जग्गा वर्गीकरण गर्न स्थानीय सरकारलाई ज्ञापन पत्र



काभ्रे ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन जिल्ला कार्य समिति काभ्रेपलान्चोकले जिल्लाको धुलिखेल, पनौती र पाँचखाल नगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै तत्काल जग्गा वर्गीकरण गरी नागरिकहरूको जग्गा किनबेच गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेका छन् । जिल्लाका १३ वटा पालिकामा क्रमशः ज्ञापन पत्र बुझाउने अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो ।

धुलिखेलमा उपप्रमुख नीराजन जंगम, पाँचखालमा उपप्रमुख सूर्यमाया दनुवार र पनौतीमा नगर प्रमुख रामशरण भण्डारीलाई भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली २०७९ तथा भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको परिपत्रलाई तत्काल कार्यान्वयन गर्न अनुरोध गरिएको अध्यक्ष रोशनकुमार श्रेष्ठले बताउनु भयो । ‘जग्गाको स्थायी तथा अस्थायी वर्गीकरण नहुँदा कारोबार ठप्प भएको छ’–अध्यक्ष रोशनकुमार श्रेष्ठले भन्नुभयो–‘नागरिकहरूले जग्गा कित्ताकाट गरेर विक्री गर्न पाउने अधिकार तत्काल सुनिश्चित गर्ने अभियानमा स्थानीय सरकारको सक्रियता आवश्यक छ ।’

केन्द्रीय परिपत्र अनुसार नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनले ज्ञापन पत्र बुझाएको जिल्ला सचिव कुमार मैनालीले बताउनु भयो । जग्गा वर्गीकरणका लागि स्थानीय भू–उपयोग परिषद् सम्वन्धित पालिकाहरुले गठन गर्नु पर्ने व्यवस्था छ । ज्ञापन पत्र बुझ्दै धुलिखेल नगरपालिकाका उपप्रमुख नीराजन जंगमले तत्कालै स्थानीय भू–उपयोग परिषद् गठन गरी जग्गाको वर्गीकरण गर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले धुलिखेल नगरपालिकाले २०७४ सालसम्मको जग्गाको वर्गीकरण गरी प्राविधिक कार्य सकिएको बताउनु भयो ।

केही कार्य बाहेक अधिकांश कार्य सकिएकाले धुलिखेल नगरपालिकाले केही दिनमा नै जग्गाको वर्गीकरण गर्ने लुइँटेलले बताउनु भयो । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले ज्ञापन पत्र बुझ्दै ऐन कानुन अनुसार जग्गाको वर्गीकरण गर्ने बताउनु भयो । पाँचखाल नगरपालिका उपप्रमुख सूर्यमाया दनुवारले पाँचखाल नगरपालिकाले यस अघि गरेको वर्गीकरणलाई ऐन अनुसार थप व्यवस्थित गरी निर्णय गर्ने बताउनु भयो । सरकारले जग्गा वर्गीकरण गरेर मात्रै कारोबार गर्न परिपत्र गरे सँगै ७ सय ५३ मध्ये केही पालिकाले उक्त निर्णय कार्यान्वयन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्