लुका फियोरेन्टिनामा अनुबन्धित



लन्डन (एजेन्सी) । 

स्पेनिस ला लिगा क्लब रियल मेड्रिडका सर्वियन फरवार्ड लुका जोभिक इटालियन सिरी ‘ए’ क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन् ।

फियोरेन्टिनाले २४ वर्षीय जोभिकलाई दुई वर्षको लागि सम्झौता गरेका छन् । त्यस्तै, क्लबसँग सम्झौता थपको विकल्प पनि रहेको छ । २०१९ मा जर्मन क्लब आइनट्राख्ट फ्रान्कफर्टमा सनसनीपूर्ण प्रदर्शन गरेपछि रियलले उनलाई ६० मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको थियो । तर, उनले रियलमा आफ्नो प्रभाव जमाउन नसकेपछि सिजनको अन्त्यसँगै क्लब छाड्ने मनसाय बनाएका थिए ।

रियलमा तीन सिजन बिताएर उनी इटाली आएका हुन् । रियलमा उनले साढे दुई वर्षमा ५१ म्याच खेल्दा केवल तीन गोल मात्रै गर्न सफल भए । गत सिजनको विन्टर ट्रान्सफरमा उनी लोनमा पुनः फ्रान्कफर्ट फर्किएका थिए । फ्रान्कफुर्टमा उनले १८ खेलमा चार गोल गरे । रियलबाट उनले दुईपटक स्पेनिस ला लिगा र समान एक पटक च्याम्पियन्स लिग र स्पेनिस सुपर कप जितेका छन् ।

त्यसैगरी, इंग्लिस क्लब टोटेनह्याम हटस्परले क्याटलान क्लब बार्सिलोनाका फ्रान्सेली सेन्टर ब्याक क्लेमेन्ट लेङलेटलाई अनुबन्ध गरेको छ । २७ वर्षीय लेङ्लेट एक सिजनका लागि लोनमा टोटेनह्याममा अनुबन्धित भएका हुन् । लेङ्लेट पछिल्लो समय बार्सिलोनाको पहिलो रोजाइमा पर्न सकेका छैन । उनले गत सिजन बार्सिलोनाका लागि केवल २७ खेलमा मात्रै मौका पाउँदा स्पेनिस ला लिगामा सात खेलमा मात्रै सुरुवाती रोजाइमा अवसर पाएका थिए ।

सन् २०१८ मा अर्काे स्पेनिस क्लब सेभियाबाट बार्सिलोना पुगेका लेङ्लेटले चार सिजनमा १ सय ६० खेलमा सात गोल गरेका छन् । २०१९ देखि फ्रान्सेली टोलीमा रहेका उनले बार्सिलोनाबाट एकपटक ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कोपा जितेका छन् । उनले फ्रान्सबाट १५ क्याप जित्दा एक गोल गरेका छन् । बार्सिलोनाले लेङ्लेटलाई २०१८ मा ३२ मिलियन युरो खर्चेको थियो । सम्झौतामा उनको रिलिज क्लज २ सय ६५ मिलियन युरो राखेको थियो । तर, उनले बार्सिलोनामा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया दिनुहोस्