डायमनशमशेर सत्ताद्वारा पीडित : उप्रेती

0
Shares

काठमाडौं ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले डायमन शमशेरलाई ऐतिहासिक विषयवस्तु र पात्रहरू बोकेर सटिक विचार प्रस्तुत गर्न सफल उपन्यासकारका रूपमा व्याख्या गर्नुभएको छ ।

आख्यानकार डायमनशमशेर राणाको १०५औं जन्मजयन्तीका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘आख्यानकार डायमनशमशेर र उनका ऐतिहासिक उपन्यास’ विषयक विचार–गोष्ठीमा बोल्ने क्रममा उहाँले शमशेरलाई यसरी चित्रण गर्नुभएको हो । उप्रेतीले राणाशासनको विरोध गरेका कारण डायमनशमशेर सत्ताद्वारा पीडित र अपहेलित बन्नुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘डायमनशमशेरको जीवनको उत्तराद्र्ध निकै दुःखपूर्ण भएको थियो । राणा परिवारको मान्छे भएर पनि समाज प्रजातान्त्रिक हुनुपर्छ भन्ने मान्यता राखेकाले नै उहाँले दुःख भोग्नुभयो । उहाँ जेल पनि जानुभयो तर नेपाली ऐतिहासिक उपन्यासमा देश र विदेशमा मान्यता प्राप्त गर्ने उहाँ नै हुनुहुन्थ्यो ।’प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले नेपाली ऐतिहासिक उपन्यास विधामा डायमनशमशेर राणाको विशिष्ट योगदान रहेको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– ‘किताबको रोयल्टीबापत प्राप्त भएको रकमले जीवनयापन गर्ने लेखक राणा नै हुनुहुन्थ्यो ।

उहाँका कृतिहरू थुप्रै विदेशी भाषामासमेत अनुदित भई प्रकाशित भएका छन् ।’ प्रा. उपाध्यायले आख्यानकार राणा राणा परिवारकै सदस्य भएर पनि राणाशासन विरोधी अभियानमा लाग्ने व्यक्तिमध्येका एक भएको बताउनुभयो ।प्राज्ञ माया ठकुरीले डायमनशमशेर राणा नेपाली साहित्यलाई विश्व बजारमा परिचित गराउने साहित्यकार भएको बताउनुभयो । ‘राणाको सेतो बाघ उपन्यास विश्वकै सर्वाधिक महत्वपूर्ण, प्रतिष्ठित र सबैभन्दा ठूलो राशिको नोबेल पुरस्कारका लागि पेन नेपालबाट सिफारिस भई गएको थियो । डायमनशमशेरले भावी पुस्तालाई ठुलो गुण लगाएर जानुभएको छ’ –उहाँले भन्नुभयो ।

डा. तुलसी भट्टराईले उपन्यासकार राणा नेपाली उपन्यास साहित्यका विशिष्ट लेखक भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उहाँका उपन्यासहरू आज पनि उत्तिकै महत्वका छन् । राणा साहित्य लेखनका साथै प्रजातन्त्रका हिमायती हुनुहुन्थ्यो । उहाँ आफ्ना लागि नभएर सधैँ देश र जनताका लागि चिन्तित हुनुहुन्थ्यो ।’कार्यक्रममा डायमनशमशेरका छोरा रघुशमशेरले बुबाका कृतिहरूका बारेमा लेखेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘बुबाले लेख्नुभएका कृतिका बारेमा यति धेरै कार्यक्रम हुन्छन् भन्ने कल्पनासमेत गरेका थिएनौं । बुबाको योगदानको कदर गरेर एकपछि अर्काे सहरमा कार्यक्रम गर्दै आएकोमा खुसी छु ।’

कार्यक्रममा डा. विष्णु न्यौपानेले ‘नेपाली ऐतिहासिक उपन्यास परम्परामा डायमनशमशेर राणाको योगदान’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै डायमनशमशेर राणा नेपालमा राष्ट्रप्रमुखका रूपमा राजा हुने वा प्रधानमन्त्री वंश विशेषका उत्तराधिकारी हुने कुलीन परम्पराको अन्त्य गरी जनताको छोरो शासक बन्न सक्ने शासन व्यवस्थाको स्थापनामा लागेका व्यक्ति भएको, प्रजातान्त्रिक समाजवादी चिन्तनलाई जीवनपर्यन्त आत्मसात् गरेको र प्रजातन्त्रको स्थापना र लेखकीय स्वतन्त्रता चाहेको बताउनुभयो ।

कार्यक्रममा डायमनशमशेर राणा साहित्यिक प्रतिष्ठानका अध्यक्ष ऋषिराम पाण्डेले संस्थाले स्थापनाकालेदखि नै विशिष्ट आख्यानकार डायमनशमशेर राणाको योगदानको कदर गर्दै उहाँको व्यक्तित्व तथा कृतित्वका बारेमा प्रकाश पार्दै कार्यक्रम आयोजना गर्ने गरिएको बताउनुभयो ।