करकाप गरी कर उठाउन थालेकोमा व्यवसायीको विरोध



ललितपुर । कानूनी दफा र दण्डको आधारमा कर तिर्न लगाउने राज्यको रवैयाप्रति आम उद्योगी, व्यवसायीहरु असन्तुष्टि पोखेका छन् ।

ललितपुर उद्योग वाणिज्य संघले सोमबार ललितपुरमा आयोजना गरेको उद्योग व्यवसायमा कर प्रणालीको प्रभाव विषयक अन्तरक्रियामा कार्यक्रममा उनीहरुले सो असन्तुष्टि पोखेका हुन् ।

कर लिने सवालमा संघ, प्रदेश र स्थानीय तहको व्यवहार,सोच तात्विक रुपमा फरक नभएको बताउँदै उनीहरुले व्यवसायीलाई दण्ड सजाय भय देखाएर कर असुल्ने प्रवृतिको विरोध गरेका थिए ।

अर्थविद् डा. चन्द्रमणी अधिकारीले कर लिँदा करदातालाई पीडा हुने बताउँदै त्यो पीडालाई कसरी कम गर्ने भन्नेमा सरकारको ध्यान जानुपर्ने खाँचो औल्याउनुभयो । ‘बच्चा जन्माउने बेलामा र कर लिनेबेला पीडा अवश्य हुन्छ।राज्यको ध्यान पीडालाई कम गरेर कर लिनेतर्फ जानुपर्दछ ।करलाई बाध्य नभई रहर बनाउनुपर्दछ । अर्थविद् डा. अधिकारीले भन्नुभयो । कर सम्बन्धी सिद्धान्तले सरकारले राज्यको ढुकुटी भर्ने, सामाजिक न्याय, न्यायिक वितरण, अनावश्यक वस्तुको उपयोग घटाउन र विकासको लागि कर लगाउने उल्लेख गर्दै उहाँले भन्नुभयो ‘ करको दर वा दायरा सधै बढाउँदा यी आधारमध्ये कुन कुन आधार, के कति लिइएको भनेर सरकारले कहिले खुलाउने गरेको छैन ।यो व्यवहार लोकतान्त्रिक राज्यका लागि सुहाउने विषय होइन ।’

कर लिने र दिनेबीचको सम्बन्ध मोही र तल्सिन झै हुन नहुने पनि उहा“को भनाई थियो।  डा. अधिकारीले करको दर नभई दायरा बढाउँदा धेरै कर उठ्ने र धेरै भन्दा धेरै करदाताको सहभागी बढ्ने गरेको उदाहरण सहित प्रस्ट पार्नुभयो । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले राज्यले कर प्रणालीलाई आम व्यवसायीको लागि सहज बनाउन नसकेको बताउनुभएको छ ।

‘संघ, प्रदेश र स्थानीय तह गरी राज्यका तीन तहले कर लिने विषयलाई उदार दृष्टिकोण अपनाउन सकेको छैन।कर लिने कामलाई राज्यले जसरी भएपनि लिने किसिमले व्यवहार गरिराखेको छ । करदाताप्रति सेवाभाव र जवाफदेही व्यवहार रतिभर देखाउन सकेको छैन ।’ अध्यक्ष महर्जनले भन्नुभयो । सरकारले बजार अनुगमनलाई हुल बाँधेर मिडिया अगाडि राखी व्यवसायीको हुर्मत लिनेको रुपमा मात्र लिने गरेको बताउँदै अध्यक्ष महर्जनले व्यवसायलाई व्यवस्थित, जिम्मेवार र कानूनको दायरामा ल्याउने सोचबाट अनुगमन हुनुपर्नेमा जोड दिनुभयो । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले सरकारले बलपूर्वक कानुनी दण्ड र भय देखाएर कर लिनुको साटो आम व्यवसायीको मन जितेर कर लिनुपर्नेमा जोड दिनुभयो ।‘

कर लिने कार्यमा राज्यको भूमिका सहजीकरण, समन्वयकर्ता हुनुपर्दछ । न कि दण्ड दिने अधिकारी ।’अध्यक्ष न्याछ्योंले भन्नुभयो । सो अवसरमा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य (आस्था)ले व्यवसायीबाट उठ्ने कर व्यवसायीको विकास, उद्यमशीलता विकास र पर्यावरण जोगाउने विषयमा खर्चिन तयार रहेको बताउनुभयो ।

जबरजस्ती कर उठाएर भौतिक पूर्वाधार विकास गर्ने पक्षमा महानगरपालिका नरहेको जनाउँदै उद्यमी, व्यवसायीको व्यवसाय गर्ने क्षमता, गुणस्तर बढाएर आर्थिक समृद्धि प्राप्ति गर्ने दिशामा महानगरपालिका रहेको पनि उहाँको भनाई थियो ।

संघले राजस्व परामर्श मार्फत घरबहाल १० प्रतिशतबाट ८ प्रतिशतमा झार्ने प्रस्ताव आफूले कार्यपालिका बैठकबाट पारित गरी नगरसभाबाट लगेको र त्यो प्रस्ताव पारित हुन नसकेको पनि उपमेयर शाक्यले जानकारी दिनुभयो ।

सो कार्यक्रममा विभिन्न व्यवसायीहरुले कर प्रशासनको सोच र संस्कारमाथि विरोध गरेका छन् ।संघका महासचिव रुपकमान महर्जनले कर लिने प्रणालीलाई नसुधार्ने हो भने व्यवसायी र सरकारको सम्बन्ध कहिले सुमधुर नहुने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्