रुद्राञ्जु प्रतिष्ठानप्रति तीनै तहको अपेक्षा



काठमाडौं । ज्येष्ठ नागरिकहरुको आश्रयस्थलका रुपमा परिचित रुद्राञ्जु प्रतिष्ठानप्रति संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधिहरुले ठूलो अपेक्षा देखाएका छन् ।

संघीय सांसद् राजन केसी, प्रदेश सांसद् पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका उपमेयर शुभलक्ष्मी शाक्य (सुनिता) र वडा नम्बर १, २ र १० का वडाअध्यक्षहरुले बुधबार संस्थाको पाँचौं वार्षिकोत्सवको उपलक्ष्यमा सो अपेक्षा व्यक्त गरेका हुन् ।

‘ज्येष्ठ नागरिकप्रतिको सम्मान सामाजिक सभ्यताको पहिचान हो, बुढाबुढीहरुले एक्लो र असहाय अनुभव गरेभने तन्नेरी नागरिकको प्रतिष्ठा रहँदैन, रुद्राञ्जुले मुलुकको सभ्यता बढाउने काममा योगदान दिएको छ’ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद केसीले भन्नुभयो– यस्ता संस्थाहरु जहाँ–जहाँ खुलेका छन्, त्यहाँ मेरो आर्थिक तथा नैतिक सहयोग रहन्छ, यस क्षेत्रका अन्य यस्ता संस्था हेर्नुभए हुन्छ, पाँच लाखको अपेक्षा गरेका ठाउँमा मैले ४० लाख दिएको छु ।

प्रदेश सांसद महर्जनले रुद्राञ्जु प्रतिष्ठानलाई प्रोदेशिक बजेटबाट सहयोग रकम बढाउँदै २५ लाख पु¥याएको जानकारी दिदै ज्येष्ठ नागरिकका लागि प्राडा रुद्रप्रसाद गौगमले स्वर्गीय धर्मपत्नी अञ्जु गौतम र आफ्नो नाममा प्रतिष्ठान नै खोलेर आफ्नो निजी सम्पत्ति सुम्पनुभएकोमा प्रशंसा गर्नुभयो ।

रुद्राञ्जु प्रतिष्ठानका कार्यबाहक अध्यक्ष टीकादेवी खनालको अध्यक्षतामा सञ्चालन भएको वार्षिकोत्सव तथा अञ्जुशर्मा गौतमको छैटौं स्मृति दिवसका अवसरमा सहभागी हुनआएका व्यक्तिलाई नवजागरण महिला समूहका सदस्यले स्वागत गरेका थिए भने स्थानीय विद्यालयका करिब एक दर्जन विद्यार्थीलाई छात्रवृत्तिको घोषणा पनि गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्