलाई घेरेर विभिन्न ६ ठाउँमा हवाई र जल सैन्य अभ्यास गर्ने जनाएको छ । पेपोसी २५ वर्षपछि ताइवान पुग्ने पहिलो अमेरिकी सभामुख हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्