केन्द्र र इकाइको सट्टा शिक्षा विभाग र जिल्ला शिक्षा कार्यालय हुने



काठमाडौं । सरकारले शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय इकाई बनाएको चार वर्षपछि पुरानै नाम कायम गर्ने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नाम परिवर्तन गर्न टिप्पणी उठाएको छ । मन्त्रालयका प्रशासन महाशाखा प्रमुख युवराज सुवेदीले टिप्पणी उठाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका पेश गरेको जानकारी दिए ।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रालयले तयार गरेको प्रस्ताब अबको मन्त्री परिषद्मा पेश गर्ने तयारी गरेका छन् । मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले पदबहाली गरेलगत्तै दुई निकायको नाम परिवर्तन गर्न मन्त्री पौडेललाई सुझाब दिएका थिए ।

अघिल्ला मन्त्री गिरिराजमणी पोखरेल र कृष्णगोपाल श्रेष्ठको कार्यकालमा समेत दुई निकायको नाम पुरानै कायम गर्ने चर्चा भएको थियो । मन्त्रालयले तयार गरेको संघीय शिक्षा ऐनको मस्यौदामा दुई निकायको नाम परिवर्तन गर्ने विषय समावेश भएको थियो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले दुई निकायको नामा परिवर्तन गर्ने विषयमा छलफल भएको जानकारी दिए । सरकारले २०७५ साल साउन १ गतेबाट विभाग र जिल्ला शिक्षा कार्यालयको नाम परिवर्तन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्