वर्षासँगै आएको हावाहुरीले चार करोडको मकैबाली क्षति

फौजी किराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसानहरु चिन्तित



खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङमा करिब चार करोड रुपियाँ बराबरको मकैबाली क्षति भएको छ । कृषि ज्ञान केन्द्र खोटाङले दिएको तथ्याङ्क अनुसार ३ सय ३० दशमलव शुन्य पाँच हेक्टर जमिनमा लगाइएको मकैबाली हावाहुरीले नष्ट गर्दा ३ करोड ८६ लाख ६८ बराबरको क्षति भएको हो ।

लेकाली भेगमा भर्खर घोगा लाग्न थालेको मकैको बोट हावाहुरीले नष्ट गर्दा करिब ३ सय ३६ दशमलव २५ मेट्रिकटन मकैको दाना क्षति भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राईले जानकारी दिए ।

रातको समयमा चलेको हावाहुरीले जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी दिप्ु्रङ चुइचुम्मा गाउँपालिकाका किसानले लगाएका मकैबालीमा क्षति गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सात वडा रहेको उक्त गाउँपालिकामा ३ हजार ५ सय रोपनी क्षेत्रफल जमिनमा लगाइएको मकैबाली क्षति भएको हो ।

यस्तै, दोस्रो ठूलो क्षति केपिलासगढी गाउँपालिकामा २ हजार ५ सय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ सय, हलेसी तुवाचुङ नगरपालिकामा २ सय ५० र खोटेहाङ गाउँपालिकामा ६० रोपनी जमिनलाई लगाइएको मकैबालीमा क्षति भएको जनाइएको छ । जिल्लाका अन्य पाँच स्थानीय तहमा हावाहुरीको असर सामान्यमात्र रहेको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख राईको भनाइ छ ।

जिल्लाको प्रमुख बाली मकैमा हावाहुरीले ठूलो क्षति गरेपछि भोकमरी हुनेमा किसानहरु चिन्तित भएका छन् । मकैबालीमा शुरुको चरणमा फौजी किराको प्रकोप देखिएको र फल्ने बेलामा हावाहुरीले क्षति गरेपछि किसानहरु चिन्तित बनेका हुन् । हावाहुरीले जिल्लामा मकैबालीसँगै विभिन्न प्रजातिका फलफूलमा समेत ठूलो क्षति गरेको किसानहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्