छात्रा खेलाडीमाथि बलात्कारको प्रयास



हेटौंडा । 

हेटौंडामा भएको विद्यालयस्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा भाग लिन आएकी विकट कैलाश गाउँपालिकाका छात्रामाथि बलात्कार प्रयास भएको छ ।

राष्ट्रपति रनिङशिल्ड खेल्न हेटौंडा आएका १५ वर्षीया ३ किशोरीमाथि हेरविचारका लागि सँगै आएका अभिभावकबाटै बलात्कारको प्रयास भएको खुलेको हो । हेटौंडामा असार १८ र १९ गते भएको जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन कैलाश गाउँपालिका–९, नामटारको कालिका माविबाट प्रतिनिधित्व गरेकी ती किशोरीमाथि वडाध्यक्षले बलात्कार प्रयास गरेको घटना सार्वजनिक भएको हो । पीडितसहित उनका आफन्तले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता गर्ने तयारी गरेका छन् ।

पीडित विद्यार्थी माइती नेपालको शरणमा पुगेका थिए । माइती नेपालमा परामर्शपछि मुद्दा दर्ता गरिने भएको स्थानीय युवा रूपक कालीराजले जानकारी दिए । कैलाश–९ का वडाध्यक्ष भुवन घलानमाथि बालिका बलात्कार प्रयासको आरोप लागेको हो । उनले राति पीडित विद्यार्थी बसेको कोठामा प्रवेश गरेर गोप्य अंगमा हात लैजाने कार्य गरेको बालिकाले माइती नेपालसँग बताएकी छन् । ‘मैले यस्तो नगर्नू भन्दा पनि मेरो गोप्य अंगमा हात लगाउनुभयो,’ पीडित बालिकाले माइती नेपालसँग भनिन् ।

वडाध्यक्ष घलानले आफूले गलत कार्य नगरेको भन्दै फसाउन खोजिएको दाबी गरे । घटना १९ असार रातिको हो । हेटौंडा–१ स्थित ओसिन गेस्टहाउसमा कालिका माविका विद्यार्थी खेलाडीसहित शिक्षक बसेका थिए । होटलको एउटा कोठामा पीडितसहित दुई विद्यार्थी बसेका थिए । पीडित बसेको कोठामा राति करिब साढे ९ बजेतिर वडाध्यक्ष घलान प्रवेश गरेको पीडितले बताएका छन् । तर, वडाध्यक्ष घलानले आफू विद्यार्थीहरूको निगरानीका लागि सक्रिय भइरहेको अवस्थामा राम्रोसँग सुत्न आग्रह गर्न र केही समस्या परे भन्न कोठामा प्रवेश गरेको बताए ।

‘म राति साढे ९ बजेतिर कोठामा पुगेको थिएँ । म एक्लै थिइनँ, शिक्षकहरू पनि थिए । हामी केही समस्या परे भन्नू, नत्र राम्रोसँग सुत्नु भनेर फर्किएका हौं । गलत काम गरिएको छैन,’ उनले भने–शिक्षकहरूले एउटै होटलमा छात्र र छात्रा राखेकाले कुनै अप्रिय घटना नहोस् भनेर निगरानीका लागि तपाईं पनि बस्नुस् भनेको भएर त्यहीं बसेको हुँ। म र अर्का एक शिक्षक एउटा कोठामा सुतेका थियौँ ।

घटना बाहिरिएपछि गाउँमा छलफल गरेर मिलाउन विद्यालय प्रशासन सक्रिय भएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेतीले घटना थाहा पाएपछि पीडितहरूलाई विद्यालयमा बोलाएर सोधपुछ गरेका थिए । सोधपुछपश्चात् विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर छलफल गर्ने उनको तयारी थियो । विद्यालयमा छलफलका लागि बोलाइएको प्रधानाध्यापक कालाखेतीले जानकारी दिए ।
‘मैले व्यवस्थापन समितिका पदाधिकारीलाई जानकारी गराएर छलफलका लागि बोलाएको हुँ । पीडितका अभिभावक काठमाडौं भएकाले उहाँले पनि आफू गाउँमा आएपछि मात्र छलफल हुने मलाई बताउनुभएको थियो,’ उनले भने ।

उजुरी दर्ता गराउन हेटौंडा आएका पीडितले आफूमाथि बलात्कार प्रयास गरिएको बताए । कक्षा–९ मा पढ्ने २ किशोरी र कक्षा–१० मा पढ्ने एक किशोरीमाथि राति बलात्कारको प्रयास भएको पीडितमध्ये एकले बताइन् ।उनले भनिन्–हामी खाना खाएर सुतिसकेका थियौं । सुत्ने कोठामा हामी ३ जना थियौँ । दुई जना साथी निदाइसकेका थिए । मलाई भने घर छाडेपछि राम्रोसँग निद्रा लाग्दैन । सुतिरहेकी थिएँ, निदाएकी थिइनँ । ढोका बन्द थियो । झ्याल खोल्न सर्ने खालको थियो । त्यही झ्यालबाट हाम्रो कोठामा उहाँ छिर्नुभयो । साथीहरू निदाइसकेका थिए । मलाई डर लाग्यो । पहिला त को हो भन्ने चिनिनँ । तर, पछि वडाअध्यक्ष रहेछन् भन्ने चिनेँ ।

त्यो सबै कुरा आँखाले देख्दा डरले कराउन नसकेको बताउँदै उनले भनिन्–कोठा अँध्यारो थियो । पहिला मस“गै सुतेकी साथीको शरीरमा टच गर्न थाल्यो । सबैतिर टच गर्दा पनि उनी बिउँझिइनन् । अनि अर्को साथीको बेडमा पुगेर उसलाई पनि त्यस्तै गर्न थाल्यो । त्यसपछि मेरो बेडमा आएर खुट्टातिर सुम्सुम्यायो । मैले भाग्न खोजेपछि त्यो मान्छे भाग्यो । गञ्जी र कट्टु मात्र लगाएर अध्यक्ष आउनुभएको थाहा भयो । मैले देखेकी थिएँ ।
सँगै आएकी अर्की पीडित आफू निद्रामा रहेका कारण थाहा नपाएको बताइन् ।

‘भोलिपल्ट हामीले सरहरूलाई भन्यौँ । उहाँहरूले विद्यालय फर्केपछि कुरा गरौंला भन्नुभयो । तर, गाउँ फर्केपछि त्यसबारे कुरा भएन । उल्टै हाम्रा आमाबुबालाई तपाइकी छोरी यस्ती-उस्ती भनेर कुरा लगाइदिएछन् । धम्की पनि दिएका छन्,’ पीडितले भने । घटना घटेको झन्डै एक साता हुन लाग्दा पनि विद्यालयका शिक्षकबाट कुरा नआएपछि दाइहरूको साथमा जिल्ला प्रहरी कार्यालय मकवानपुर आएका पीडितले हाल यत्तिकै छाडेपछि बलात्कार गर्न सक्छन् भन्दै न्याय माग्न आएको बताए ।

छात्राको सुरक्षाका लागि सँगै हेटौंडा आएकी महिला शिक्षकालाई अन्यत्र बस्ने व्यवस्था मिलाइएको पीडितले बताएका छन् ।यौनजन्य हिंसाजस्तो संवेदनशील घटनामा विद्यालय घटना मिलाउने प्रयासमा लागेको देखिएको छ । जिल्ला प्रहरी कार्यालयलाई यसबारे जानकारी दिइएको थिएन । मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बलात्कार प्रयासको घटनाबारे जानकारी नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्